शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

तराईमा बाढी र पहाडमा पहिरोको कहर, पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु्

शनिबार, असार १६ २०८१

काठमाडौं(जस)–अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोको कहर सुरु भएको छ । बाढी र पहिरोको कारण वितेको २४ घण्टामा मात्र सयौं जना विस्थापित भएका छन् भने नौ जनाको मृत्यु् भएको छ । अविरल वर्षाका कारण गुल्मीको मालिका गाउँपालिका–६ कडेलपाटा बस्ने ५५ वर्षीय भेष बहादुर कामीको घर गएराति माथिबाट ढुङ्गा, माटोसहितको पहिरो आई पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर भेष बहादुर कामी, उनकै श्रीमती ४८ वर्षीया सुन्तली कामी, बुहारी २६ वर्षीया सिता बिक, नातिनीहरू ८ वर्षीया सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । स्याङजामा अविरल वर्षाको कारण फेदीखोला गाउँपालिका–५ बाँगे बस्ने दुर्गा जिटीको घर र गोठ पहिरोले पुरिँदा एकै परिवारका आमा छोरीको शुक्रबार राति मृत्यु भएको छ । पहिरोले पुरिएर घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जिटी र उनकै छोरी ३ वर्षीया निसिका जिटीको घटनास्थलमै मृत्यु भएको हो ।
बागलुङमा अविरल वर्षाको कारण गल्कोट नगरपालिका–८ बिसौना बस्ने ५५ वर्षीय प्रेम बिकको घर पहिरोले पुरिँदा विक र उनकै श्रीमती ५० वर्षीया बसन्ती विकको शनिबार बिहान मृत्यु भएको छ । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटिया र इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध
शुक्रबार राति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् । कालीगण्डकी करिडोरअन्र्तगतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।
मध्यपहाडी राजमार्गअन्र्तगत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले सडक पूर्ण रूपले अबरुद्ध भएको छ । । पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अबरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार