बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आतंकवादविरुद्ध नेपालको दृढ अडान, भारत र पाकिस्तानबीचको तनावप्रति चिन्तित

शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं(जस)–नेपाल सरकारले भारत–पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ । ‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ । आतंकवादविरुद्धको लडाईमा नेपाल सबैको साथमा उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ । सरकारले गत २२ अप्रिलमा भारतको पहलगाममा एक नेपालीसहित निर्दोष पर्यटकमाथि आतंकवादी आक्रमण भएको र त्यसले सिर्जित भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित रहेको जनाएको छ ।
‘उक्त दुःखद समयमा पनि नेपाल भारतको साथमा उभिएका थियो । आतंकवादविरुद्ध हाम्रो बलियो साथ छ,’ विज्ञप्तिमा भनिएको छ । सरकारले नेपाली भूमिलाई छिमेकी देशहरूविरुद्ध प्रयोग हुन नदिने पनि बताएको छ । ‘नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग गर्न दिनेछैन,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले भारत र पाकिस्तानबीचको तनाव कम होस् भनेर आशा पनि गरेको छ। ‘हामी यस क्षेत्रमा शान्ति चाहन्छौं । भारत–पाकिस्तानबीचको तनाव कम हुने आशा छ,’ विज्ञप्तिमा भनिएको छ । भारतको पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको हो । अपरेसन सिन्दुर नाम दिइएको आक्रमणमामा २६ जनाको मृत्यु भएको थियो । जसमा जैश–ए–मोहम्मदका प्रमुख मसूद पनि रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार