काठमाडौं(जस)–नेपाल टेलिकम (एनटीसी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ५ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले २८ अर्ब ४३ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.८९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ३१ अर्ब २० करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
कम्पनीको रिजर्भको आकार ७२ अर्ब ७० करोड रुपैयाँ बराबर रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७२ अर्ब ५९ करोड रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७६.३६ रुपैयाँ, तरलता २.०४ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २१.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०३.९३ रुपैयाँ, पीई अनुपात ४२.७४ गुणा कायम भएको छ ।