काठमाडौं(जस)–नेपालमा यस वर्षको मनसुन प्रणाली एक दिन ढिला गरी बुधबारबाट भित्रिएको छ । कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, वाग्मती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन प्रणाली आगमन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
यस वर्षको मनसुन सरदर मिति भन्दा एक दिन ढिलो नेपाल प्रवेश गरेको छ । नेपालको अन्य भू–भागहरूमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने विभागले जनाएको छ । विभागका अनुसार यो वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ ।
यो वर्षको जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ । यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ छ । ‘सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू–भाग र कोशी प्रदेशका दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ’, विभागले भनेको छ, ‘वाग्मती, मधेस र कोसी प्रदेश तथा अन्य प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।’
मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने
यो वर्षको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा नोपलभर १२ लाख ५० हजार नागरिक प्रभावित हुने जनाएको हो । कोशी प्रदेशमा तीन लाख एक एक हजार १४३, मधेस प्रदेशमा चार लाख तीन हजार १८०, वाग्मतीमा ९६ हजार ८५८, गण्डकी प्रदेशमा ६९ हजार ७४४, लुम्बिनी प्रदेशमा एक लाख ९९ हजार ८६२, कर्णाली प्रदेशमा ३५ हजार ३३३, सुदूरपश्चिम प्रदेशमा ४७ हजार ६० नागरिक मनसुनबाट प्रभावित हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० स्वीकृत गसिकेको छ । नेपालबाट औसतमा अक्टोबर २ मा मनसुन बाहिरिन्छ । तर, यो पनि औसत समय मात्रै हो । योभन्दा केही अगाडि वा पछाडि मनसुन बाहिरिन सक्छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण बुधबार मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको थियो । मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको थियो ।
काठमाडौँबाट सिमराका लागि बुधबार साँझ तय गरिएका दुई उडान रद्द गरिएको छ भने विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ । धनगढीबाट काठमाडौँ आएका जहाज पनि लामोसमयको होल्डपछि काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
यस वर्षको मनसुन प्रणाली नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भागमा आगमन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण काठमाडौँमा साँझपखदेखि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँको आकाश पूर्ण बदली रहेको छ ।