आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सुदूरपश्चिममा बन्यो नयाँ सरकार, कर्णालीमा सरकारले पायो पूर्णता

सोमबार, साउन २१ २०८१

काठमाडौं(जस)–दीर्घबहादुर सोडारी नेतृत्वको सरकार ढलेसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह आइतबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन्् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहको मुख्यमन्त्रीमा यो दोस्रो कार्यकाल हो । उनी सुदूरपश्चिमको चौथौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा माओवादीका त्रिलोचन भट्ट पुरै कार्यकाल मुख्यमन्त्री भएका थिए । त्यसपछि भने सुदूरपश्चिममा अस्थिरता चुलिँदो छ ।
२०७९ पौष २७ गते एमाले, माओवादी, नागरिक उन्मुक्तिको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भए । उनीसँगै एमालेकै सन्तोष शर्मा थापा र माओवादीका खगराज भट्ट बिना विभागीय मन्त्री बनेका थिए । तर रावल नेतृत्वको सरकार एक महिनाभन्दा बढी टिक्न सकेन । उनले विश्वासको मत नपाएपछि सरकार ढलेको थियो । रावलपछि प्रदेशसभाको ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भए । उनीसँगै काङ्ग्रेसकै प्रकाश देउवाले भौतिक पूर्वाधार विकास मन्त्री र एकीकृत समाजवादीका नरेश शाहीले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाए ।
त्यसपछि बनेको कांग्रेस, माओवादी, समाजवादी सहितको गठबन्धनबाट माओवादीका झपट साउँदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाले भने माओवादीकै गीता माल राज्यमन्त्री बनिन् । सोही दिन कांग्रेसका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बने । सिंहको सडक दुर्घटनामा परी निधन भएपछि उनको ठाउँमा काङ्ग्रेसकै शिवराज भट्ट मन्त्री बने । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी तथा राज्यमन्त्रीमा उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भए । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि यहाँको सरकारमा पनि समानान्तर प्रभाव प¥याृ । कांग्रेस बाहिरिएर एमाले भित्रिँदा यता प्रदेशमा कांग्रेस नेतृत्वको मुख्यमन्त्री पद जोखिममा परेको थियो । एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि पनि एक महिनासम्म सरकार जोगाउने उनले ठुलै कसरत गरे ।
त्यसपछि सुदूरपश्चिम प्रदेशको सत्ता टिकाउन नागरिक उन्मुक्तिबाट कैलाश चौधरीलाई हटाएर राज्यमन्त्रीमा इन्दिरा गिरीलाई नियुक्त गरियो । नागरिक उन्मुक्तिकै घनश्याम चौधरी, लक्ष्मण चौधरी र खुसीराम चौधरी क्रमशः आर्थिक मामिला, सामाजिक विकास र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भए । तर, मुख्यमन्त्री भएको १४ महिनापछि चैत्र २२ गते शाहले राजीनामा दिए । शाहपछि एमाले, माओवादी, उन्मुक्तिका दुई सांसद तथा स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भए ।
केन्द्रमा असार १७ गते एमाले र कांग्रेसबिच राजनीतिक समझदारी भएपछि सोडारी नेतृत्वको सरकार अल्पमत प–यो र अन्ततः उनले साउन १८ गते राजीनामा दिए । त्यसपछि आइतबार कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यता कर्णाली प्रदेशमा पनि यामलाल कडेल नेतृत्वको सरकारले पूर्णता पाएको छ । सत्तारुढ दल नेपाली कांग्रेसबाट चार जना मन्त्रीहरू नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी नियुक्त भएका छन्् ।
चार जना मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन्् । कांग्रेस ५ महिनाको अवधिमा पुनः सरकारमा सहभागी भएको छ । केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै कर्णालीमा पनि सोही समीकरण अनुसार सरकार बनेको हो । यसअघि मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह छन्् ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेलले आफैसँग राखेर भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विकलाई नियुक्त गरेका थिए । ०८० चैत्र २७ गते माओवादीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अहिलेसम्म तीन पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् । वैशाख १३ गते पहिलो पटक विश्वासको मत लिएका उनले सोमबार दोस्रो पटक संसदमा विश्वासको मत लिने तयारी गरेका छन्् । कांग्रेस–एमाले गठबन्धन बन्दा कर्णालीमा पहिलो पटक माओवादी प्रतिपक्षमा पुगेको छ । संघीयतापछि माओवादी निरन्तर सत्तामा रहँदै आएको थियो । सुदूरपश्चिममा नयाँ सरकार बनेसँगै सबै प्रदेशमा एमाले र कांग्रेसको सरकार बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार