शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपालमा सुन तस्करीका लागि हब बन्यो हङकङ, सय किलो पक्राउ परेपछि हङकङमै रोकियो डेढ सय किलो

सोमबार, साउन ८ २०८०

हङकङ(जस)–नेपालमा गत बुधबार पक्राउ परेको सुन हङकङबाट नेपाल ल्याइएको पुष्टि भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर गन्तव्यतर्फ लैजान लागेको करिब १ सय किलोग्राम सुन बुधबार राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।
अहिले यो तस्करी प्रकरणबारे छानविन समिति नै गठन गरेर विभागले अनुसन्धान गरिरहेको छ र अहिलेसम्म १६ जना यो प्रकरणमा पक्राउ परिसकेका छन । तस्करी प्रकरणमा भरिया र एजेन्ट पक्राउन परेपनि यो प्रकरणमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न रहेको पछिल्लो घटनाक्रमले देखाएको छ । विमानस्थलमा रहेको भन्सार कार्यालयबाट बाहिरिएको उक्त सुन हङकङबाट नेपाल ल्याएर यहाँबाट भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर भारत लैजाने क्रममा विमानस्थल बाहिरबाट समातिएपछि नेपालमा अवैध सुनको कारोबार गर्नेमाथि अनुसन्धान शुरू गर्ने विभागले बताएको छ ।
हङकङ नेपालमा सुन तस्करीका लागि हब बनिरहेको समयमा नेपालमा सय किलो सुन पक्राउ परेपछि अहिले भने सय किलो सुन भने हङकङमै रोकिएको छ । हङकङका नेपाली रोशन लिम्बूले हङकङकै सिपिङ कम्पनी क्यारी अन ग्लोबल लजिस्टिक्स लिमिटेडबाट नेपालमा विभिन्न मितिमा अन्य सामानका नाममा सुनको तस्करी गरेको स्रोतले बताएको छ । पछिल्लो समय भने लिम्बुले सो कामका लागि हङकङकै करिब ३० वर्षीया युवती मिस लीलाई खटाएको देखिएको छ । यो समूहमा अन्य चिनियाँ पनि जोडिएका थिए ।
हङकङको सिपिङ कम्पनीकोे भुक्तानी रसिदहरुबाट करिब एक वर्षमा कम्तीमा ३५ पटक नेपालमा शंकास्पद सामानहरू एउटै खालको प्याकिङमा सिपिङ भएको देखिन्छ । यो कारोबार अन्तर्गत एक पटकमा १५५ किलोसम्म तौलका सामानका बक्स प्रत्येक महिना दुईदेखि चार पटकसम्म हङकङबाट काठमाडौंका लागि सिपिङ भएको भेटिएको छ ।
हङकङबाट क्यारी अन ग्लोबल लजिस्टिक्स लिमिटेडबाट सिपिङ भएका सामान काठमाडौंमा भने बुढानीलकण्ठमा कार्यालय रहेका रेडी ट्रेड प्रालि र दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, काठमाडौंकै माउन्ट एभरेस्ट ट्रेडर्स लगायत कम्तीमा आधा दर्जन कम्पनीले बुझेको कागजहरूबाट देखिन्छ । सामान अर्डर र चलानीका कागज, सामाजिक सञ्जालमा भएको कुराकानी र सिपिङ शुल्क तिरेको रसिदहरू हेर्दा मोटरसाइकलका पार्ट्स, इलेक्ट्रिक वाच लगायतका सामान नेपाल पठाएको देखिन्छ । काठमाडौंमा मोटरसाइकलको ‘ब्रेक शु’ मा सुन भेटिएबाट ती सामानभित्र सुन राखेर पठाइन्थ्यो भन्ने खुलेको छ । सिपिङ कम्पनीले हङकङ–काठमाडौं रुटमा उड्ने हङकङको क्याथे प्यासेफिक, हङकङबाट मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौं उड्ने मलेसियन एयरलाइन्सबाट सिपिङ गरेको पाइएको छ ।
नेपालमा हङकङबाट यति ठूलो मात्रामा सुन नेपाल हङकङकै पार्केस स्ट्रिटबाटै कारोबार हुने गरेको बुभmिएको छ । जुन स्ट्रिट आसपास नेपालीहरुको बाक्लो बसोबास छ । सिपिङ कम्पनीका प्रतिनिधिका अनुसार पार्केस स्ट्रिटको बिल्डिङ नम्बर १–११ पार्केस म्यान्सनबाट सबैभन्दा बढी सामान उठाएर विमानस्थल लगिएको थियो । यद्यपि बुधबार १ बजे काठमाडौंमा एक सय किलो सुन पक्राउ परेसँगै हङकङबाटे सिपिङ कारोबार रोकिएको बताइएको छ । काठमाडौंमा मंगलबार साँझ नै करिब सय किलो सुन बरामद भए पनि त्यो खबर बुधबार राति मात्रै सार्वजनिक भएको थियो । तर, काठमाडौंमा आफूले पठाएको सुन पक्राउ परेको चाल हङकङबाट मोटरसाइकलका पार्टस्को नाममा यसरी सुन पठाउने गिरोहले मंगलबार राति नै पाएको र त्यसपछि बुधबार काठमाडौं पठाउन ८ वटा कार्टुनमा प्याक गरिएको १५२ किलो शंकास्पद सामानको अर्को खेप मध्यराति रोकिएको सुत्रको दाबी छ ।
बुधबारको उडानबाट काठमाडौं पठाउन मंगलबार साँझ ७ बजे नै जोर्डन एरियाबाट ८ वटा कार्टुनमा प्याक गरिएको १५२ किलो सामान उठाइएको भएपनि बुधबार बिहान १ बजे अचानक मिस लीले कार्गो होल्ड गर्न भनेको र जुन बुधबार दिउँसो फिर्ता लगिएको सिपिङ कम्पनीका प्रतिनिधिले उल्लेख गरेका छन् । काठमाडौंमा आफैंले पठाएको करिब सय किलो सुन समातिएसँगै हङकङमा यो गिरोहले नेपाल पठाउन ठिक्क पारेको १५२ किलो सामान फिर्ता लिनुले त्यो पनि सुन नै थियो भन्ने प्रष्ट संकेत गर्छ । हङकङका चिनियाँ युवा मिस ली र नेपाली रोशन लिम्बु देखिएपनि उनीहरू शंकास्पद सामान पठाउने प्रतिनिधि मात्रै भएको र यति ठूलो मात्रामा अवैध रुपमा सुन कारोबार गर्ने व्यवसायी अरु नै कोही भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार