काठमाडौं(जस)–सरकारले ६ देशको लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस गरेको हो । राजदूतको लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव रहेका छन् । जसअनुसार अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ ।
थापा बेल्जियमका लागि नेपालका पूर्वराजदूत हुन् भने अहिले मन्त्रालयमा उत्तरपूर्वी एसियाका महाशाखा प्रमुखका रूपमा कार्यरत छन् । उनीबाहेक बाँकी ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका छन् । जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदीलाई सिफारिस गरिएको छ । प्रोटोकल डिभिजनका प्रमुख सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ । यस्तै, प्रशासन प्रमुख धनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस गरिएको छ । सहसचिव तेजबहादुर क्षेत्रीलाई यूएईको राजदूतमा सिफारिस गरिएको छ । सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूत सिफारिस भएका छन् ।