काठमाडौंं, १६ जेठ । यतिबेला विश्वको सर्वोच्च शिखर सगरमाथा अरोहणको सिजन जारी छ । सगरमाथा आरोहण गर्न पहिलाको जस्तो कठिन छैन । त्यहाँ डोरी टाँगेर आरोहणलाई सहज बनाइएको छ । सगरमाथा अरोहीले आजकल आधार शिविरबाट इन्टरनेट पनि प्रयोग गर्ने गरेका छन् । त्यतिमात्र होइन, आरोहीले सगरमाथाको चुचुरोबाट सामाजिक सञ्जालमा ‘लाइभ’ पनि गर्न थालेका छन् । उनीहरुले ‘अवैध’ रुपमा इन्टरनेट प्रयोग गरिरहेको बताइन्छ ।
पर्वतारोहण सम्बन्धी संस्था सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमाली क्षेत्रहरूमा व्यापक रूपमा ‘स्टारलिङ्क’ को इन्टरनेट प्रयोग हुँदै आएको बताउँछन्।
स्टारलिङ्क अर्बपति अमेरिकी व्यापारी इलोन मस्कको कम्पनी स्पेसएक्सको स्याटलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक हो। भुटान र बाङ्ग्लादेशमा सेवा सुरु गरिसकेको उक्त कम्पनी नेपाल आउन इच्छुक देखिए पनि कानुनी अड्चनका कारण भित्रन नसकेको विवरणहरू आउने गरेका छन्।
‘तर हिमाली क्षेत्रमा स्टारलिङ्कको सेवा प्रयोग हुन थालेको धेरै भइसक्यो। आरोहीहरूले शिखरबाटै ‘लाइभ’ गर्न थालेको देख्नुभएकै होला,’ शेर्पा भन्छन्, ‘अवैध भए पनि हिमाली क्षेत्रमा यसको प्रयोग नौलो होइन।’
शेर्पाले खल्तीमै अट्ने किसिमका हुने भएकाले विदेशी आरोहीहरूले उतैबाट स्टारलिङ्कका राउटर बोकेर आउने गरेको बताए।
सगरमाथाको आधार शिविरसम्म ‘एभरेस्ट लिङ्क’ जस्ता नेपाली प्रदायकहरूको सेवा उपलब्ध छ। नेपाली प्रदायकका सेवाहरू विदेशीका निम्ति ५० जीबीको तीन सयदेखि पाँच सय डलर र नेपालीका निम्ति १० हजार रुपैयाँ पर्छ। उपल्ला शिविरहरूमा भने स्याटलाइट इन्टरनेटको विकल्प हुँदैन। तुलनात्मक रूपमा ती सेवाहरू महँगा छन्।
सगरमाथाको आधार शिविरसम्म ‘एभरेस्ट लिङ्क’ जस्ता नेपाली प्रदायकहरूको सेवा उपलब्ध छ। नेपाली प्रदायकका सेवाहरू विदेशीका निम्ति ५० जीबीको तीन सयदेखि पाँच सय डलर र नेपालीका निम्ति १० हजार रुपैयाँ पर्छ। उपल्ला शिविरहरूमा भने स्याटलाइट इन्टरनेटको विकल्प हुँदैन। तुलनात्मक रूपमा ती सेवाहरू महँगा छन्।
‘पचास जीबीको पच्चीस हजार परे पनि इन्टरनेटको पहुँचमा हुनु आरोहीका निम्ति सुरक्षित हुन्छ। हराइयो वा दुर्घटनामा परियो भने सम्पर्क गर्न सजिलो हुन्छ। पर्वतारोहण कम्पनीहरूले कसरी इन्टरनेटको व्यवस्था गर्छन् भन्नेसँग खासै चासो हुँदैन,’ नाम खुलाउन नचाहने एक सगरमाथा आरोहीले भने।
उनका अनुसार स्याटलाइट इन्टरनेटका राउटरहरू साना हुने मात्र नभई तिनको गति पनि छरितो हुन्छ। उक्त सेवा लिन भिन्दै उपकरण आवश्यक पर्दैन र सामान्य फोनमा पनि चल्छ।
‘एभरेस्ट लिङ्क’ का प्रमुख कार्यकारी छिरिङ ग्याल्जेन शेर्पा अधिकांश ठूला विदेशी पर्वतारोहण कम्पनीहरूले ‘स्टारलिङ्क’ को सेवा लिई आरोहीहरूलाई उपलब्ध गराउने गरेको बताउँछन्।
‘रोकेर रोक्न सकिने स्थिति नै छैन। म त उक्त सेवा अलि दिनमा घर घरमै प्रयोग हुने देख्छु। नियामकहरूले कसरी हुन्छ आफ्नो दायरामा ल्याउनुपर्छ।’
उनका अनुसार सगरमाथा क्षेत्रमा मात्र नभई आमादब्लमसहितका हिमालमा पनि आरोहीहरूले ‘अनधिकृत’ इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन्। बीबीसीबाट