गण्डकीमा ‘परमादेशी सरकार’, पाण्डेद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठनकाठमाडौँ(जस)–सर्वोच्च अदालतको परमादेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएसँगै शपथ ग्रहण गरेर उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । त्यसअघि मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । समारोहमा प्रदेश प्रमुख भट्टले नवनियुक्त आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ र ऊर्जा जलस्रेत खानेपानी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापालाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराउ । मन्त्री थापा यसअघि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी बहन बनिसकेका हुन् ।
सर्वोच्चको फैसला बुधबार प्रदेश प्रमुखकको कार्यालयमा पुगेपछि आवश्यक प्रक्रिया अघि बढेको थियो । गण्डकी प्रदेशको यस कार्यकालमा चौथो पटक सरकार गठन भएको छ । सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतलाई असंवैधानिक ठहर गरेर ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चले नयाँ मुख्यमन्त्रीको रूपमा संविधानको धारा १६८को उपधारा ३ अनुसार सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेशसमेत जारी गरेको हो । गण्डकी प्रदेशमा नयाँ निर्वाचनपछि तीन पटक सरकार परिवर्तन भइसकेको छ । २०७९ मङ्सिरमा भएको निर्वाचन लगत्तै पुस २५ गते मुख्यमन्त्रीको रूपमा खगराज अधिकारीले शपथ लिएका थिए । उनी २०८० वैशाख १४ गतेसम्म मुख्यमन्त्रीको रूपमा रहे ।
लगत्तै नेपाली कांग्रेस संसदीय दलका नेता सरेन्द्र पाण्डे २०८० वैशाख १४ मा मुख्यमन्त्रीको शपथ लिए । उनी २०८० चैत २५ गतेसम्म मुख्यमन्त्रीको रूपमा रहे । २०८० चैत पछि नयाँ मुख्यमन्त्रीको रूपमा खगराज अधिकारी पुनः फर्केका थिए । तर उनलाई सोमबार सर्वोच्च अदालतले पदमुक्त गरिदियो । सर्वोच्चले गण्डकी प्रदेशको विवादमा दोस्रो पटक फैसला सुनाएको हो । यसअघि संयुक्त इजलासले पाण्डेले दायर गरेको रिट खारेज हुने फैसला सुनाउँदै अधिकारीलाई विश्वासको मत लिन दिएको थियो । तर विश्वासको मत लिने प्रक्रियामा संविधानको पालना नभएको भनी जिकिर गरिएको रिटमा भने अधिकारीको विपक्षमा फैसला सुनाएको हो ।
संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका पाण्डेले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, गण्डकी प्रदेशमा कांग्रेससँग २७ जना सांसद मात्र छन् । ६० सदस्यीय संसद्मा बहुमत जुटाउन उसलाई थप ४ सांसदको समर्थन आवश्यक हुन्छ । त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साथ आवश्यक छ भने अरू दुई सांसद पनि पु¥याउनुपर्ने छ । राप्रपासँग २ जना सांसद छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गर्दा पनि आवश्यक संख्या पुग्दैन । कांग्रेसले बहुमत पु¥याउनका लागि माओवादी केन्द्रबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाको समर्थन लिने प्रयास थालेको छ । यदि उनको समर्थन प्राप्त भयो र माओवादी केन्द्रले उनलाई कुनै कारबाही नगरेमा पाण्डेको सरकारले विश्वासको मत पु¥याउन सक्छ ।
यसैबीच गण्डकी प्रदेशका १२ अस्पतालमा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास स्थापना गरिने भएको छ । मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । ‘प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरूमा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास स्थापना तथा सञ्चालन गरिने छ,’ निर्णयमा भनिएको छ । यस्तै, स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति व्यवस्थापन गर्न न्यायिक सहजकर्ताको व्यवस्था गर्ने निर्णयमा पनि मुख्यमन्त्री पाण्डेले हस्ताक्षर गरेका छन् । ‘स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि २०८१ तर्जुमा गर्ने निर्णय गरिएको छ,’ निर्णयमा उल्लेख गरिएको छ ।
कोशीको मुद्दामा सुनुवाइ स्थगित
बुधबार कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दाको सुनुवाइ हुन सकेन । बुधबार नै न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारंगा सुवेदीको इजलासमा मुद्दाको पेशी तोकिएकामा स्थगितमा परेको थियो । जुन मुद्दाको सुनुवाइ अब एक सातापछि हुने बताइएको छ । त्कालीन मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा बहस गर्ने कानुन व्यवसायी धेरै भएको भन्दै इजलासले अर्कै दिनका लागि पेशी तोक्ने सल्लाह मागेपछि कानुन व्यवसायीले सहमति दिएका थिए ।
उक्त इजलासमा सर्वोच्च अदालत आफैँले दर्ता गरेको अदालतको अबहेलनामा बहस सक्न समय लाग्ने भएपछि स्थगित गरिएको हो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट दोस्रो नम्बरमा पेशी तोकिएको थियो । कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने कदम असंवैधानिक भएको जिकिर गरेका थिए । उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर उनले गरेका छन् ।