काठमाडौं(जस)–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को नेपाल निर्देशक नुमान ओज्कानले शनिबार शिष्टाचार भेट गरेका छन् । श्रम मन्त्रालयमा शनिबार भएको सो भेटमा उनीहरुबीच श्रम आप्रवासनका विविध विषयमा विचार विमर्श भएको थियो ।
सो क्रममा श्रम मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा, बालश्रम निवारण तथा मर्यादित कामका क्षेत्रमा आइएलओले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । भेटमा आइएलओका नेपाल निर्देशक ओज्कानले नेपाल आइएलओको ‘गभर्निङ बडी’मा निर्वाचित भएकामा बधाई दिएका थिए ।
