काठमाडौं(जस)–पछिल्लो समय नेतृत्व परिवर्तनको एजेण्डा अघि सारेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र अध्यक्ष प्रचण्ड शनिबार एकै मञ्चमा उपस्थित भएर बहसमा उत्रिएका छन् । स्थायी समिति बैठकमा शर्माले पार्टी निर्माणका लागि भन्दै तीन विकल्पसहित नेतृत्वको विकल्पसहितको लिखित प्रस्ताव पेस मात्रै गरेका थिएनन् आफूमाथि अध्यक्ष पक्षघरबाटै पार्टी फुटाउन लागिपरेको भनेर निराधार हल्ला चलाएको गुनासो गरेका थिए । शर्माको प्रस्ताव तल्लो तहमा छलफल चलाउने भनेर प्रचण्डले प्रतिबद्धता जनाएपनि आशंकाहरु अझै निवारण हुन सकेको छैन ।
शर्माको प्रतिवेदनको विषयले पार्टीभित्र बहस निम्त्याइरहेको बेला दुई नेता एकै मञ्चमा उपस्थित भएर मनमाझामाझ गरेका हुन् । बहसका लागि मञ्च उपलब्ध गराएको थियो, पार्टी निकट रुकुम– काठमाडौँ सम्पर्क समन्वय समितिले । उक्त बैठकमा शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको स्पष्ट पारे । उनले अध्यक्ष प्रचण्डलाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।
शर्माले प्रचण्डलाई हटाएर अध्यक्ष हुने आफूले कुनै चाहना नराखेको दोहोर्याए । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टीकरण थियो । उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गरे । उनले भने, ‘४८ वर्षको यो दौरानमा मैले धेरै हमलाहरू खपेको छु । मैले धेरै आक्रमणहरूको प्रतिवाद गरेको छु । तर साबित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु अहिले पनि कसैले साबित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रूपमा लाइदिने आरोपको त म के गर्न सक्छु र ?’
शर्माको कुरा सुनिसकेपनि प्रचण्डले जनार्दनले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य साबित भइसकेको बताए । पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशङ्काको तुवाँलो लागेको भए पनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाए । उनले उपमहासचिव शर्मासँग आफूबिच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताए । तर त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पु¥याएको अध्यक्ष दाहालको निष्कर्ष थियो । उनले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताए ।
शनिबारकै अर्को एक कार्यक्रममा पनि अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएर जनताकोमा जाने बताएका थिए । उनले भने, ‘पदाधिकारी र स्थायी कमिटी बैठकमा सबै कुरा खुलेर राखौं भनेर खुलै विषय राखियो । कतिपय कमरेडहरु त झण्डै दुई घण्टा नै बोल्नुभयो।’ स्थायी समितिको बैठकमा छलफलको क्रममा नेता जनार्दन शर्माले अरूले मुखले मत राखे जस्तै आफुले लिखित रूपमा राखेको तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको बताए । उनले थपे, ‘पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिती बैठकमा आउँदा त्यो क्लियर भएको छ । त्यो आंशका मैले लिएपनि अरूले लिएपनि त्यो निराधार भएको कुरा क्लियर भए हुन्छ ।’
अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले षड्यन्त्रपुर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरे । शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमुलक तरिकाले मध्यरातमा हटाइएको बताए । उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमुलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिइ गर्ने जमर्को गरियो ।’
अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिदा विजेताका रुपमा बाहिरिएको बताउदै अब आफुहरु जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरेपनि जनताले बुझिरहे पनि आफ्नै संगठन भित्रका नेताले नबुझेको गुनासो गरे । प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुननिर्माणको गति अगाडि बढाउन खोजिएको बताए ।