काठमाडौं(जस)–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन् । मंगलवार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे । उनले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाँचेको बताए । त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको बताए ।
उनले राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताए । राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताए । घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे ।
लोन टु भ्यालु रेसियो, जोखिम भार लगायतका विषयमा माइक्रो पोलिसीअन्तर्गत पर्ने उनले बताए । त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने बताए । उनले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरे । राष्ट्र बैंकले उद्योग व्यवसायलाई अफ्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ बाँधेको डोरी देखाए फुकाउन तयार रहेको बताए ।
मौद्रिक नीति बैंक र व्यवसायी दुबै बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीववी बुटी बन्नुपर्ने बताए । छलफलमा अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् । आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी सञ्जीवनि बुटी बन्नेगरी मौद्रिक नीति आउनुपर्ने बताए ।
उत्पादनमुलुक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताए । मागमा आएको संकुचनको कारण उद्योगीहरुको ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । राष्ट्र बैंकले लगानीलाई प्रोसाहन, पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्ने उल्लेख गरे ।
उनले निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहज र सुलभ गरिनुपर्ने बताए । निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको उल्लेख गरे । नगद प्रवाहमा भएको समस्या,न्युन उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेकाले मनोवल उच्च बनाउने मौद्रिक नीति अहिलेको आवश्यकता भएको बताए । गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैंकहरुलाई प्रोत्साहन गरिनु पर्ने बताए ।