काठमाडौं(जस)–नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ । ‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको विभागको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस सरकारले गरेका राम्रा कामबारे जनतामाझ पु¥याउने निर्णयसमेत भएको छ । ‘विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने’ निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।
विभागले आफ्नै वेबसाइट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने पनि निर्णय गरेको छ । ‘हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने’ निर्णयसमेत विभागको छ । विभागको कामलाई प्रभावकारी बनाउन निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय पनि भएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय खुला रुपमा पार्टी सभापति शेरबहादुर देउबा र उनको नेतृत्वबारे सार्वजनिक रुपमै विरोध गर्दै आएका छन् । थापाले सभापति देउबाको नेतृत्वका कारण कांग्रेस कमजोर बन्दै गएको भन्दै देउबाले राजीनामा दिएर पार्टीलाई अगाडि बढाउन ठाउँ खाली गर्नुपर्ने बताउँदै आएका छन् ।
यसै सन्दर्भमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गर्नुलाई थापालगायत देउबाको कार्यशैलीमाथि टीप्पणी गरिरहेका कांग्रेस नेताहरुमाथि बन्देज लगाउने प्रयासका रुपमा देउबाइतर पक्षले लिनसक्ने ठानिएको छ । कांग्रेस सभापति देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री थापा नराम्ररी पराजित भएका थिए । त्यसपछि संस्थापन इतर समूह छिन्नभिन्न भएको.र पार्टीमा आफ्नो पकड जमाउन महामन्त्री थापा निरन्तर पार्टी नेतृत्वको आलोचना गरिरहेको देउबा पक्षको बुझाई छ ।