काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान भर्ने भएको छ । हिमालय एयरलाइन्सले आउँदो डिसेम्बरभित्रै पोखराबाट ल्हासा उडान थाल्ने तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिनासाथ उडान गर्ने गरी हिमालयले प्राधिकरणसँग अनुमति मागेको छ । ल्हासाको विमानस्थलबाट अनुमति पाएसँगै पोखरा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु हुने प्राधिकरणले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आए पनि चार्टर उडान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
हिमालयले हरेक साताको सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र ल्हासाबाट पोखरा आउने छ । सोमबार हिमालयको जहाज पोखरामा नै बस्ने छ । मंगलबार पोखराबाट ल्हासा उडान गर्ने र ल्हासाबाट काठमाडौं फर्कने गरी उडान तालिका प्राधिकरणमा पठाएको छ ।
यस्तै हिमालयले बुधबार र शुक्रबार भने काठमाडौं–ल्हासा–काठमाडौं उडानका लागि अनुमति मागेको छ ।प्राधिकरणले हिमालयलाई पोखरा उडानमा सहज अनुमति दिने भएको छ। तर त्यसका लागि हिमालयले ल्हासा विमानस्थलबाट उडान अनुमति पाउनु पर्नेछ । ल्हासा विमानस्थलबाट अनुमति पाएको अवस्थामा आउँदो डिसेम्बरदेखि नै पोखरा–ल्हासा उडान हुनेछ ।