काठमाडौं । मन्त्रालयको कार्यभार सम्हालेको दुई महिना पुगेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेको कामको उपलब्धि सार्वजनिक गरेका छन् ।
आज (सोमबार) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले दुई महिनामा स्वास्थ्य मन्त्रालयमा आफूले गरेको कामको उपलब्धि सार्वजनिक गरेका हुन् । संघीय सरकारी अस्पतालमा ३,५२३ जनरल शैय्या सर्वसाधारणलाई निःशुल्क दिने घोषणाका साथै कार्यान्वयन भएको,पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भइरहेको, बेलायत, कतार, रुस र स्विट्जरल्यान्डका राजदूतसँग भेटेर स्वास्थ्य सहयोगका विषयमा छलफल भईरहेको,पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप सुरुवात तथा संचालन कार्यविधि स्वीकृत गरेको विषय उपलब्धीका रुपमा मन्त्री बस्नेतले समेटेका छन् ।
१६ वर्षदेखि नीतिगत बहसमा रहेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०—२०९०) मन्त्रिपरिषदबाट स्वीकृत भएको, नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/८०–२०८७/८८) मन्त्रिपरिषदबाट स्वीकृत भएको लगायतका विषयलाई उनले आफूले यस अवधिमा गरेको कामको उपलब्धि भनेका छन् । यस्तै ग्लोबल फण्ड अन्तर्गत क्षयरोग, मलेरिया र एचआईभी एड्स अन्तर्गत प्राप्त हुने ६१ मिलियन डलर अबदेखि सिधै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत ल्याएर खर्च गर्ने निर्णयलाई पनि आफ्नो उपलब्धिमा समेटेका छन् ।