काठमाडौं(जस)–जसपा नेपालबाट फुटेर नयाँ बनेको जनता समाजवादी पार्टीले प्रमुख तीन कारणले पार्टी एक हुन नसकेको बताएको छ । जसपा नेपालको उपेन्द्र यादव पक्षले नयाँ पार्टी बनाएका अशोक राईले फुटको औचित्य पुष्टि गर्न नसकेको टिप्पणी गरिरहेको बेला पार्टी फुटाउनुको तीन कारण बाहिर ल्याएको हो ।
राई नेतृत्वको जनता समाजवादी पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै वैचारिक सैद्धान्तिक, सङ्गठनात्मक र कार्यशैलीका कारणले पार्टी फुटेको दाबी गरेको हो । राईले पार्टी विभाजनको वैचारिक सैद्धान्तिक कारणमा उपेन्द्र यादवको कार्यशैलीमाथि नै बढी दोष दिइएको छ । जसअनुसार पार्टी घोषणा पत्र र विधानमा उल्लेखित सङ्घीय समाजवादलाई सोकेसमा थन्क्याई यादवले सामाजिक लोकतन्त्रको वकालत गर्ने गरेको जिकिर गरिएको छ ।
यस्तै पार्टीको सङ्गठनात्मक सिद्धान्त लोकतान्त्रिक अकेन्द्रिकरणको नीति भएपनि नेतृत्वबाट आन्तरिक लोकतन्त्रको अभ्यास नगरिएको जिकिर गरिएको छ । यस्तै विधानबमोजिम प्रदेशहरूको अधिकार प्रदेशलाई प्रयोग गर्न नदिई अकेन्द्रिकरणको सिद्धान्त उलंघन गर्ने काम भएकाले पनि पार्टीमा फुट आएको उल्लेख गरिएको छ ।
यस्तै सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको नीतिविपरीत हुने गरी अध्यक्षात्मक प्रणालीमा जस्तो एकल निर्णय गर्नुले अहिलेको अवस्था निम्तिएको फुटको साङ्गठनिक कारणमा उल्लेख छ । यस्तै सिद्धान्तमा सङ्घीय ढाँचाको पार्टी भन्ने तर व्यवहारमा केन्द्रीकृत रूपमा पार्टी चलाइनु तथा जिल्ला र पालिकासम्म अध्यक्षले हस्तक्षेप गर्नु पनि पार्टी विभाजन हुनुको अर्को कारण भएको राईको भनाइ छ ।
यस्तै राज्यसँग प्रदेशहरू स्वायत र अधिकारसम्पन्न हुनुपर्छ भनेर माग गरिएपनि पार्टीमा उल्टो गतिविधि हुनुले फुट निम्तिएको राईको भनाइ छ । अध्यक्षले पार्टीका सिनियर नेताहरू नभएको बेला आफू अनुकूलको निर्णय गरी विदेश भ्रमणमा जानु, पार्टीको केन्द्रीय कार्यकारिणी समितिले दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीमा जिम्मेवारी दिने पार्टी निर्णय गरेपनि विपरीत वन राज्यमन्त्रीमा शपथ ग्रहण गराउनुले समेत पार्टीमा समस्या उत्पन्न भएको फुटको कार्यशैली सम्बन्धी अर्को कारणमा उल्लेख छ ।
यस्तै पार्टी सरकारमा भएको बेला सम्बन्धित मन्त्रीलाई जानकारी नगराई मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूमार्फत आफू अनुकूलका काम गर्न निर्देशन दिने जस्ता कार्य उपेन्द्र यादवले गरेको राई पक्षको भनाइ छ । पत्रकार सम्मेलनमा राईले ४६.६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे । राईले पार्टी फुट्नु रहर नभई बाध्यता भएको बताए । अन्याय धेरै दिनसम्म सहन नसकेर अलग भएको उनको भनाइ थियो । उनले निर्वाचन आयोगजस्तो संस्थाले सबै अध्ययन गरेर आफूहरूको दल दर्ता गरेको पनि बताए । ‘यदि चित्त बुझेको छैन भने अदालतको ढोका खुला छ’, उनको भनाइ थियो । उसो त यादवले पार्टीको बैठकबाटै अदालत जाने बताइसकेका छन् ।