शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रमुख तीन दलबीच टीआरसीलाई छिट्टै टुंगोमा पुर्याउने सहमति

शुक्रबार, असार १५ २०८१

काठमाडौँ । प्रमुख तीन दलबीच संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक छिट्टै टुंगोमा पु¥याउन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू सहमत भएका हुन् । माओवादी केन्द्रमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीमा सहमति खोज्न उक्त बैठक बोलाएका थिए ।
टीआरसीलाई चाँडै टुंगोमा पु¥याउन ठूला तीन दलबीच सहमति भएको बैठकमा सहभागी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘विशेषगरी टीआरसीलाई टुंगोमा पुर्याउने विषयमै छलफल केन्द्रित थियो,’ बैठकपछि उनले भने, ‘संसदको कानून तथा न्याय समितिमा विचाराधीन रहेको विधेयकलाई पुनः छलफलमा ल्याउने र सहमति गर्ने भनिएको छ । यसका लागि तीन दल क्रमशः कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक–एक जना सदस्यलाई जिम्मेवारी दिइने भएको छ ।’
तीनजना सदस्य को–को रहने भन्ने विषय एक–दुई दिनभित्रै तोकिने जानकारी बर्तौलाले दिए । कानुनमन्त्री पद गिरीकाअनुसार संसद्को समितिमा छलफलका क्रममा ४ वटा बुँदामामा जुट्न नसकेको सहमति जुटाउन गृहकार्य गर्ने र निकट भविष्यमा सहमतिका साथ अघि बढ्ने निर्णय भएको छ । टीआरसी विधेयकमा मेलमिलापका सम्बन्धमा पीडित पक्षको स्वतन्त्र सहमति गरेर टुङ्ग्याउने भनिएको थियो । त्यस्तै गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिबारे दलहरूबिच मतभेद छ । मन्त्री गिरीले अर्को बैठक चाँडै बसेर टुङ्ग्याउन नेताहरु सहमत भएको बताए ।
बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौलाका साथसाथै पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी थिए । यस्तै बैठकमा तीन दलका दोस्रो तहका नेताहरु पनि सहभागी थिए । बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु थिए । टीआरसीको विषय टुंग्याउन निरन्तर पहल हुँदै आएपनि दलह? एकमत नहुँदा प्रक्रिया लम्बिँदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार