सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुन व्यवसायमा बेथिति : एक्लै भिड्दै गुप्ता, महासंघदेखि कालिगडसम्म जर्ती नलिने निर्णयपछि तनावमा

शुक्रबार, असार ८ २०८१

काठमाडौं(जस)–सुनको गहना व्यवसायमा जर्तीको नाममा उपभोक्ताबाट अतिरिक्त शुल्क असुल गर्न नहुने भन्दै नयाँ अभियानको थालनी गरेका श्री सिद्धि सिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र कुमार गुप्ताविरुद्ध अन्य सुनचाँदी व्यवसायीले मोर्चाबन्दी कसेको पाइएको छ । तर, गुप्ताको निर्णयले अन्य व्यवसायीको व्यवसायमै गम्भी धक्का लाग्न थालिसकेको छ । गुप्ताको श्री रिद्धि सिद्धिमा ग्राहकको भीड लागिरहँदा अन्य पसलमा भने आशातीत व्यापार हुन नसकेको बताइएको छ । बिहीबार राजधानीको प्रमुख सुन पसलहरुमा जनसवालले रिपोर्टिङ गर्दा पनि रिद्धि सिद्धिमा बढी भीड देखिन्थ्यो ।
व्यापारको यही अवस्था रहेपछि केही दिनअघि सुनचाँदी व्यवसायसँग सम्बन्धित तीन वटा महासंघले विज्ञप्ति नै जारी गरेर गुप्ताको कदमको विरोध गरेकामा फेरि सुनचाँदी व्यवसायी तथा कालिगड बचाउ अभियानको नाममा गुप्ताविरुद्ध वक्तव्यबाजी भएको छ । गुप्ताले जर्तीको शुल्क नलिने घोषणा गरेसँगै यस व्यवसायसँग सम्बन्धित व्यवसायी तरङ्गित बनेका हुन् । वर्षौँदेखि जर्तीको नाममा ग्राहकबाट अतिरिक्त रकम असुलिरहेका उनीहरु यो धन्दा र समग्र व्यापार नै चौपट हुने भएपछि तरङ्गित बन्दै गुप्ताको निर्णय फिर्ता गराउनेतर्फ लागेका हुन् । तर, गुप्ताले जर्ती लिने कार्य गर्न नहुने भन्दै अब सुनको गहना बेचेबापत ज्वालाको रूपमा ७ प्रतिशतमात्रै शुल्क लिने निर्णय भएकाले यसबाट पछि नहट्ने बताउँदै आएका छन् । उनले अफरको रूपमा आफूले हाललाई असार १५ गतेसम्म ७ प्रतिशतमै गहना दिने निर्णय गरेको र त्यसपछि पनि जर्तीको नाममा भने कुनै शुल्क नलिने बताए ।
तर, यो निर्णयको आलोचना गर्दै कालिगड बचाउ अभियानले बैंकबाट खरिद गरिएको सुनभन्दा सयौँ गुणा बढीको कारोबारका कारण श्री सिद्धि सिद्धि ज्वेलर्स शंकाको घेरामा रहेको दाबी गर्दै छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सस्तो लोकप्रियता र क्षणिक आकर्षणका नाममा नेपाली कला संस्कृतिमाथि धावा बोल्ने कम्पनीको नियतमाथि प्रश्न उठेको अभियानको विज्ञप्तिमा उल्लेख छ। अवैध मार्गबाट भित्र्याइएको सुन तथा विदेशमा मेसिन निर्मित गरगहनाहरूमा मात्र कमभन्दा कम ज्याला जर्तीमा गहना निर्माण गर्न सम्भव रहेको विज्ञप्तिमा दाबी गरिएको छ । वैध मार्ग तथा बैङ्कबाट खरिद गरिएको सुनबाट कुनै हालतमा पनि ७ प्रतिशत ज्याला जर्तीमा निर्माण गर्न नसकिने विज्ञप्तिमा दाबी गरिएको छ ।
