काठमाडौं । देशमा रोजगारीको अवसर नहुँदा रोजगथारीको खोजीमा विदेशिने नेपालीको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार एक सय तीन र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको गत आवको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई हजार ७७ हजार दुई सय ७२ रहेको थियो ।
तीन वर्षमा साढे २१ लाखले छोडे नेपाल
विगत तीन वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि २१ लाख ५३ हजार ३९१ जनाले श्रम स्वीकृति लिएका छन् । नेपाल केन्द्रिय बैकले जारी गरेको तथ्यांक अनुसार विगत तीन वर्षमा १३ लाख १२ हजार ४६७ ले नयाँ श्रम स्वीकृति लिएका छन् भने आठ लाख ४० हजार ९२४ जनाले पुन श्रम स्वीकृति लिएका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८१ मा सात लाख ४१ हजार ३०२ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये चार लाख ६० हजार १०३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने दुई लाख ८१ हजार १९९ ले पुन श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै, अघिल्लो आवमा सात लाख ७४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये चार लाख ९७ हजार ७०४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने दुई लाख ७७ हजार २७२ जनाले पुन श्रम स्वीकृति लिएका छन् । आव २०७८/७९ मा भने ६ लाख ३७ हजार ११३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये तीन लाख ५४ हजार ६६६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने दुई लाख ८२ हजार ४५३ जनाले पुन श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिएकामध्ये अधिकांश नेपाली श्रमिक रोजगारीका लागि युनाईटेड अरब इमिरेट्स (युएई) पुगेका छन् । केन्द्रिय बैकको तथ्यांक अनुसार विगत तीन वर्षमा युएईमा रोजगारीका लागि पाँच लाख ३८ हजार ७०० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै मलेसिया जानको लागि पाँच लाख १५ हजार जनाले श्रम लिएका छन् । साउदी अरबका लागि चार लाख ४२ हजार ४७८ जनाले श्रम लिएका छन् ।
त्यस्तै, कतारका लागि दुई लाख ३१ हजार १२६ र कुवेतका लागि एक लाख १९ हजार ४६५ जनाले श्रम गरेका छन् । मध्यपूर्व युएई र मलेसिया नेपाली श्रमिकको लागि आकर्षण मुलुक मानिन्छ । मध्यपूर्वका अन्य मुलुकमध्ये युएई तुलनात्मक रुपमा खुल्ला र उदार मुलुक भएकोले नेपाली श्रमिकको रोजाईमा पर्ने गरेको छ । त्यस्तै, मलेसियन सरकारले नेपाली श्रमिकको पारिश्रमिक वृद्धि गरेपछि मलेसिया पनि नेपाली श्रमिकको रोजाईमा पर्ने गरेको छ ।
