शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

परराष्ट्रमन्त्री राणाले सोमबार भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने

आइतबार, भाद्र २ २०८१

काठमाडौं(जस)–परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचमा सोमवार भेटवार्ता हुने भएको छ । सोमबार साँझ भेटका लागि समय तय भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी गराएको छ । सोमबार नै राणाले भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्ने भएकी छन् ।
चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री आइतबार दिल्ली प्रस्थान गरेकी छन् । राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने जनाइएको छ । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निम्तोमा भ्रमणमा गएकी परराष्ट्रमन्त्री राणासँग छोरा, बुहारी, भाइ, आमालगायतका सदस्य पनि छन् ।
परराष्ट्रमन्त्री राणाका छोरा जयवीर सिंह देउवा, बुहारी शिवाना श्रेष्ठ, भाइ भूषण राणा, आमा प्रतिभा राणा र अन्य पारिवारिक सदस्य पनि नयाँ दिल्लीमा छन् । मन्त्री राणालाई नयाँ दिल्लीमा रहँदा भारत सरकारले नै सरकारी गाडीसहितको सुरक्षा उपलब्ध गराएको छ । राणालाई स्वागत गर्न भारत सरकारले डीएल ३ सीसीवाई ००८ नम्बरको मर्सिडिज बुलेड प्रुफ कार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो । नयाँ दिल्ली पुगेसँगै उनी साकेटस्थित सेराटन होटलमा भेटघाटका कार्यक्रम गरिरहेकी छन् । उनको बसाइँ पनि सोही होटलमा व्यवस्थापन गरिएको छ ।
भ्रमणका क्रममा आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेकी राणालाई भरतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले स्वागत गरेका थिए । राणाले भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।
परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा जयशंकरसँग भेटवार्ता गरी नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन र सहयोग अभिवृद्धिमा पारस्परिक हितका विषयमा छलफल गर्नेछिन् ।
साथै यस भ्रमणले नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साको रूपमा सदियौंदेखिको पुरानो, गहिरो र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको भ्रमणको क्रममा अन्य उच्चस्तरीय भेटवार्ता समेत हुने बताइएको छ । उनलाई परराष्ट्र सचिव सेवा लम्साल, मन्त्रालयका सहसचिव अमृतबहादुर राई लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । मन्त्री भएपछि मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी विहिबार स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार