काठमाडौं । उनको दायाँ हातमा लेखिएको छ– ॐ । तर, उनको मनमा अल्लाह (इस्लाम वा मुसलमानहरुको ईश्वर) को बास छ । अर्को रोचक, उनी अक्सर ढाका टोपी छुटाउँदैन् । अनुकूल मिलेसम्म उनी नेपाली दौरा सुरुवाल लगाउन रुचाउँछन् । कतारको राजधानी दोहाका गल्लीगल्लीमा नेपाली पहिचान झल्काउन पाउँदा उनलाई गर्वको अनुभूति हुन्छ । उनको वास्तविक नाम खगबहादुर खत्री । तर उनलाई सो नामको कुनै मोह छैन, उनमा मोह छ त ‘यासिन मामा’ प्रति । त्यसैले त कतारमा ‘खगबहादुर खत्री’ गुमनाम हुँदा यासिन मामा भने प्रवासी नेपालीहरुमाझ प्रिय र परिचित छन् । प्रवासी नेपालीलाई समस्या पर्दा होस् या दिनदुखीलाई सेवा गर्ने अनेकन कार्यक्रममा किन नहोस् खगबहादुर खत्री उर्फ ‘यासिन मामा’ अघि सरिहाल्छन् । नेपाली समुदायसँग घुलमिल र उनीहरुसँगै सुखदुःखमा हातेमालो गर्दै यासिन मामाले दोहामा बिताएको दुई दशक बितिसक्यो ।

नवलपरासीको कावासोतीका ५२ वर्षीय ‘यासिन मामा’ खासमा हिन्दु परिवारमा जन्मिए । समय परिस्थितिसँगै युवाबयको उत्तरार्धतिर इस्लाम धर्मतिर लागे । तर, उनमा न धर्मप्रति कुनै घमण्ड छ, न कुनै वैरभाव । आफ्नो स्वच्छा र ज्ञानको आधारमा आफूले धर्म परिवर्तन गरेको उनी बताउँछन् । उनको जन्म बागलुङमा एक हिन्दु परिवारमा २०२८ सालमा भएको थियो । भविष्यको खोजीमा परिवार बसाइँ सरेपछि उनीपनि बाल्यकालमै परिवारसँगै बर्दघाट झरेका थिए । त्यहीँ कक्षा १० सम्म पढेपछि भविष्यको खोजीमा उनी विदेशिएका थिए । कामकै सिलसिलामा यासिन मामा सन् १९९६ मा कुवेत पुगे । त्यसपछि कतार । सन् २००० मा पहिलो पटक कतारमा पाइला टेकेका उनी अझै कतारमै संघर्ष गर्दैछन् । विदेशिनु अघि यासिन मामा नेपालमा कम्युनिस्ट कार्यकर्ता पनि बने । सामाजिक काम पनि खटिए । अझैपनि उनमा कम्युनिस्टप्रतिको मोह सकिएको छैन । त्यसैले त उनी अहिले कतारमा नेकपा एकीकृत समाजवादी निकट प्रवासी एकता मञ्चमा आबद्ध रहेर क्रियाशील रहेका छन् । साथसाथै दुई दशकदेखि एनआरएनए अभियानमा पनि छँदैछन् ।
सुरुका केही वर्ष निजी क्षेत्रमा कार्यरत यासिन अहिले दोहाको विद्युत प्राधिकरणमा सरकारी जागिरे छन् । ‘सन् ००९ तिर कतारी पुलिसमा अप्लाइ गरेँ । सँगसँगै कतारको सरकारी विद्युत प्राधिकरणमा पनि अप्लाइ गरेको थिएँ’, उनले भने, ‘दुबैमा नाम निस्कियो । पहिला विद्युत प्राधिकरणमा काममा बोलाइएपछि त्यही काम गर्न थालेँ ।’ हालपनि त्यही प्राधिकरणमा कार्यरत उनको जिन्दगीको गाडी आनन्दसँग हुँइकिइरहेको छ । साथसाथै नेपाली समुदायको सेवा र नेपाल चिनाउने अभियान चलिरहेकै छ । ‘८ घण्टा म घरकै लागि अर्थात आफ्नो लागि काम गर्छु । र, ८ घण्टा सोसल वर्क । योबीचमा समाजको लागि काम गरिरहेको हुन्छु’, उनी भन्छन्, ‘मैले भनेर गरेर हुनेसम्मका सबै काम देश र समुदायका लागि गर्न चाहान्छु ।’

हातमा ॐ र अल्लाहको कथा
खगबहादुर यासिन बनेको ००७ देखि हो जतिबेला उनले जन्मजातै हिन्दुको विरासत छाडेर मुस्लिम धर्म रोजेका थिए । आखिर किन उनी धर्म परिवर्तन गर्न लालायित बने त ? कतारको दोहास्थित डिप्लोम्याटिक क्लबमा आयोजित नेपाली समुदायकै कार्यक्रममा भेटिएका उनले धर्मसम्बन्धी अनेक ग्रन्थहरु अध्ययनपछि आफूले स्वविवेकले इस्लाम धर्म रोजेको बताए । उनका अनुसार २००४ मा इराकमा १२ जना नेपालीको विभत्स हत्या भयो । ‘जुन घटनाले हिन्दु मुस्लिमबीच द्वन्द्वको स्थिति देखिएपछि मलाई गम्भीर बनायो’, उनी भन्छन्, ‘अनि धर्मका के छ त भनेर मैले ४ देखि ७ सम्म धर्मसम्बन्धी अनेक ग्रन्थहरु अध्ययन गरेँ । जसले जे मानेपछि ईश्वर एकै हुन् भन्ने बोध भयो ।’ सँगसँगै अल्लाहप्रति विश्वास जागेर आएपछि आफू मुस्लिम बनेको उनको भनाइ छ ।
उनले झ्याप्प दाह्री पालेका छन् । तर, उनको शरीरमा अझै हिन्दुत्वका प्रतिकहरु बाँकी नै छन् । न उनले त्यसलाई मेटाउन चाहेका छन्, न उनलाई कुनै पश्चाताप नै छ । त्यसैले त उनी अहिले दोहाका मस्जिदहरुमा दायाँ हातको ॐ आकाशतिर फर्काएका आफ्नो मनको अल्लाह खुसी बनाउन जमिततिर निहुरिइएर नमाज पढिरहेका हुन्छन् । उनले हातमा ॐ सन् १९८५ मा भारतमा जाँदा लेखाएका थिए । त्यतिबेला उनका दाइहरु भारतमा बस्थे । सोही कारण उनको दिल्ली आउजाउ हुन्थ्यो । सोही क्रममा दिल्लीस्थित लालकिल्लामा जाँदा ॐ शब्द निराकार रहेको र यसको अर्थ वृहद भएको बताएपछि आफूले हातमा ॐ को टाटु खोपाएको उनको भनाइ छ । उनले धर्म परिवर्तन गरेपनि सुरुवामा परिवारले भने सहज लिएन । सुरुमा श्रीमती बेस्सरी रिसाइन् । पछि एकै धर्म माने । ‘तीन वर्षजति मलाई घरतिरबाट धेरै गाह्रो भयो । प्रेसर भयो । तर, भावनाले जित्ने कुरा हो’, उनले भने ।

पाँच दाजुभाइका साइँला उनी सबै दाजुभाइतर्फको गरी ७० जनाको परिवारमा कुनै असहज वातावरण नभएको बताउँछन् । ‘सुरुमा मन दुखाउने अवस्था पनि बनेको हो । तर, अहिले त्यस्तो केही छैन । आफन्तहरुको सहयोग छ’, उनी भन्छन् । अहिले जम्बो परिवारमा जसले जे धर्म मानेपनि एकअर्कालाई सम्मान र सद्भावको वातावरण रहेको उनको भनाइ छ । यासिन आफू धार्मिक दृष्टिकोणमा अहिले खुसी रहेको बताउँछन् । ‘सबैले धर्म मान्न स्वतन्त्र छन् । सबै धर्मलाई मेरो उत्तिकै सम्मान छ’, उनी भन्छन् । उसो त कतारमै पनि उनी नमाज पढ्न मस्जिद जाँदा कतिपयले हातमा ॐ किन लेखेको भनेर पनि प्रश्न गर्छन् । उनी आफ्नो वास्तविकता बताउँछन्, कोही खुसी हुन्छन् त कोही आश्चर्यचकित ‘हरेक धर्ममा केही राम्रा केही नराम्रो मान्छे हुने नै भए । राम्रो ज्ञान भएको मान्छे ॐ देखेर यो अरु धर्मबाट हाम्रोमा आएछ भनेर खुसी हुन्छन’, उनी भन्छन्, ‘कसैलेचाहिँ नमाज पढ्दा पनि राम्रो हुँदैन भन्छन् । तर हिजो के गर्यो गरेन भनिनुको अर्थ हुँदैन जस्तो मलाइ लाग्छ ।

उनले सानोमा श्रीस्वस्थानी बाचन गरे । उनी हिन्दु हुँदैमा बाबुआमा बिते, काजकिरीया गरे । हरेक हिन्दु धार्मिक क्रियाकलाप सामाजिक नियमअनुसार गरे । फरक बाटोमा लागेका उनी यी सबै चिज सम्झनामा साँचेर राखेको बताउँछन् । उनका अनुसार धर्मलाई एक कुनामा राखेर हेर्ने हो भने सबैभन्दा इज्जत भनेको कर्मले हुने हो । उनी भन्छन्, ‘कतार संसारकै युनिकमध्येको एउटा देश हो । यो धनी पनि छ । यहाँ धर्म, जात जे भएपनि केही फरक पर्दैन । यहाँ कर्म (सिप) जसले जानेको छ । उसलाई इज्जत गरिन्छ ।’
मामा शब्दप्रतिको मोह
कुरानमा यासिन भन्ने एउटा सुरा छ, त्यसलाई दिल भनिन्छ । उनी आफूलाई दिलदार मान्छन् । यासिनले आफ्नो मामालाई जम्मा एक पटक देखे । त्यसपछि कहिल्यै देखेनन् । त्यसैले उनलाई ‘मामा’ शब्द निकै प्रिय लाग्छ । त्यसैले उनले जोकोहीलाई भान्जाभान्जीको सम्बोधन गर्छन्, उनलाई मामा अर्थात ‘दिलदार मामा ।’ कतारका साझा मामा । कतारदेखि फैलिँदै देशविदेशका उनलाई चिन्नेहरुको मामा । ‘अहिले संशसरभर मलाई चिन्नेहरुले मामा भन्दा एकदम गर्व फिल हुन्छ’, उनी भन्छन्, ‘मायाको कुरा गर्दा रगतको नाता भन्दा भावनाको नाताले पनि उस्तै गरेको पाइन्छ । एउटा खुनी नाता हुन्छ अर्को भावनात्मक नाता हुन्छ । म भावनाको मामा । भावनाका मेरा भान्जाभान्जी ।’
साइकलसँगको प्रेम
यासिन मामा आफूलाई विश्व साइकलयात्रीको रुपमा समेत चिनाउन चाहान्छन् । साइकलमा घुम्ने लहडमै उनी विश्वका दुई दर्जन भन्दा बढी देश पुगिसकेका छन् । साइकलमा राष्ट्रिय झण्डा टाँसेर नेपाली पहिरनमा उनी एसिया, युरोप र अफ्रिकाका विभिन्न देश घुमिसकेका छन् । सन् २००० मा विश्व साइकलयात्री लक्ष्मण सापकोटासँग भेट भएपछि अरु साथीहरुसँग मिलेर कामबाट फुर्सद मिलाउँदै साइकलमा विश्व यात्रा गर्दै आएको उनी बताउँछन् । साइकल यात्राको उद्देश्य विश्व शान्ति र भ्रातृत्व भएको उनको भनाइ छ ।

‘नेपाल बहुजाती, बहुधार्मिक र संसारको भन्दा फरक कल्चरको देश हो’, उनी भन्छन्, ‘नेपालसगरमाथा र गौतमबुद्धको देशपनि हो यात्राका क्रममा यो देशलाई चिनाउन धेरथोर भूमिका खेलेको छु ।’ यात्राका क्रममा अनेक दुःखकष्टसमेत भोग्नुपरेपनि आनन्द मिलेको उनको भनाइ छ । उनले साइकलमै घुम्ने योजनाअनुसार छिट्टै अस्ट्रेलिया र अमेरिकामा जाने योजना बनाएको पनि बताए । सन्तान (दुई छोरा एक छोरी) सबै आफ्नो खुट्टामा उभिन सक्ने भइसकेका छन् । खाडीको परिश्रमबाट आफूलाई स्थापित गरेका उनी समाज सेवामै सक्रिय छन् । आगामी दिनमा समयले साथ दिए केही गरीब विद्यार्थीलाई पढाउने उनको योजना छ । समय मिलेमा सगरमाथा चढ्ने योजना रहेको उनी भन्छन्, ‘साइकलमा विश्व फन्को लगाउने काम त गरिनै रहनेछु ।’
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij