सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकार परिवर्तनको चर्चा निरर्थक, पाँचै वर्ष अहिलेकै गठबन्धन कायम रहने दाबी

आइतबार, असार १० २०८०

काठमाडौं(जस)–सत्तारुढ गठबन्धनका नेताहरुले अहिले सरकार परिवर्तनको चर्चा निरर्थक रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार नढल्ने दाबी गरे । उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको टिप्पणी गरे । आचार्यले सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि नभएको दाबी गरे । उनले भने, ‘एकथरी विद्धानहरुले भनेको सुन्छु की कांग्रेस सभापति शेरबहादुर देउवाजी सिंगापुरमा जानुभयो, सिंगापुरमा सरकार परिवर्तन गर्नेबारे सबै सोलोडोलो योजना बनिसके, त्यसको लागि कमा र फूलस्टप पनि काम बाँकी छैन भन्ने र उहाँ फर्किएपछि सरकार बन्छ भन्ने पनि हल्ला छ, तर यो सरकार फेरेर तात्विक फरक के हुन्छ ?’
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले वर्तमान सरकार परिवर्तन गर्ने आफूहरुको कुनै तयारी र योजना नरहेको स्पष्ट पारेका छन् । उनले कांग्रेस एमालेसँग मिलेर सरकार बनाउन लागिपरेको भन्न्ने कुरामा कुनै सत्यता नभएको भन्दै त्यसलाई हल्लाको संज्ञा दिए । यादवले वर्तमान सरकार बनाउनको लागि कांग्रेसकै भूमिका निर्णायक भएको भन्दै सरकार परिवर्तन गर्ने कुरा हल्ला र मिथ्या भएको टिप्पणी गरे । उनले भने,‘सरकार बनाउनको लागि कांग्रेसले निर्णायक भूमिका खेलेको छ । यो गठबन्धनको अभिभावक कांग्रेस हो । अहिले कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ, त्यसमा कुनै सत्यता छैन् । यो हल्ला हो । निराधार कुरा हो । यसमा कुनै सत्यता छैन् । यो मिथ्या हो । यो सरकार स्थायी छ । पाँचै वर्ष यही गठबन्धनको सरकार टिक्छ ।’
नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले नेपालमा कुनै दलको बहुमतको सरकार हुँदा पनि देशको समृद्धि र पुरै कार्यकाल सरकार सञ्चान हुन नसकेको बताउादै एक पार्टीलाई बहुमतप्राप्त हुँदा पनि पुरै समय सरकार सञ्चालन गर्न नसकेकाले गठबन्धनको संस्कृति अवलम्बन गर्न परेको बताए । ‘हिजो हामीले पाएको एक÷दुईवटा अनुभवहरु के छ भने यो देशमा बहुमतको सरकार बहुमतमात्रै हैन दुई तिहाईको सरकार नेपाली जनताले चलाउने मौका दिए । तर, त्यो झण्डै दुईतिहाई मतको सरकारले पनि काम चाहिँ गर्न सकेन, अवधि पूरा गर्न सकेन,’ उनले भने ।
२०४८ सालमा नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने मौका पाएपनि तीन वर्षमै ढलेको र २०६४ को संविधान सभाको निर्वाचनमा नेकपा (माओवादी) ले अत्याधिक मत ल्याएर सरकार बनाएपनि त्यो सरकार ७ महिना नहुँदै ढलेको उनले स्मरण गरे । नेपालको इतिहासमा एउटै पार्टीले बहुमत ल्याएको भएपनि बहुमतको पार्टीेले देश निर्माण र अवधि पुरा गर्न नसकेपछि गठबन्धन र मोर्चाको आवश्यकता अनुभूत भएको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जनतामाझ गरेको कबुलबाट बाहिर जान नसक्ने उनको भनाई छ । पाण्डेले मुलुकको समृद्धिका निम्ती यो गठबन्धन बनाएको र अहिलेको गठबन्धनमा तलमाथि गरेको खण्डमा जनताले छुट नदिने बताए ।
‘हामी पुराना राजनीतिक पार्टीहरु गठबन्धनमा आएका छौं । हामीले जनतामाँझ कबुल पनि गरेका छौं । हामी त्यो कबुलबाट गठबन्धनकारीहरु बाहिर जानसक्दैनौं । जनताले त्यो छुट अब हामीलाई दिँदैनन् । मुलुकको समृदिका निम्ती हामीले जनतासँग बाचा गरेका छौं,’उनले भने । अबको क्रान्ति देशको आर्थिक क्रान्ति भएको उनको भनाई छ । संविधानमा व्यवस्था गरिएको हक अधिकार प्रयोग गर्नका लागि मुलुक समृद्ध हुन आवश्यक रहेकोतर्फ औंल्याउँदै उनले सरकार बनाउने र भत्काउने खेलमा राजनीतिक अस्थिरता ल्याउन नहुने बताए । गठबन्धनको सरकारको मुख्य उद्देश्य मुलुकलाई समृद्धिको बाटोमा लाने भएको उनको दाबी छ ।
कांग्रेस महामन्त्री गगनकुमार थापातर्फ लक्षित गर्दै उनले गठबन्धनभित्रकै केही नेताहरुले आफ्ना नेतालाई गाली गर्ने र गठबन्धनप्रति गलत खालका सन्देश प्रवाह गर्ने काम गरेको गुनासो पोखे । स्थानीय तह निर्वाचनदेखि त्यो प्रवृत्ति अहिलेसम्म जारी रहेको र त्यसले अहिलेको सत्ता गठबन्धनमा कुनै समस्या सिर्जना नगर्ने पाण्डेले बताए । ‘अहिले अनेक खालका प्रचारहरु गरेर मुलुकमा अस्थिरता ल्याउने कोशिस भइराखेको छ । आफ्नै पार्टीका जिम्मेवार मानिसहरुले यो गठबन्धनको विषयमा अनेक खालका आलोचना गर्ने, अहिलेमात्र होइन, स्थानीय तहको निर्वाचनमासमेत उहाँहरु गठबन्धनको विरुद्धमा उत्रिनुभयो ।’ उनले थपे,‘आफ्नै नेताको अनेकखाले आलोचना गर्नुभयो । अहिलेपनि त्यो प्रवृत्ति हामीले देखिरहेका छौं । आलोचना गर्ने साथीहरु आलोचनमा रहनु भयो । यतातिर गठबन्धनले काम गरेको छ ।’
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अहिलेको अवस्थामा कुनै हालतमा पनि नढल्ने उनको दाबी छ । सरकार नढल्ने कुरामा ढुक्क रहन उनले सबैसमक्ष आग्रह गरे । ‘अहिले कुनै पनि नयाँ समीकरण बन्ने र गठबन्धन ढल्ने कुरा हुँदैन । यसमा ढुक्क भए हुन्छ,’– नेता पाण्डेले भने । बजेटमा रकमान्तरण हुनसक्ने तर तलमाथि नहुने उनको भनाई छ । बजेट पास हुने उनको दाबी छ । बजेटमा एक रुपैयाँ तलमाथि गरेको खण्डमा सरकार असफल हुने उनको भनाई छ । अहिले चार दलबीच बनेको समाजवादी मोर्चा कसैलाई तर्साउन, धम्काउन र प्रतिशोधका लागि नभएको उनको दाबी छ । मोर्चा एउटा विचारको साथ बनेको उनले बताए ।
नेता पाण्डेले मोर्चामा कसैले द्धिविधा लिनु आवश्यक नरहेको र मोर्चाले सरकारलाई कुनै असर नपारेर झन बलियो बनाउने बताए । मोर्चालाई देखेर कहालिएर आक्रोश नपोख्नसमेत उनले सबैसमक्ष आग्रह गरे । अहिले सत्ता गठबन्धन ढाल्ने खेल भइरहेकोतर्फ लक्षित गर्दै उनले खेल खेल्न बन्द गरेर देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय सहमतिमा आउन आग्रह गरे । नेता पाण्डेले संसद्को रोस्ट्रममा विरोधमात्रै गरेर देश नबन्ने भन्दै गालीगलौज र आलोचनामा नेताहरुले सुधार गर्न आवश्यक रहेको बताए । देश निर्माणका निम्ती राष्ट्रिय सहमतिको बाटो अवलम्बन गर्न उनले सबै दलसमक्ष आग्रहसमेत गरे ।
नेकपा (एमाले) का युवा नेता माधव ढुंगेल भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु कांग्रेस सभापति शेरबहादुर देउवाभित्र सत्ताको आकांक्षा नपलाउँदासम्म मात्रै भएको बताउँछन् । उनले अहिले कांग्रेसभित्र नेतृत्वको आकांक्षा पलाएको र अब यो सरकार ढल्ने संकेत गरे । ‘जबसम्म शेरबहादुर देउवामा प्रधानमन्त्री हुने आकांक्षा पलाउँदैन त्यतिबेलासम्म यो सरकार कायम रहन्छ । आज पनि त्यही हो । कांग्रेसभित्र सरकारको नेतृत्वको आकांक्षा जन्मनेवित्तिकै यो सरकार धरापमा पर्छ भनेर हामीले हिजो नै भनेका थियो । आज त्यही ठाउँमा परिस्थिति आइपुगेको छ । कांग्रेसले नेतृत्व गर्छु भन्नेवित्तिकै सरकार ढलिहाल्छ नि । यो सरकार कांग्रेसको आकांक्षामा भर पर्छ,’उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार