काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको १०० किलो सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । तस्करीको १०० किलो सुन बरामद हुनु भन्दा केही समयअघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए ।
उनको यात्रा शंकास्पद देखिएपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यही क्रममा उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो । बुधबार नै तस्करीका संलग्न रहेको आशंकामा सुरेन्द्र तामाङ पक्राउ परेका छन् । विभाग स्रोतका अनुसार अडुकिया भने भागिसकेको आशंका छ । १०० किलो सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका छ । यो विषयमा विभागले अनुसन्धान गरिरहेको छ ।
अडुकिया यो भन्दाअघि गोरखा विकास बैंकको घोटालामा पनि जोडिएका व्यक्ति हुन् । उनी शेयर कारोबारका समेत उनी विवादस्पद पात्र हुन् । यसअघि नै विभागको निगरानीमा परेका व्यापारी अडुकिया पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखाउँछ । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिन्छ । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको देखिन्छ । त्यसैले विभागले उनलाई शंकाको घेरामा राखेर बुधबार उनको घरमा छापा मारेको हो ।
सोह्रखुट्टेस्थित एक घरबाट ६६ कार्टुन ‘ब्रेक शु’ बरामद
राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन बरामद गरेको छ ।
बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो।
भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ । ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ ।

सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ
सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ परेका छन्। एक क्वीन्टल सुन तस्करी प्रकरणमा दोषि रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो।
उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो।