शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

मंगलबार, असार १९ २०८०

काठमाडौँ(जस)–सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने निर्णय गरेको छ । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले कोशी प्रदेशमा पनि केन्द्रमा रहेको गठबन्धनकै सरकार गठनका लागि पहल गर्ने र मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता थापालाई अघि सार्ने निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बैठकमा कोशी प्रदेशको मुख्यमन्त्रीको विषयमा कांग्रेस र माओवादी केन्द्रको दाबी देखिएको तर ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउन सल्लाह दिएको जानकारी दिएका छन् । ‘अहिलेको गठबन्धनभित्र कोशीमा सबैभन्दा ठूलो दल कांग्रेस नै हो । कांग्रेसलाई मुख्यमन्त्री दिएपछि बाँकी मन्त्रालय कसलाई दिने ? कसरी विश्वासको मत जुटाउने ? त्यो क्रमशः अघि बढ्छ,’ उनले भने ।
उनले बैठकमा राप्रपा समेतलाई लिएर नयाँ सरकार गठनमा अघि बढ्ने विषयमा समेत छलफल भएको जानकारी दिए । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहतिको गठबन्धनले नयाँ सरकार बनाउने कसरतमा छन् । आइतबार मात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपराह्न ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । तर मुख्यमन्त्री कांग्रेस वा माओवादी केन्द्र कसले लिने भन्ने विषयमा प्रदेशमा सहमति जुटिरहेको छैन । केन्द्रबाट भने गठबन्धनले कांग्रेसका प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्न सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार