दोहा , कतारमा ३ लाख ६४ हजार नेपाली श्रमिक कार्यरत रहेको पाइएको छ । आधिकारिक तथ्यांकअनुसार सो संख्यामा नेपाली कामदार कार्यरत रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
कतारका लागि नेपाली राजदूत डा नरेश विक्रम ढकालले कतार सरकारको आधिकारिक तथ्यांकअनुसार विभिन्न क्षेत्रमा ३ लाख ६४ हजार ३८९ जना श्रमिक कार्यरत रहेको नेपालबाट मध्यपुर्वको अध्ययन भर्मणमा आएका पत्रकारहरुलाई बताए । उनका अनुसार कार्यरतमध्ये पुरुषको संख्या ३ लाख ४८ हजार ८३४ र महिलाको संख्या १५ हजार ५५५ जना रहेको छ ।
कतारमा कार्यरत श्रमिकको मासिक १ हजार रियाल तलब हुने गरेको छ । यस्तै कतिपय दक्ष नेपाली श्रमिकले आकर्षक तलब खाने गरेका छन् ।
कतारमा निर्माण, होटल–रेस्टुरेन्ट, सुपरमार्केट, सेक्युरिटीसहित विभिन्न क्षेत्रमा नेपाली श्रमिकहरुले काम गर्ने गरेका छन् । यस्तै विभिन्न सरकारी निकाय, अर्धसरकारी र निजी क्षेत्रमा श्रमिकले काम गर्दै आएका छन् ।
दूतावासका अनुसार कतारको विभिन्न सरकारी निकायमा ९ हजार ४०९ जना श्रमिक कार्यरत रहेका छन् । यस्तै अर्धसरकारी निकायमा ४ हजार ५४३ जना र निजी क्षेत्रमा ३ लाख ४६ हजार ६६४ जना श्रमिक कार्यरत रहेका छन् ।
यस्तै अन्य क्षेत्रमा ३ हजार ७७३ जना कार्यरत रहेको पनि कतारी सरकारलाई उदृघ गर्दै दूतावासले जनाएको छ ।
रोजगारदाता कम्पनीले प्रतिबद्धताअनुसार तलब भुक्तानी नगर्ने समस्या कममात्रै आउने गरेको दूतावासको भनाइ छ । केही समस्या आएको खण्डमा दूतावासले समाधानका लागि पहल गर्दै आएका छ ।
राजदूत ढकालका अनुसार श्रमिकहरु जतिपनि समस्या लिएर आउने गरेका छन् उनीहरुको समस्या समाधानका लागि दूतावासले जुनसुकै बेला पनि गुनासो सुन्ने व्यवस्था गरेको छ । रोजगारीका लागि कतार पुग्दा श्रमिककै तर्फबाट पनि कतिपय कमजोरी देखिने गरेको उल्लेख गर्दै उनले सबै बुझेर मात्रै जानुपर्नेमा जोड दिए । कतारमा कुनै श्रमिकको लागि ३ महिनाको परीक्षणकाल हुने गरेको छ । सोही आधारमा श्रमिकलाई त्यहाँको रोजगार कम्पनीले व्यवहार गर्ने बताइएको छ ।
राजदूत ढकालले कुनै पनि नेपालीलाई समस्या परेको खण्डमा आफूलाई २४ सै घण्टा सम्पर्क गर्न सकिने बताए । ‘राजदूतसँग भेट्न कुनै समस्या छैन । जतिसुकै बेला पनि सम्पर्क गर्न सकियोस् भनेर वेबसाइटमा नै नम्बर राखिएको छ’, उनले भने, ‘कर्मचारीहरु सीमित भएपनि हरसमस्याको समाधान गर्न हामी लागिपरेका छौँ भने कामकारबाहीबारे टीममा बसेर समीक्षा पनि गर्ने गरिएको छ ।’

साथसाथै नेपाली समुदायसँग सहकार्य गरेर दूतावासले कामकारबाही गरिरहेको बताए । कतारमा एनआरएनएबाहेक विभिन्न १६० वटा जति नेपाली संघसंस्था रहेका छन् ।
कतारमा श्रमिकबाहेक १ हजारको हाराहारीमा सानाठूला नेपाली व्यवसायी समेत रहेका छन् । जसमा १०० को हाराहारीमा आबद्ध रहेको नेपाली व्यवसायी संघ समेत स्थापना गरिएको छ ।
उच्चस्तरीय भ्रमणको सम्भावना
कतारमा नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्दै गइरहेका छन् भने त्यहाँको विकास र समृद्धि नेपाली श्रमिकको भूमिका छ । यसैवर्ष सम्पन्न विश्वपकको पूर्वाधार निर्माण कार्यमा ठूलो संख्यमा नेपाली श्रमिक खटिएका थिए ।

दुई देशबीचसको सम्बन्ध सुमधुर रहेपनि दुबै देशबाट उच्चस्तरीय भ्रमण भने हुन सकेको छैन । राजदूत डा ढकालले कतारको तर्फबाट उच्चस्तरीय भ्रमणका लागि निरन्तर पहल भइरहेको बताए । उनले सन् २०२३ भित्र कुनै नतिजा आउन सक्नेमा आशा व्यक्त गरे । ‘हाम्रो तर्फबाट उच्चस्तरीय भ्रमणका लागि निरन्तर पहल भइरहेको छ । आशा गरौँ २०२३ भित्रै कुनै नतिजा आउनेछ’, उनले भने। भ्रमणको नतिजा एकै पटक नआउने भएकाले नेपाल सरकारको तर्फबाट निरन्तर पहलकदमी भइरहेको उनको भनाइ छ । कतार नेपालमा लगानी इच्छुक भएपनि नेपालको तर्फबाट नै स्पष्ट योजना र पहल कदमी हुनुपर्ने सरोकारवालाको भनाइ छ ।
