काठमाडौं(जस)–राजधानीको विशाल बजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्समा बिहीबार दिँउसो धादिङकी मैया कार्की सुन किन्न पुगिन् । छिट्टै हुन लागेको छोराको बिहेका लागि हुनेवाला बुहारीलाई गहना किन्न पुगेकी उनले विभिन्न आधुनिक डिजाइनका करिब ७ तोला सुन छानिन् । गहनाको बिल तिर्ने बेलामा पसल कर्मचारीले भने, ‘तपाईंले किन्नुभएको गहना पछि बेच्दा कुनै जर्ती काटिँदैन । अनावश्यक जर्ती जोडेर बिल पनि बनाइएको छैन । मात्र ७ प्रतिशत ज्यालातिरे पुग्छ ।’
यसअघि पसल सञ्चालकहरूले ज्याला र जर्ती भनेर कुस्त रकम लिएको बताउने उनले योपटक भने पुरा सुनको मूल्य पाउने र ७ प्रतिशत मात्रै ज्याला तिरेपुग्ने जानकारी पाएबाट खुसी लागेको प्रतिक्रिया दिइन् । आजभोलि विशाल बजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सको पसल नम्बर १ र १० मा यसैगरी सुनको जर्तीमा पैसा नलिई ज्यालामात्रै लिने गरी अफर ल्याइएको छ । जुन अफरले ग्राहकहरू आकर्षित भएका छन् भने अरु केही व्यापारीचाहिँ रिद्धि सिद्धिको अफरबाट रुष्ट बनेका छन् ।
ज्याला र जर्तीको नाममा ठूलो रकम असुलिरहेका सुन व्यवसायीहरूले रिद्धि सिद्धिको अफरपछि ग्राहक उतै लाग्ने र आफूहरुको व्यापार चौपट हुने भन्दै विरोध सुरु गरेको बताइएको छ । तर रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र कुमार गुप्ता बेच्दा पनि जर्ती, फिर्ता लिँदा पनि जर्ती भनेर नहुने बताउँछन् । ‘पहिला हामी ७ प्रतिशत जर्ती र ५ प्रतिशत ज्याला गरेर १२ प्रतिशत लिन्थ्यौँ । सुन भन्दा बढी १२ प्रतिशत लिनु ठीक होइन भनेर हामीले ७ प्रतिशत मात्रै लिने भनेर भारी छुटका साथ अफर ल्याएका छौँ’, उनले भने, ‘हामीले अब जर्तीको केही नलिने निर्णय लिएका छौँ ।’
पारदर्शीरूपमा ज्याला भनेर मात्रै लिनुपर्ने भन्दै उनले रिद्धि सिद्धि ज्वलर्सले असार १५ गतेसम्म ७ प्रतिशत ज्यालामा नै सुनका गहना दिने र त्यसपछि पनि सहुलियतदरमै उपलब्ध गराइरहने गुप्ताले बताए ।‘ जर्ती र ज्याला भनेर जुन रकम लिने गरेका थियौँ त्यो हटाएर हामीले क्रान्तिकारी कदम उठाएका छौँ । यो उपभोक्तालाई शिक्षित गर्ने प्रयास पनि हो’, उनले भने, ‘९० लाल सुन दिने १० लाल जर्ती भन्ने अनि देखावटीमा अलिअलि ज्याला लिने होइन । एक तोला सुनका गहना किन्दा ७ प्रतिशत ज्वाला तिर्नुपर्ने हो । अरू कुनै जर्तीसर्ती हुँदैन ।’, उनले भने । सुनको बढ्दो मूल्य र बिहेको सिजनलाई पनि मध्यनजर गरेर आफूले यस्तो योजना ल्याएको भन्दै अब सबै व्यवसायीले यसै गर्नुपर्ने धारणा राखे ।
तर, गुप्ताको यो कदमविरुद्ध केही व्यवसायीले विरोध सुरु गरिसकेका छन् । सोहीअनुसार संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले विज्ञप्ति नै जारी गरेको छ । तर, गुप्ताले भने आफूले जनताको पक्षमा काम गरेकाले कसैले विरोध गर्दैमा फरक नपर्ने बताएका छन् । संयोजक विपिन रामुदामुद्वारा जारी विज्ञप्तिमा सुनको मूल्य अत्यधिक बढेकोले ज्याला र जर्ती अव जम्मा ७ प्रतिशत प्रतिशत मात्र लिने रिद्धि सिद्धिको निर्णयप्रति संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको पूर्णतया ध्यानाकर्षण भएको उल्लेख छ ।
यस्तो प्रकारको सस्तो लोकप्रियताका साथै क्षणिक आकर्षणका नाममा देशभरका २० हजार व्यवसायी र सरदर २.५ लाख कालिगडहरूको काम व्यापार व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पुग्ने विज्ञप्तिमा जिकिर गरिएको छ । यस्तै यो कार्यले आम व्यवसायी व्यवसायीबीचको भाईचारा सम्बन्धमा खलल, व्यवसायीक एकतामा अघात साथै व्यवसायी र कालिगडहरूको दैनिक रोजीरोटीमा नै प्रत्यक्ष प्रहार गरी व्यवसायीबीचको आपसी सद्भावमा आँच आउने र निकट समयमै यसको नकारात्मक असर महामारीको रूपमै फैलन समेत विज्ञप्तिमा ठहर गरिएको छ । यस कारण यस्तो निर्णय फिर्ता लिन समितिले आग्रह गरेको छ । तर, गुप्ताले यो निर्णय ग्राहकको हितमा रहेकाले ब्याक हुने कारण नै नरहेको बताउँदै आएका छन् । गुप्ताले सुनको भन्सार दर वृद्धिको समेत विरोध गर्दै आएका छन् । यस्तै नेपाल तथा रत्न आभूषणमा रहेको बेथितिको पनि उनले खुलासा गर्दै आएका छन्