शनिबार, जेष्ठ १७ २०८२
कुवेतमा मात्रै ६० हजार भन्दा बढी हाउसमेड,नेपाली ब्याबसायी,अध्यागमन र दूतावासको सहकार्यमा खुलेआम धन्धा, प्रती ब्यक्ती सेटिङ्ग शुल्क २ लाख रहेको हाउसमेड ब्याबसायीको दावी
कुवेत । नेपालबाट घरेलु कामदार (हाउसमेड) को रुपमा कुवेत लगायत देशहरुमा ल्याउने र सप्लाई गर्ने कार्यमा एक दर्जन नेपालका मेनपावर ब्याबसायी सहित एक सयजना भन्दा बढी नेपाली व्यवसायी सङ्गै नेपाली दूतावास कुवेतको संलग्नता रहेको पाइएको छ ।
हाउसमेडमा सबैभन्दा बढी कुवेतमा नेपाली महिलाहरु सप्लाई हुने गरेको अवस्था छ । सम्बन्धित देशमा महिला सप्लाई गर्न वैधानिकता भएपनि नेपालले हाउसमेड पठाउन बन्देज लगाएको अवस्थामा सम्बन्धित गिरोहले नेपालको कानुनको ठाडो बर्खिलाप गरेको पाइएको छ । यसरी कानुन मिचेर काम गर्नेहरुमा अधिकांश नेपाली हरुनै रहेका छन् । नेपालीसङ्गै केही भारतीय,बङ्गाली,अफ्रिकन नागरिकले पनि कुवेतमा हाउसमेड ब्याबसाय संचालन गरि नेपालका दुरदराजका गाउ गाउमा आफ्नो संजाल बिस्तार गरि एजेन्ट खटाएर ग्रामीण भेगका सोझा सिधा महिलाहरुलाई फकाएर एयरपोर्ट सेटिङ्ग गरि कुवेत ल्याउने गरेका छन ।
कुवेतमा यसरी काम गर्ने नेपालीहरुको संख्या एक सयभन्दा बढी रहेको र उनिहरुलाई नेपाली दूतावास कुवेतले साथ दिएको पाइएको छ ।
नेपाली दूतावास कुवेतको राजदूतदेखि लेवर एटेची,पिआरओसम्मलाई प्रभावमा पारेर खुलेआम हाउसमेड कुवेत सप्लाई गरिने गरेको छ ।
तेति मात्रै होईन कुवेतमा रहेका हाउसमेड ब्याबसायीले कुवेतमा आउने राजनितिक दलका नेताहरु र पाहुनाहरुको होटल,टिकेटसमेत समेत गर्ने गरेका छन । कुवेतमा रहेका हाउसमेड ब्याबसायीहरुको कुवेतमा रहेको सामाजिक संघ संस्थाहरुमा पनि दबदबा रहेको छ । उनिहरुको पकडमा कुवेतमा रहेका धेरै संघ संस्थाहरु रहेका छन । अन्य संस्थाहरुजस्तै एनआरएनए कुवेतमा पनि उनिहरुको राम्रो प्रतिनिधित्व रहेको छ । यस्कै आडमा उनिहरुले खुलेआम आफ्नो धन्धा चलाउन सफल भएका छन ।
कुवेतमा बसेर नेपालीलेनै नेपालको नीति बिपरित कुवेतमा प्रत्यक्ष हाउसमेड व्यवस्थापनको काम गर्दै गरेको विषयमा कुवेतस्थित नेपाली दुतावास समेत पुर्ण जानकार छ । तर दुतावास तिनै व्यवसायीको प्रभावमा रहेको प्रत्यक्ष हामीले स्थलगत भर्मणमा पनि देखियो ।
हामी नेपालबाट आएका पत्रकारहरु लेबर एटेची गिरि प्रसाद आचार्यको कार्यकक्षमा रहेकै समयमा हाउसमेड ब्याबसायी शिव श्रेष्ठको बाट भागेर ज्यान बचाउन केही नेपाली महिलाहरु रुदै आईपुगे । तर दूतावासले शिव श्रेष्ठलाई एकपटक फोनसम्म गरेर महिलाहरुको समस्याको विषयमा जानकारी गराउनसमेत सकेन । पिडक शिव श्रेष्ठलाई फोन गरेर बोलाईदिन हाम्रो र पीडित महिलाहरूको पटकपटकको अनुरोधलाई समेत दूतावासले अस्विकार गर्यो । यसैबाट प्रमाणित हुन्छकि दूतावासको हाउसमेड ब्याबसायी सङ्गको मिलेमतो ।
कुवेत लगाएत खाडी मुलुकमा नेपाली हाउसमेडको माग उच्च रहेको छ । त्यसैलाई आफ्नो व्यवसाय बनाएर बर्षौंदेखि कुवेतमा नेपाली हाउसमेड व्यावस्थापन गर्ने व्यवसायीले छुट्टै समूह बनाएर सक्रिय राजनीति समेत गर्दै आएको पाइएको छ । स्रोतका अनुसार उनीहरुको विरुद्ध जाने केहि नेपालीहरुले कुवेतबाटै डिपोर्टसम्मको सजाय भोगेको गुनाशो छ । स्रोत भन्छ ‘हामीले कुवेतमा बसेर उनीहरु बिरुद्ध बोल्न-लेख्न सक्दैनौं । नेपाली दुतावास समेत उनीहरूबाट प्रभावित रहेको छ ।’
कुवेतमा हाउसमेडको माग भएसंगै आवश्यक डिमाण्ड पूर्ति गर्न तिनै सक्रिय व्यवसायीले नेपालमा छुट्टै संजाल फैलाएका छन् । नेपालमा रहेको गिरोहले कम पढेका, आर्थिक रूपमा कमजोर, एकल महिला, हिंसामा परेका, वा सहयोग खोज्दै भौतारिएकाहरूलाई लक्ष्य बनाउँछन । नेपालीहरुकै सक्रियतामा केही मेनपावर ब्याबसायीको साथमा हाउसमेड भर्ति गर्नेदेखि नेपालमा आवस्थक एअरपोर्ट सेटिङसम्मको र्याकेट बर्षौंदेखि सक्रिय अवस्थामा रहेको पाइएको छ । उनीहरूलाई नेपालमा दलालले ‘घरेलु सहयोगी’, सजिलो काम हुन्छ भन्दै झुटा सूचना दिइन्छ, पासपोर्ट बनाइन्छ, इमिग्रेशनमा सेटिङ मिलाइन्छ, र ‘भिजिट’ वा अन्य बहानामा कुवेतसम्म पुर्याइन्छ । उनीहरू कुवेत पुगेपछि मात्रै थाहा पाउँछन्, आफ्नो भूमिका ‘हाउसमेड’ हो – जहाँ कामको अवधि, सुरक्षाको ग्यारेन्टी र सम्मान – सबैको मूल्य त्यही ‘लाइनअप’ मा निर्धारण हुन्छ । कुवेत पुगेपछि धेरै महिलाहरुले आफुहरु बेचिएको भन्ने जानकारी पाउँछन् । उनिहरुलाई ७५० देखि १५०० केडि सम्ममा खरिद गरिने गरेको हामीसङ्ग सम्पर्कमा आएका १०० भन्दा बढी नेपाली महिलाहरुले बताए ।
कुवेत लगायत मध्यपुर्वका देशहरुमा हाउसमेड सप्लाई गर्न नेपालले बैधानिक अनुमति दिएको छैन । २०७३ सालदेखि नै सरकारले हाउसमेड पठाउन प्रतिबन्ध लगाएको छ तर धेरै एजेन्टहरुले यसैलाई सेटिङ्ग्का भरमा आफ्नो कमाई धन्दा बनाईरहेका छन् । उनीहरुको योजना अनुसार इमिग्रेशन सेटिङ बर्षौंदेखि चल्दै आएको छ । स्रोतका अनुसार यो गिरोहले हाउसमेडमा महिला लगेबापत बार्षिक अर्बौं अवैध आर्थिक फाइदा उठाएको छ, जसमा कुवेतमा हाउसमेड भित्र्याउने मेनपावर कम्पनी, नेपालका दलालहरु, केही सरकारी कर्मचारी र सम्बन्धित देशका एजेन्टहरु समेत संलग्न छन ।
कुवेतका रोजगारदाताले एक जना हाउसमेडको लागि कम्तिमा ७५० देखि १५०० केडी सम्म कमिसन तिर्छन् । यहि रकमले यो धन्दा लामो समयदेखि गज्जबले चलिरहेको छ । हाउसमेड माग गरेको रोजगारदाताले दिएको कमिसन रकम मध्य आधाभन्दा बढी रकम सेटिङकै लागि छुट्याइन्छ । नेपाल एअरपोर्टका कर्मचारीसँग कुरा मिलाउने गिरोहले प्रति सेटिङ ६०० केडीको हाराहारीमा रेट लिने गरेको छ । त्यसरी सेटिङ गराएपछि बाँकी रकम एजेन्टहरुले फाइदा लिन्छन् । स्रोतका अनुसार सेटिङ गरि कुवेत पुर्याईएका नेपाली हाउसमेडहरु शुरुमा नेपालीलेनै संचालन गरेका कम्पनीमा पुग्छन् ।
कुवेतमा पुगेपछि नेपाली हाउसमेड महिलाहरू प्रत्यक्ष मालिकसम्म तुरुन्तै पुग्दैनन् । कतिपय नेपालीले नै संचालन गरेका कम्पनीहरूले उनीहरूलाई “लाइनमा” राख्छन् – जहाँ रोजगारदाता आइपुग्छन्, महिला हेर्छन्, छनोट गर्छन । स्रोत भन्छ, “महिला हेरेर उनीहरूको मुल्य अर्थात तलब तोकिन्छ।” यो अवस्था स्पष्ट रूपमा महिलामाथिको वस्तुकरण र गरिमामाथिको अपमान हो, जुन अन्तर्राष्ट्रिय मानव अधिकार सम्झौताहरू, खासगरी CEDAW (महिलाविरुद्ध सबै प्रकारका विभेदको अन्त्य सम्बन्धी महासन्धि)को खुला उल्लंघन मानिन्छ ।
नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार, घरेलु कामदार (हाउसमेड)को रूपमा नेपाली महिलाहरूलाई कुवेत, साउदी,ओमानजस्ता देशहरूमा पठाउन पूर्णतः प्रतिबन्ध लगाइएको छ । वैदेशिक रोजगार विभागले घरायसी श्रमलाई उच्च जोखिमयुक्त रोजगारीको रूपमा वर्गीकरण गर्दै २०७४ सालदेखि नै स्पष्ट नीति लागू गरेको हो । तर, यथार्थमा यी नीतिहरू माफिया, दलाल, सेटिङ एजेन्ट र केही भ्रष्ट सरकारी कर्मचारीहरूद्वारा खुलेआम मिचिएको छ । नीतिको नाममा गरिने औपचारिकता र सुरक्षा चेतावनीहरू अभ्यासमा मात्र औपचारिकता बन्न पुगेका छन् । संस्थागत रुपमा श्रम-स्वीकृति लिएर जानेहरुले समेत सेटिङमा अभिमुखिकरण तालिमनै नलिई सेटिङ गराउने प्रचलन रहेको अवस्थामा सेटिङ गरि जाने महिलाहरुले त झन कुनै अभिमुखीकरण पाउने कुरै भएन । सरकारी संयन्त्रले समेत यस्ता गतिबिधि रोक्न प्रयाप्त सूचना तथा जानकारी दिदैंनन् । वैदेशिक रोजगार बोर्डबाट यस्तै सचेतनाको लागि छुट्याईएका बजेटहरु समेत बर्षेनी फ्रिज हुन्छन् ।
अझ गम्भीर कुरा त यो हो कि कुवेतस्थित नेपाली दूतावास यी सबै कार्यहरूको जानकारीमा रहे पनि मौन छ । स्रोतहरूका अनुसार, त्यही गिरोहले राजनीतिक पहुँच प्रयोग गरी दूतावाससम्म प्रभाव विस्तार गरिसकेको छ । जसले गर्दा दूतावास मौन सहमति सहित अप्रत्यक्ष रूपमा यस्ता अवैध कार्यको संरक्षण गर्दै आएको देखिन्छ । कुवेतमा घरेलु कामदार व्यवस्थापन गर्ने कम्पनी वैधानिक रहेको भन्दै दुतावासले आलटालको जवाफ दिने गरेको छ तर तिनैको कारण नेपालको नीति ठाडै मिचिएको विषयलाई दुतावासले अनदेखा गरिरहेको छ । दुतावासमा आउने अधिकांश समस्या घरेलु कामदारको समस्यामै जोडिएका छन् । समस्या लिएर आउनेहरुले दुतावासलाई दैनिक पीडकहरुको जानकारी, आफूलाई अवैध ल्याउनेहरुको जानकारी दुतावासलाई रिपोर्ट गराईरहेका हुन्छन् तर दुतावासले यस सम्बन्धमा कुनै एक्सन लिएको पाइएको छैन । त्यसो त यस्ता व्यवसायीले बोलाएको कार्यक्रममा दुतावासकै उपस्थिति रहने, समर्थन गर्ने जस्ता गतिबिधि लामो समयदेखि चल्दै आएका छन् । कुवेतको गैरआवासिय नेपालीको समितिमा समेत उनीहरुको निरन्तर उपस्थिति रहेको पाइएको छ ।
वैदेशिक रोजगारीलाई कमाइको माध्यम बनाउनेहरू बिभिन्न देशमा बसेर नेपालको नीतिलाई ठाडै कुल्चिएर, महिलाको शरीर र श्रमको सौदाबाजी गर्दैछन् । यो गलत धन्दा मात्र होइन, मानव अधिकारविरुद्ध हो । नेपाल सरकारले यस्ता गिरोहमाथि कडा अनुसन्धान, निगरानी र कारवाही थाल्नुपर्ने तर त्यसो नभईरहेको गुनाशो बढिरहेको छ । जिम्मेवारी लिएका दूतावास, श्रम मन्त्रालय समेतलाई यस सम्बन्धमा चासो र चिन्ता छैन ।
नेपालका एजेण्टहरुबाट त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल,भारतका विभिन्न विमानस्थल,मलेसियाको विमानस्थल,सिङ्गापुरको बिमानस्थल,थाईल्याण्डको बिमानस्थल,युएईको विमानस्थल प्रयोग गरेर कुवेत पुगेका महिलाहरुलाई तेहा रहेका हाउसमेड ब्याबसायीले रिसिभ गरि स्थानीयहरुकोमा पठाउने गर्दछन । यश कार्यमा नेपाली दुतावास कुवेतले यि ब्याबसायीलाई साथ दिने गर्दछन । यसबापत दूतावासका सबै निकायलाई आफुहरुले खुशी पार्ने गरेको हाउसमेड ब्याबसायीहरुले हामीसङ्ग खुल्ला रुपमै भने । उनिहरुले दूतावास नै आफुहरुको ईशारामा चल्ने गरेको दावी समेत गर्न भ्याए । तर यश बिषयमा नेपाली राजदुत घनश्याम लम्सालसङ्ग प्रश्न राख्दा हाउसमेड ब्याबसायी कुवेतको कानुन अनुसार चलेकाले आफौहरुले बाध्य भएर सहकार्य गर्नुपरेको दावी गरे । हुनत धेरै सरकारी निकायमा आफ्नो दबदबा राखेका हाउसमेड ब्याबसायी हरुले दूतावासलाई प्रभावमा पार्नु साधारण कुरा नै हो । हाल कुवेतमा मात्रै ६० हजार भन्दा बढी हाउसमेड रहेको र यिनै हाउसमेडका कारण दूतावास मा सधै समस्या उत्पन्न हिने गरेको छ ।
दूतावासमा पिडित हाउसमेडहरुलाई राख्ने आवास गृहको अवस्था पनि नाजुक रहेको छ ।
हाउसमेड ब्याबसायी संघ अर्थात मेनपावर ब्याबसायी संघको अध्यक्ष रवि गुरुङको नेतृत्वमा रहेको छ । गुरुङलेमात्रै अहिलेसम्म करिव १० हजार मान्छे कुवेत पुर्याएको हाम्रो भेटमा बताए । यसैगरि अर्का हाउसमेड ब्याबसायी शिव श्रेष्ठले पनि १० हजार हाउसमेड कुवेत पठाईसकेका छन । उनीहरुको नेपाली दूतावासमा दबदबा नै रहेको छ ।


जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij