सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संसदमा वैदेशिक रोजगारीबाट फर्किएकाको स्वास्थ्य परीक्षण व्यवस्था माग

सोमबार, जेष्ठ २१ २०८१

काठमाडौं(जस)–नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक गिरीले विदेशबाट काम गरेर फर्किएका नेपालीहरुलाई तीन महिनाभित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले मुलुकमा मृगौलाका कुल बिरामीमध्ये झण्डै ३० प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका नेपाली रहेको तथ्यांकहरुले देखाएको जनाए ।
‘त्यसैले म विदेशबाट फर्किएका नेपालीहरुलाई तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नुपर्ने भए उपचारको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ उनले भने ।
रेमिटान्सले नेपाली अर्थतन्त्र धानिइरहेको भए तापनि यसका लागि नेपालीले ठूलो मूल्य पनि तिर्नु परिरहेको उनले बताए । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको भएको उनको भनाइ छ । वैदेशिक रोजगार बोर्डका अनुसार विदेश पुगेका नेपाली श्रमिकमध्ये आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा मृत्यु हुनेको संख्या ५ प्रतिशत वृद्धि भएको छ भने २०७९/८० मा १ प्रतिशत घटेको छ । त्यस्तै, अंगभंग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८÷७९ मा ३१.९५ र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ । मृत्यु हुने श्रमिकको संख्यामा कमी आए तापनि अंगभंग हुने तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमै उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार