बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

पहिलोपटक बागमतीमा कांग्रेसको नेतृत्व, नवनियुक्त मुख्यमन्त्री लामाको शपथ आज

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ पनि आज

बुधबार, साउन ९ २०८१

काठमाडौं(जस)–बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)को शपथ ग्रहण बुधबार हुने भएको छ । लामालाई मंगलबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ । लामा नेतृत्वको मन्त्रिपरिषद्मा भागबण्डा समेत मिलिसकेको छ ।
जसअनुसार एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको नृत्वमा रहनेछन् । यस्तै कांग्रेसका अन्य ६ जना मन्त्री हुनेछन् ।
कांग्रेसको भागमा परेको ६ मन्त्रालयमा को–को मन्त्री जाने भन्नेबारे भने मंगलबारसम्म सार्वजनिक गरिएको छ । सबैको शपथ एकसाथ लामाको शपथलगत्तै हुने बताइएको छ । बागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो । सङ्घीयता कार्यान्वयनको ७ वर्षे अवधिमा अधिकांश समय प्रतिपक्ष रहेको कांग्रेस करिब ३ वर्ष भने सत्ता साझेदार बनेको थियो । २०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै कांग्रेस सरकारमा गएपनि नेतृत्व भने प्राप्त गर्न सकेको थिएन ।
कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका आधारमा २०७८ मा कांग्रेससहितको समीकरणबाट एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व पाए । १४ महिने सो सरकारमा मुख्यमन्त्री त्याग गरेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन । एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार २ महिनामा ढलेपछि २०७९ चैतमा कांग्रेस सरकारमा सहभागी भएको थियो । सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दाबी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको थियो । एक वर्षपछि २०८० फागुनमा फेरि त्यो समीकरण भत्कियो ।
सोलगत्तै सरकारबाट कांग्रेस बाहिरियो र केन्द्रको भन्दा फरक समीकरणबाट सरकार गठनको कसरतमा जुट्यो । तर, कांग्रेसको सो प्रयास असफल बन्यो । अन्ततः पुनः माओवादी केन्द्र कै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच सत्ता साझेदारी हुँदा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा पुग्यो । यस्तै कांग्रेस विगत ४ महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा रहँदै आएको थियो । ०७८ अघि पनि कांग्रेस प्रतिपक्षमै थियो । कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीति गर्दै पार्टी राजनीतिमा होमिएका हुन् नवनियुक्त मुख्यमन्त्री लामा । नुवाकोटमा सामान्य परिवारमा जन्मिएका लामा सानै उमेरदेखि अब्बल र हक्की स्वभावका थिए ।
काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकसम्मको उच्चशिक्षाको अध्ययन पूरा गरेका उनलाई निर्माण व्यवसायीको रुपमा समेत चिनिन्छ । उनले २०४३ मा नेविसंघको सदस्यता लिएका थिए भने शंकरदेव क्याम्पस इकाई सदस्य पनि भए । २०४५ सालमा नेविसंघ नुवाकोटको क्षेत्रीय सभापति भएका उनी पछि कांग्रेस नुवाकोटको जिल्ला उपसभापति भए । २०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएका लामा पार्टीको १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य भएका थिए । यस्तै १४ औँ महाधिवेशनमा पनि उनले केन्द्रीय सदस्यमा निरन्तरता पाए ।
विस २०६४ सालमा नुवाकोट क्षेत्र नम्बर–३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा पराजित भएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । सो निर्वाचनमा उनले नेकपा माओवादी केन्द्रका तत्कालीन महासचिव पोस्टबहादुर बोगटीलाई भारी मतले हराएका थिए । ०६४ सालमा भने उनी बोगटीसँग नै पराजित भएका थिए । २०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामा २०७९ मा भने बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ पनि आज
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८.३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो ।
कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।
साढे छ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा
कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।
सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए ।
अब कर्णालीमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा सत्ता सहकार्य हुने छ । सरकारमा सहभागी हुने विषयमा मंगलबारैदेखि छलफल सुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार