सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको प्रतिबद्धतापछि पनि दुबईमा कन्सुलर कार्यालय खोल्न ढिलाइ

आइतबार, असार १० २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा कन्सुलर कार्यालय खोल्नका लागि सरकारी पक्षबाट ढिलाइ भएको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले त्यहाँ कार्यरत नेपालीहरुमा सेवा प्रवाहमा सहजता ल्याउन दुबईमा कन्सुलर कार्यालय खोल्न सकारात्मक जवाफ दिएपनि कार्यान्वयमा भने ढिलाइ हुँदै आएको हो ।

युएईको उत्तरी इमिरेट्सहरु सारजाह, अजमान, रसलखेमा, फुजेरा, दुबईलगायतका स्थानमा कुलमध्ये ७५ प्रतिशत भन्दा धेरै नेपाली श्रमिकहरु कार्यरत छन् । तर, उनीहरु कन्सुलर सेवा लिनका लागि हाल आबुधाबीस्थित राजदूतावासमा जानुपर्दा धेरै समय र पैसाको खर्च हुनुका साथै जागिरमा समेत समस्या हुने भएकाले दुबई पायक पर्ने सरोकारवालाले बताउँदै आएका छन् ।
त्यसका लागि दुबईमा कन्सुलर कार्यालय जरुरी रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनमा सहभागी हुन गत नोभेम्भरमा यूएई जाँदा नेपाल एसोसिएसन (एनआरएनए यूएई)को तर्फबाट महासचिव भुवनकुमार वाग्लेको नेतृत्वमा ज्ञापनपत्र बुझइएको थियो ।


ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्रीले कन्सुलर कार्यालयको माग सही रहेको भन्दै पुरा गर्ने प्रतिबद्धतामात्रै जनाएका थिएनन् सार्वजनिक मञ्चमा यसबारे पहलकदमी लिने समेत बताएका थिए । तर, हालसम्म पनि प्रधानमन्त्रीको प्रतिबद्धताले मूर्तरुप पाउन नसकेको हो ।
उसो त त्यतिबेला प्रधानमन्त्रीले पार्टी निकट नेपाली जनप्रगतिशील मञ्च र नेपाली समुदायसँगको अर्को भेटमा पनि माग पूरा भएरै छाड्ने बताएका थिए । प्रधानमन्त्रीको उक्त प्रतिबद्धतापछि नेपालीहरु खुसी भएको र अहिले पनि कार्यान्वयको प्रतिक्षामै रहेको वाग्लेले बताए ।
तत्कालीन अवस्थामा परराष्ट्रमन्त्री एनपी साउद थिए भने उनले त्यतिबेला खासै चासो नदिएकै अवस्थामा तीन महिनापछि सत्ता समीकरण परिवर्तन हुन पुग्यो । नयाँ समीकरणअनुसार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बने भने अर्थमन्त्रीमा वर्षमान पुन चयन भए । त्यसपछि फलोअपस्वरुप वाग्लेसहित नेपाली जनप्रगतिशील मञ्च यूएईका महासचिव सुनील खड्का र नेपाली सेफ सोसाइटी अन्तर्राष्ट्रिका अध्यक्ष अरुण अधिकारी को टोलीले प्रधानमन्त्री, परराष्ट्र र अर्थमन्त्री तिनैजनालाई भेटेर ज्ञापनपत्र बुझाउँदै मागबारे ध्यानाकर्षण गराएको थियो । फाइल अघि बढाउन निरन्तर पहलकदमी भएको सरकारले सकारात्मक जवाफ दिँदै आएकाले आफूहरु छिट्टै नेपालीहरुको चाहनाअनुसार कन्सुलर कार्यालय खुल्नेमा आशावादी रहेको वाग्लेले बताए ।
उसो त हाल नेपाल एसोसिएसन–एनआरएनए यूएईसँगको सहकार्यमा दूतावासले पासपोर्ट नवीकरण र घुम्ती शिविरहरु सञ्चालन गर्दै आएको छ । तर त्यसले पनि सुविधा सबैलाई नपुगेकाले कन्सुलर कार्यालय अपरिहार्य रहेको एनआरएनए यूएईले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार