काठमाडौं(जस)–गैर आवासीय नेपाली संघ को ११ औँ महाधिवेशनमा ‘भेरो’ नामक अनलाइन भोटिङ सिस्टम ह्याक गरेर चुनाव जितेका डा बद्री केसीसँग आरके शर्मा पक्ष चुप लागेर नबस्ने भएको छ । सर्वोच्च अदालतले केसीलाई बालुवाटारस्थित सचिवालयबाट काम गर्न बाटो खुला गरिदिएसँगै बुधबार बसेको शर्मा पक्षधरको बैठकले केसीविरुद्ध चुप लागेर नबस्ने निर्णय गरेको हो ।
११ औँ महाधिवेशनमा धाँधली भएको भन्दै अध्यक्षका उम्मेदवार महेश श्रेष्ठसहित एनआरएनएको बहुमतभन्दा ठुलो समूहले होटल हिमालयमा महाधिवेशनको बाँकी प्रक्रिया सुरु गरेर शर्मालाई अध्यक्ष घोषणा गरेको थियो । जवकि केसीले धाँधली भएसँगै विवाद उत्पन्न हुँदा हतारमा बाँकी प्रक्रियासमेत पूरा गरेका थिएनन । होटल सोल्टीमा गत अक्टोबरमा भएको महाधिवेशनका बारेमा सिआईबीले धाधली गरेको रिपोर्ट सार्वजनिक गरिसकेको छ । यता क्याबिनेटबाट बनाईएको छानबिन आयोगले पनि रिपोर्ट सार्वजनिक गरेर बद्री पक्षबाट निर्वाचनमा धाँधली भएको निष्कर्ष दिइसकेको छ ।
यस्तो अवस्थामा सर्वोच्चले ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई काम गर्न भनिरहेको बेला शर्मा पक्षले पनि आफू अधिकारिक भएको विगतदेखि नै बताउँदै आएको छ । तर, सर्वोच्चको गत चैत २१ को फैसलाअनुसार एकताको महाधिवेशनको प्रतिक्षा गर्नका लागि मात्रै शर्मा मौन थिए । अब सर्वोच्चले नै नयाँ फैसला गरेर ११ औँ महाधिवेशनलाई वैधता दिएपछि शर्मा पक्ष केसीलाई अवैध करार गरेर आफूलाई वैध बनाउन कानुनीसहितका सबै उपाय अबलम्बन गर्ने रणनीतिमा जुटेको छ ।
सोही अनुसार बुधबारको बैठकले अदालत जानेगरी तयारी भएको छ । त्यसका लागि आवश्यक प्रमाणसहित रिट निवेदन लेखनको कार्य सुरु भएको र बिहीबार या शुक्रबारसम्ममा सर्वोच्चमा दायर भइसक्ने शर्मा निकट एक अभियन्ताले बताए । उनका अनुसार यसमा महेश श्रेष्ठ, कुल आचार्यसहितका अभियन्ताहरुले सहमति जनाइसकेका छन । आफूलाई होटल हिमालयबाट अध्यक्ष चयन गरेको समूहले साथ दिने भएसँगै उत्साहित बनेका शर्माले केसीलाई चुनौती दिनेगरी अघि बढ्ने रणनीति अख्तियार गरिसकेको छन ।
एनआरएनएको निर्वाचन अस्ट्रेलियन प्रविधि कम्पनी भेरो भोटिङमार्फत गराइएको थियो । अर्थात् पूर्णतः अनलाइनमार्फत भएको उक्त निर्वाचनमा काठमाडौँमा उपलब्ध एनआरएनहरुका लागि महाधिवेशनस्थल राजधानीको होटल सोल्टीमा छुट्टै बुथ बनाइएको थियो । यद्यपि त्यहाँपनि अनलाइनमार्फत नै भोट खसाल्ने नै व्यवस्था गरिएको थियो ।
कात्तिक १ गते मध्यरातदेखि सुरु भएको मतदान कात्तिक २ गते मध्यरातसम्म जारी रह्यो भने लगत्तै निर्वाचनसमितिका प्रमुख यादवप्रसाद ढुंगानाले सबै उम्मेदवारलाई राखेर मतपरिणाम लाइभ सुनाएका थिए । तर, नतिजाअनुसार उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत नै काठमाडौँमा शून्य आएको र उनलाई पराजित देखाइएपछि,जोड–घटाउमा गडबढी भएपछी,केही रिजनबाट कुल मतदाताको संख्याभन्दा बढी मत झरेपछि मतपरिणाम सार्वजनिक स्थलमै हंगामा हुन पुगेको थियो । नतिजाअनुसार अध्यक्षमा बद्री केसीलाई विजयी भएको देखाइएपनि अध्यक्षका उम्मेदवारद्वय आरके शर्मा र महेश श्रेष्ठले समग्र निर्वाचनमै धाँधली भएको भन्दै आफूहरूले नतिजा नमान्ने घोषणा गरे । उनीहरुले सिस्टम ह्याक गरेर बद्री केसी समूहले अध्यक्षसहितका पदहरुमा नै नतिजा उलटपुलट पारेको आरोप लगाएका थिए । यस्तै समर्थकहरुबीच पनि चर्को नाराबाजी भयो भने जितेका भनिएकाहरुले पनि खुसीयाली मनाउने माहौल रहेको थिएन। सोल्टीमा रातभर विवाद भयो भने त्यसपछि महाधिवेशनको बाँकी प्रक्रिया समेत पुरा हुन सकेन ।
विवाद समाधानको प्रयासस्वरुप तत्कालीन अध्यक्षहरु केसीसहित कुल आचार्य र रविना थापाले कात्तिक ३ गते एक विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्मका सो दिनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी गराए । त्यसअघि नै शर्मा र श्रेष्ठले परराष्ट्र मन्त्रालयदेखि केन्द्रीय अनुसन्धान ब्युरो र प्रधानमन्त्री कार्यालयसम्म धाँधली भएको दाबी गर्दै प्रमाणसहित निवेदन दिइसकेका थिए । यतिसम्मकि विवादकै कारण कात्तिक ३ गते समापन समारोहमा प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम रहेपनि प्रधानमन्त्री प्रचण्ड गएका थिएनन् ।
शर्मा र श्रेष्ठले मत परिणाम अस्वीकार गरेपनि केसीले आफूलाई जबरजस्ती अध्यक्ष निर्वाचित भएको घोषणा गराउन लागि परे । त्यसपछि शर्माको नेतृत्वमा नयाँ समिति बनेपछि चर्किएको विवाद समाधान नभएपछि माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले विवादबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिले धाँधली भएकै प्रतिवेदन दिएको थियो भने सो अघि भएको सीआइबीको अनुसन्धानले पनि धाँधली हुनसक्ने पर्याप्त आधार रहेको औँल्याएको थियो । सर्वोच्चलाई देखाउँदै केसीले सचिवालयबाट काम थालेसँगै शर्मा पनि चुप लागेर नबस्ने भएसँगै एनआरएनएको केही समय मौन बनेको विवाद फेरि छताछुल्ल बन्ने देखिएको छ ।