काठमाडौं, संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरि हस्ताक्षर भएको छ।
दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको कांग्रेसका एक नेताले बताए।
सो सहमतिलाई अन्तिम रूप दिईएको छ । सोमबार राति सहमतिमा हस्ताक्षर भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस–एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका हुन । कांग्रेसका तर्फबाट सभापति देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरू रहेको राष्ट्रपति कार्यालय स्रोतले रातोपाटीलाई जानकारी दियो । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल निवास पुगेको नेताहरू बताउँछन ।
एमाले कांग्रेसबीच भएको मुख्य मुख्य सहमति निम्न रहेका छन ।
-एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ।
-अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने ।
-एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने ।
-मधेष प्रदेश,मधेषी दललाई दिने ।
-निर्वाचन प्रणाली संशोधन गर्ने सहमति ।
-पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने ।