२३ वर्षअघि आजकै दिन (२०५९ साल जेठ १३) कवि, जनपत्रकार, साहित्यकार एवं एक निष्ठावान व्यक्ति कृष्ण सेन ‘इच्छुक’ को निर्ममतापूर्वक हत्या भएको थियो । इच्छुकको जस्तै सबैले त्याग गर्न सके समाज रुपान्तरणमा समय नलाग्ने उनको स्मृति दिवसका अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा पूर्वमाओवादी धारका नेताले बताउँदै आएका छन् । कृष्णसेनले जहिल्यै त्यागको प्रतीकको भूमिका निर्वाह गरे । व्यक्तिगत लाभ, पद, प्रतिष्ठा, सेवा–सुविधामा उनको ध्यान कहिल्यै थिएन । सबै कुरा अरुलाई दिनुपर्छ, मलाई त छँदै छ नि भन्ने उनको स्वभाव थियो । उनको स्मृति दिवस मनाइरहँदा यो गुण सबै नेता र कार्यकर्ताले सिक्न र व्यवहारमा लागु गर्न आवश्यक छ ।
अहिलेको लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाभित्र थुप्रै खोट छन्, जसले गर्दा क्रान्तिकारी ढङ्गले समाज रुपान्तरण नभई दिग्भ्रम र विचलनतिर समाज गइरहेको छ । यो क्रम अझ बढ्दो छ । समाज दिग्भ्रम र विचलनतिर गइरहेको आजको परिस्थितिमा त्याग र साधनाको संस्कृति अपनाए मात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुनेछ !
प्युठान जिल्लाको सराङकोटबाट इच्छुकको परिवार अर्घाखाँचीको जलुके गाविस ७, सातमारामा बसाइँ सरेको थियो । उनका बुबा भारतीय सेनामा जागिरे थिए । भारतमै २०१३ कात्तिक २ गते पिता यामबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट इच्छुकको जन्म भयो । ६ वर्षसम्मको उनको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको पाइन्छ ।
स्वयम् जाग्दै र दुनियाँ जगाउँदै हिँडेका सशक्त प्रगतिवादी कवि, जनपक्षीय पत्रकार तथा निष्ठावान राजनीतिककर्मी सेन तीसको दशकदेखि साम्यवादी विचार तथा दर्शनबाट प्रभावित थिए । माओवादी सशस्त्र विद्रोहका बेला तत्कालीन नेकपा (माओवादी) को मुखपत्र जनादेशका सम्पादक रहेका इच्छुक बहुप्रतिभाशाली थिए । दुःखी–गरिब जनताको पक्षमा कलम चलाउने जनकवि, लेखक, युद्धमोर्चाका पत्रकार, जनयुद्धका योद्धा, राजनीतिक विचारक तथा सशक्त मानव अधिकारवादी उनका परिचय हुन् ।
इच्छुकले कक्षा १ देखि ८ सम्म दाङ जिल्लाको देउखुरीमा रहेको श्री आदर्श माविमा पढे । त्यसपछि दाङकै लालमटियास्थित सरस्वती हाइस्कुलबाट २०३२ सालमा एसएलसी उत्तीर्ण गरे । पढ्ने चाहना हुँदाहुँदै गरिबीका कारण उनी एसएलसीपछि कोइलाबासमा रहेको साल्ट ट्रेडिङको कार्यालयमा काम गरे । काम गर्दागर्दै भारतबाट प्राइभेट परीक्षा दिएर आईए उत्तीर्ण गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट बीएड गरी एमएमा भर्ना भएका थिए । तर जनताको पक्षमा सक्रिय भएर आन्दोलनमा लाग्दा उनले एमए पूरा गर्न सकेनन् । कृष्ण सेनको विवाह २०४८ सालमा तक्मा केसीसँग भयो र उनीहरुका एक छोरी (समीक्षा) छिन् ।
स्कुल पढ्दादेखि नै इच्छुकलाई जनताको पक्षमा गरिने राजनीतिक विचारधाराले प्रभावित पारेको थियो । २०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका सेनले २०३७ सालदेखि दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । २०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति’ भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका उनले दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रमणी आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा ‘शोकाञ्जली’ काव्य लेखे, जो २०४८ सालमा प्रकाशित भएको थियो । यो उनको पहिलो कृति थियो ।
जेल जीवनका क्रममा लेखिएका सुविख्यात पत्रकार इच्छुकका रचना इतिहासको यो घडीमा, बन्दी र चन्द्रागिरी, शोकाञ्जली लगायत झन्डै आधा दर्जन कृति प्रख्यात छन् । २०३६ सालको विद्यार्थी आन्दोलनमा कृष्ण सेनलाई निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको प्रशासनले गिरफ्तार गर्यो । जेलको कालकोठरीबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसमा भर्ना भए । क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा सक्रिय सेन २०३९ सालमा पुनः पक्राउ परे । त्यस बेलाको पञ्चायती निरङ्कुश शासकले उनलाई लगातार साढे पाँच वर्ष जेलमा थुन्यो । उनी २०४४ सालमा मात्र जेलबाट छुटे ।
०४५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक, २०४६ सालमा कम्युनिस्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय ब्युरोको सेक्रेटरी हुँदै उनी संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य भए । उनी अखिल नेपाल जनसांस्कृतिक संघको अध्यक्ष, प्रगतिशील लेखक संघको केन्द्रीय पार्षद, पत्रकार महासंघ पार्षद, दक्षिण एसियाली पत्रकार संघको सदस्य र जनअधिकार सरोकार अभियानका सदस्य समेत भए ।
स्वयम् जाग्दै र दुनियाँ जगाउँदै हिँडेका सशक्त प्रगतिवादी कवि, जनपक्षीय पत्रकार तथा निष्ठावान राजनीतिककर्मी सेन तीसको दशकदेखि साम्यवादी विचार तथा दर्शनबाट प्रभावित थिए । माओवादी सशस्त्र विद्रोहका बेला तत्कालीन नेकपा (माओवादी) को मुखपत्र जनादेशका सम्पादक रहेका इच्छुक बहुप्रतिभाशाली थिए । दुःखी–गरिब जनताको पक्षमा कलम चलाउने जनकवि, लेखक, युद्धमोर्चाका पत्रकार, जनयुद्धका योद्धा, राजनीतिक विचारक तथा सशक्त मानव अधिकारवादी उनका परिचय हुन् ।
जनताका पक्षमा लड्ने मुक्तियोद्धालाई निरंकुश शाही शासनले देखिसहेन । परिणामस्वरुप पटक–पटक गरी दश वर्षसम्म उनलाई जेलमा यातनापूर्वक थुनियो । अन्त्यमा २०५९ जेठ ६ गतेका दिन उनलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लबको हिरासतमा राखिएको थियो, त्यहीँ अमानवीय ढङ्गले यातना दिएर २०५९ जेठ १३ गते हत्या गरियो ।
विद्यार्थी आन्दोलन हुँदै कम्युनिस्ट पार्टीको सदस्यका रुपमा कम्युनिस्ट आन्दोलनमा क्रियाशील इच्छुकले आफ्नो वैयक्तिक आनन्दलाई कहिल्यै प्राथमिकतामा राखेनन् । उनको सोच्ने तरिकै भिन्नै थियो । धन कमाउने र सुखसित बाँच्ने कुरा उनको मनमा चढ्दै चढेन । चढ्यो त केवल जनमुक्तिको कुरा, जनआन्दोलनलाई नयाँ उचाइमा उठाउने कुरा, शोषण र भ्रष्टाचारमा आधारित राज्य व्यवस्थालाई फालेर न्यायिक र सदाचारी राज्यव्यवस्था स्थापना गर्ने कुरा ।
तत्कालीन एकीकृत नेकपा (माओवादीले) सेनकै नाममा २०६० असोज ११ गतेदेखि कृष्णसेन अनलाइन सञ्चालन गरेको थियो, २०६४ सालदेखि जनदिशा दैनिक पुनः प्रकाशन र जनादेश साप्ताहिक पुनः सञ्चालन गरेको थियो । माओवादी पार्टीमा आएको गुट, फुट र विचलनले गर्दा यी सबै प्रकाशन यतिबेला बन्द छन् ।
उनले विचारलाई निकै कसिलो पाराले समाए । त्यसलाई जीवन व्यवहारमै लागु गर्न समर्पित भए । उनको शब्द र कर्ममा घनीभूत एकत्व थियो । त्यसै कारणले उनी ढुक्कसित जीवनपर्यन्त आन्दोलनमा हेलिए । उनले जम्मा ४६ वर्षको जीवनकालमा करिब १० वर्ष जेलमै बिताए । प्रहरी हिरासतमा एक हप्तासम्म निर्मम ढङ्गले लगातार कुटिएर प्राण फुस्किँदासम्म उनको विचार, विश्वास र इमान ढलेन । त्याग, वीरता र बलिदानका ज्वलन्त विम्ब थिए, कृष्णसेन इच्छुक । उनी आफ्ना लागि होइन, दबेकाहरुलाई उठाउन बाँचेका थिए । उनी विचार, संगठन र संघर्षका बलले अशक्तलाई सशक्त बनाएर न्यायपूर्ण, शान्त र सुन्दर समाज निर्माण गर्ने ध्येयले बाँचेका थिए । त्यही ध्येयको रक्षार्थ जीवन उत्सर्ग गरे ।
जुन समाज वा राज्य व्यवस्थाका लागि निमित्त इच्छुक लडे र मारिए के त्यो समाज वा राज्य व्यवस्था यही हो ? न्याय यही हो ? सुशासन यही हो ? सदाचार यही हो ? त्यो देश यही हो ? ती पार्टी यिनै हुन् ? ती नेता यिनै हुन् ? ती कार्यकर्ता यिनै हुन् ? उनको सहादतले आज यी र यस्ता कैयौँ प्रश्न उब्जाएको छ ।
कृष्णसेन इच्छुक सांस्कृतिक प्रतिष्ठान
सेनको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको स्थापना भएको छ । प्रतिष्ठानले इच्छुक स्मृति पुरस्कार तथा इच्छुक प्रतिभा पुरस्कार स्थापना गरेको छ ।
जनवादी साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई यी पुरस्कार प्रदान गरिन्छ । त्यसका अतिरिक्त प्रतिष्ठानले इच्छुकद्वारा सिर्जना भएका ग्रन्थको प्रकाशन तथा प्रसार गर्ने गर्छ । तत्कालीन एकीकृत नेकपा (माओवादीले) सेनकै नाममा २०६० असोज ११ गतेदेखि कृष्णसेन अनलाइन सञ्चालन गरेको थियो, २०६४ सालदेखि जनदिशा दैनिक पुनः प्रकाशन र जनादेश साप्ताहिक पुनः सञ्चालन गरेको थियो । माओवादी पार्टीमा आएको गुट, फुट र विचलनले गर्दा यी सबै प्रकाशन यतिबेला बन्द छन् ।
सेनका नासोहरु पुनः प्रकाशन गर्न शान्तिप्रक्रियापछि पटक–पटक सत्ताको नेतृत्व गरिरहेको माओवादीले किन नचाहेको हो, त्यो भने अझै बुझ्न सकिएको छैन । सेनका सपना अझै साकार भएका छैनन् । महान् सांस्कृतिक सहिद कृष्णसेन इच्छुकप्रति हार्दिक श्रद्धासुमन !
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij