काठमाडौं । लामो गृहकार्यपछि कतारका अमिर (राजा) नेपाल भ्रमणमा आउने निश्चित भएको छ । गत वर्षदेखि नै उनी नेपाल भ्रमणमा आउने चर्चा हुँदै आएपनि यो वैशाखमा भने उनी आउने निश्चित भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार कतारका सरकार अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने निश्चित भएको हो । उनी यही ११ र १२ गते नेपाल आउने तय भएको हो । सो भ्रमणलाई महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा तयारी चलिरहेको बताउँदै औपचारिक मिति छिट्टै घोषणा हुने बताए ।
अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा छावा उपहार दिने तयारी गरिरहेको छ । कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकालले यो दुई देशबीचको सम्झौताको कुरा भएको भन्दै यसको बारेमा आफूहरूलाई कुनै जानकारी नआएको बताए । मन्त्रीपरिषद्ले केही निर्णय गरेपछि यस विषयमा प्रक्रियाहरू अगाडि बढ्ने उनले बताए ।
त्यस्तै दुई देश बिच विकास साझेदारीलगायत एजेन्डामा छलफल भइरहेको छ । नेपालस्थित कतार दूतावासका प्रतिनिधि र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेको मन्त्रालयले जनाएको छ । कतारबाट एउटा सरकारी टोली आएको छ भने त्यसले एजेन्डा लगायतका विषयमा छलफल गरेको बताइएको छ । अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका लागि सम्झौताका मस्यौदाहरू आदान प्रदान भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । भारत र चीनले कूटनीतिक कर्मचारीलाई दिने तालिम जस्तै कतार र नेपाल बिच पनि सम्झौता हुने बताइएको छ । कतारको प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ । नेपालमा हुने सम्झौतालाई आउने सहयोग कतारको ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी) मार्फत् आउने बताइएको छ । नेपालमा यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन । यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुने बताइएको छ ।
सम्झौता भयो भने कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ, कतिपय टुंगिसकेका छन् भने कतिपयमा अझै छलफल चलिरहेको छ ।
कतार नेपालीहरूको प्रमुख वैदेशिक रोजगारको मुख्य गन्तव्य मध्येको एकको रूपमा रहेको छ । २६ लाख हाराहारी जनसङ्ख्या भएको खाडीको सानो मुलुकका रूपमा रहेको कतारको कूल क्षेत्रफल ११ हजार ५७१ किलोमिटर मात्रै छ ।
भौगोलिक रूपमा सानो भए पनि प्राकृतिक ग्यासको अपार भण्डारण रहेको कतारको कूल गार्हस्थ्य उत्पादन७९ बिलियन अमेरिकी डलरभन्दा धेरै छ । जुन, विश्वको ५५औँ ठुलो अर्थतन्त्र हो । मित्रराष्ट्र भएर पनि कतारबाट नेपालले वैदेशिक रोजगारको मुख्य मध्येको एक गन्तव्य बाहेकको अन्य आर्थिक लाभ लिन नसकेको तथ्याङ्कले देखाउँछ । रोजगारतर्फ भने नेपालबाट करिब ३ लाख नेपाली कतार पुगेको अनुमानित तथ्याङ्क छ, जसबाट वर्षेनी अर्बौँ रेमिट्न्यास आप्रवाह भइरहेको छ । कतारका लागि नेपालका राजदूत डा नरेशविक्रम ढकाल नेपालले कतारबाट ठुलो मात्रामा आर्थिक लाभ उठाउनै नसकेको बताउँछन् । कतारी शेखको सम्भावित नेपाल भ्रमणले नेपालमा कतारको वैदेशिक लगानी भित्रिने सम्भावना बढ्ने उनको भनाइ छ ।
‘कतारबाट नेपालले लिन सक्ने फाइदा भनेको तेल र ग्यासबाट हो,’ एनआरएनए अभियन्ता आरके शर्माले भने, ‘यसबाहेक, कतारबाट सयौँ बिलियन डलरको ‘स्टार्टअप फण्ड’ स्थापना गरेको छ ।’ यस्तै, कतार एयरवेजले नेपालमा सबैभन्दा धेरै उडान भर्दै आइरहेको छ । एयरवेजसँग छलफल गरेर उडानको कार्गोमा ५० प्रतिशतसम्म सहुलियत लिँदै नेपालबाट कृषिजन्य वस्तु निर्यातमा पहल गर्नुपर्ने शर्माको भनाइ छ ।