काठमाडौं(जस)–नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबारदेखि सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु बैठकमा महासमितिमा पस भएका प्रस्तावहरूमा आएको सुझावका आधारमा परिमार्जनसहित बैठकले पारित गर्ने तयारी रहेको छ । बैठकले कार्यसम्पादन र पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन, नियमित बैठक भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र पार्टीको संगठन सुदृढ बनाउनेबारे निर्णय गर्ने छ । कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु बुधबार बैठकमा क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेका छन् ।
जसअनुसार बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताबका सम्बन्धमा, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान (भदौ १५ – मंसिर २५) सम्बन्धमा, अनुशासनको कारवाहीका लागि भएका सिफारिस सम्बन्धमा, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ति सम्बन्धमा, भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण (नयाँ र नविकरण) प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धम, नियमावली संसोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका—०८१’ सम्बन्धमाका साथै समसामयिक राजनीति र अन्य विविध गरी ११ विषय छलफलका लागि प्रस्ताव गरिएको छ ।
बुधबारको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको २०८१ असार १९ र २९ गतेको बैठकका निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय गरेको महतले बताए । यस्तै बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ । यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकले लिएको छ ।
यस्तै काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा ५ जनाको निधन भएको घटनाप्रति बैठकले दुःख व्यक्त गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । बुधबारको बैठकमा केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति कार्यसमितिलाई जानकारी गराएका थिए । त्यसैगरी केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरूसँग नियमित सम्पर्कमा रहिरहेको जानकारी गराएकी थिइन् ।
बैठकमा केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कण्डेल, गोविन्दबहादुर शाह र सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि बस्नेछ ।