सिद्धि सिद्धिले सुन खरिद कहाँबाट गर्छ यसको छानबिन आवश्यक रहेको भन्दै विज्ञप्तिमा शङ्कास्पद कारोबारको छानबिन हुने डरले भएको स्टक सिद्ध्याएर यो व्यवसायबाटै पलायन भई बिदेसिने मनसायले यस्तो आत्मघाती कदम चालेको हुनुपर्ने गम्भीर आरोप समेत लगाइएको छ । तर, गुप्ताले भने सुन व्यवसायको नाममा गलत धन्दा गर्नेहरुले आफूले सुरु गरेको ग्राहकमैत्री कदमको विरोध गरेको बताएका छन् । उनले देशभर २० हजार हाराहारीमा सुन पसल रहेको उल्लेख गर्दै दैनिक प्राप्त हुने कोटाको २० किलो सुन कति वितरण हुन्छ भन्दै प्रश्न गर्ने गरेका छन् । सिद्धि सिद्धि विगत २५ वर्ष देखि एक नम्बर सुन पसलको रूपमा रहेको भन्दै ग्राहकको विश्वासले आफूहरू अहिले पनि अब्बल बन्न सकेको बताए । रिद्धिसिद्धिले ग्राहकको बिल भएका सुन अधिकतम खरिद गर्ने गरेको छ भने यही चक्रअनुसार ग्राहकसँग सहकार्य गर्दै आएको छ । प्रतिस्पर्धी व्यापारीले भनेजस्तो नभई उसले सबै मापदण्ड पुरा गरेर कार्य गर्दै आएको सरकारी निकायको अभिलेखहरुले समेत देखाउँछ ।
श्री सिद्धि सिद्धि ज्वेलर्स नेपालकै पहिलो आईएसओ प्रमाणित सुन व्यवसायी हो । जसले रसायन रहित तथा १०० प्रतिशत बाई–ब्याक ग्यारेन्टीको गहना उत्पादन गर्दै आएको छ । सदैव ग्राहकको हक हितको लागि तत्पर, सुनको मूल्य अत्यधिक बढेको बेला फेरि पनि ग्राहकको सहजताका लागि ७ प्रतिशत ज्यालामा गहना दिने योजना लिएर आएको कम्पनी आएको गुप्ताको भनाइ छ ।
गुप्ताले अर्को एक विज्ञप्तिमा २५ वर्ष पुरानो नेपालकै नम्बर १ ज्वेलरी ब्रान्ड, श्री सिद्धि सिद्धि ज्वेलर्सले, वर्षौँदेखि अपारदर्शी तरिकाले जर्ती लिने प्रचलनलाई खारेज गरेको जनाएका छन् । साथै उपभोक्ताको हितका लागि असार १५ गतेसम्म सुनको गहना बनाउने ज्यालामा पनि अधिकतम छुट दिएर ७ प्रतिशत गर्ने योजना घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यस निर्णयको विरोध गर्दै अफर बन्द गर्न हामीलाई आएको गैरकानुनी र गैरव्यवहारिक प्रतिस्पर्धी व्यापारी र महासंघहरुको दबाबप्रति हामी खेद प्रकट गर्दछौँ। एक स्वतन्त्र व्यवसायीले उपभोक्ताको हितमा काम गर्नु कदापि गलत होइन, हामीले स्वतन्त्र तरिकाले व्यवसाय गर्न पाउनुपर्छ, र यो हाम्रो नैसर्गिक अधिकार हो’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गैरव्यवहारिक विरोध र दबाब, उपभोक्ताको हक हित विरुद्धको पनि विरोध हो भन्ने हामीले बुझेका छौँ ।’
आफूले गम्भीर विषयमा कुरा उठाउँदा, श्री सिद्धि सिद्धि ज्वेलर्समाथि खनिइनु आवश्यक नभएको उल्लेख गर्दै भनेका छन्, ‘सोझा कालिगडका नाममा अपारदर्शी जर्ती लिएर कर छली तथा उपभोक्तालाई ठगी गर्न पाइँदैन् । पसलेले कालिगडलाई प्रति तोला १० देखि १२ लाल जर्ती दिएको हिसाब किताब खोइ ?’ उनले अगाडि भनेका छन्, ‘व्यवसायीका हितका लागि खडा गरिएको महासंघको लेटरप्याड दुरुपयोग गर्न पाइँदैन । उपभोक्ताको हितमा काम गर्ने व्यवसायीलाई धम्की दिन पाइँदैन । राज्य र उपभोक्तालाई भ्रमित पार्ने यस दाबीमा राज्यले अनुसन्धान गर्नु जरुरी छ ।’ उपभोक्तालाई सर्वोपरि ठानेर श्री सिद्धि सिद्धि ज्वेलर्सले ल्याएको छुट सुविधा, कुनै व्यापारी र ठुला महासंघको दबाबमा कदापि फिर्ता नलिइने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार