सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत

मंगलबार, जेष्ठ ६ २०८२

काठमाडौं(जस)–कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को वरिष्ठ उपाध्यक्षमा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी चुनिएका छन्। महासंघको कार्यसमितिले ६ जना कार्यसमिति मध्येबाट अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा छनोट गरेको हो । क्यानको विधानअनुसार उपाध्यक्षहरू मध्येबाट एक जनालाई कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ । कार्यसमितिमा सर्वसम्मतबाट उनलाई वरिष्ठ उपाध्यक्ष छनोट गरिएको हो । २१ वर्षदेखि आइटी क्षेत्रमा कार्यरत अधिकारी साइबर सुरक्षा, नेटवर्किङ, सूचना सुरक्षा व्यवस्थापन, एआई क्षेत्रमा सक्रिय छन्। यस्तै कार्यसमिति बैठकले कोशी प्रदेशबाट ठाकुरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नारायण श्रेष्ठ, संस्थागतबाट केशव भट्टराई र व्यक्तिगत समूहबाट दीपेन्द्र पौडेललाई सचिवमा चयन गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका निवासी अधिकारी साइबर सुरक्षा र नेटवर्किङ क्षेत्रमा उच्च विशेषज्ञता राख्ने व्यक्तित्वको रूपमा परिचित छन् । उनले सूचना सुरक्षा, आईटी शासन, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, र सूचना सुरक्षा व्यवस्थापन प्रणाली लगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनेकौं लेख प्रकाशन गरिसकेका छन् । क्यान महासंघको वर्तमान वरिष्ठ उपाध्यक्ष र पूर्व महासचिव अधिकारी ईन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपालका निर्वतमान अध्यक्ष, सेन्टर फर साइबरसिक्योरिटी रिसर्च एन्ड इनोभेसनका संस्थापक अध्यक्ष र वन कभर प्रालि नामक अग्रणी साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । अधिकारी नेपाली युवालाई प्रविधिमा संलग्न गराउने तथा स्टार्टअप संस्कृति विकास गर्न क्रियाशील छन् । उनका पहलहरूले धेरै युवालाई प्रविधिमा करियर बनाउन उत्प्रेरणा प्रदान गरेको छ । आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्राप्त गरेपछि अधिकारीले उक्त सम्मानले आफूलाई अझ सक्रिय भएर देशको डिजिटल सुरक्षाका लागि कार्य गर्न प्रेरित गरेको प्रतिक्रिया दिएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार