मानव सभ्यता भरिका महान् दार्शनिकहरूमा एरिस्टोटल,कार्ल मार्क्स,लाओ-त्से,जोन लक,कन्फ्युसियस,राल्फ वाल्डो इमर्सन,इमानुएल कान्ट,एपिकुरसको नाम सबै भन्दा अगाडी आउँछ। मानवको आधुनिक कालमा सबैभन्दा प्रभावशाली दार्शनिक र समाज शास्त्रिमा कार्ल मार्क्सको नाम पहिलो नम्मरमा आउँछ। पुजिबादको बिस्व ब्याबस्थाबारे बैज्ञानिक विश्लेषण गरिएको पुस्तक ‘दास क्यापिटल’ले नै मार्क्सलाई दार्शनिकहरुको पहिलो नम्मरमा पुयाएको हो।
dilli
“दास क्यापिटल” जस्तो विश्व प्रसिद्ध दर्शन शास्त्र र कम्युनिष्ट घोषणा पत्रका लेखक कार्ल मार्क्सको दार्शनलाई पाँच मिनेटमा व्याख्या गर्न पनि सकिन्छ, पाँच घण्टामा व्याख्या गर्न पनि सकिन्छ, व्याख्या गर्न पाँच वर्ष वा आधा शताब्दी लाग्न पनि सक्छ।” फ्रान्सेली राजनीतिक विचारक रेमन्ड एरोनले मार्क्सबादको महत्वबारे यसरि लेखे।
वर्गसङ्घर्ष, ऐतिहासिक भौतिकवाद र पुँजीवादका अन्तर्निहित अन्तरविरोधहरूबारे मार्क्सका विचारले आधुनिक समाजमा अमिट छाप छोडेको छ। उनका बिचार तथा अनुसन्धानमुलक विश्लेषणहरुले अनगिन्ती सामाजिक र राजनीतिक आन्दोलनहरूलाई प्रेरित गरेको छ। विशेष गरी पेरिस कम्युन पछि रूसी क्रान्ति, जसले सोभियत संघको गठनको नेतृत्व गर्यो,उनकै राजनैतिक दर्शनको देन हो। अझ ब्यापक रुपले भन्दा, उनका सिद्धान्तहरूले धेरै देशहरूको आर्थिक नीतिहरू, साथै समाजशास्त्र, राजनीति विज्ञान र अर्थशास्त्रको शैक्षिक क्षेत्रहरूलाई आधुनिक आकार दिएका छन्। संसारका सम्पूर्ण औपनिवेशिक दासताको बिरुद्ध गरिएका राष्ट्रिय मुक्ति आन्दोलन,मजदुर आन्दोलन,महिला मुक्ति आन्दोलन,धार्मिक कट्टरता विरुद्धका आन्दोलन सबैमा मार्क्सबादको मिहिन प्रभाव रहेको छ। त्यसैले आधुनिक राजनैतिक,आर्थिक,सामाजिक र सांस्कृतिक दर्शनका अहिलेसम्मकै सबैभन्दा प्रभावशाली ब्याक्तिमा मार्क्सको नाम पहिलो नम्मरमा आउन सफल भएको हो।
मार्क्स भन्दा पहिला दर्शन,जीवन र जगतको व्याख्यामा मात्र सिमित थियो। विश्व ब्रह्माण्डमा भएका सम्पूर्ण वस्तुहरुको विवेचना गर्नु र त्यसका आधारमा भविष्यको गन्तव्य तय गर्नु दर्शनशास्त्रको आधारभूत काम हो भनेर दर्शन सास्त्रको क्षेत्रलाई उनले कर्मसँग एकाकार गराए। कार्ल मार्क्सका अनुसार जीवन र जगतलाई बुझ्नु र बदल्नु दर्शनशास्त्रको आधारभूत कार्यभार हो। मार्क्सको बुझाइमा विश्व दृष्टिकोण,पदार्थ तथा चेतनाबारेको बुझाई,लौकिक तथा अलौकिकताबारेको बुझाईलाई द्वन्दात्मक रुपले ग्रहण गरिन्छ ।
(क) विश्व दृष्टिकोण : त्यसको लागि सर्वप्रथम दृष्टिकोणको अर्थ बुझ्नु पर्ने हुन्छ। कुनै पनि वस्तु, घटना र समाजलाई हेर्ने नजरलाई दृष्टिकोण भनिन्छ। त्यही आधारमा विश्वका सारा वस्तु र घटनाहरुको अध्ययन गर्ने प्रक्रियालाई विश्वदृष्टिकोण भनिन्छ। विश्व दृष्टिकोण मूलतः २ प्रकारको हुन्छ, १. भौतिकवाद, २. आदर्शवाद। यसको व्याख्या छुट्टै अध्ययनको बिषय बन्न सक्छ। यहाँ त्यसको व्याख्या सम्भव छैन।
(ख) पदार्थ र चेतना : — दर्शनशास्त्रका २ आधारभूत प्रश्नमध्ये पहिलो प्रश्न हो, पदार्थ पहिलो हो कि चेतना ? यही प्रश्नको वरिपरि नै विश्वको दार्शनिक बहस केन्द्रित हुँदै आएको छ। समग्र मानव जातिको इतिहासमा पदार्थ र चेतनाको प्राथमिकता नै मूख्य बहस र विवादको केन्द्र रहँदै आएको छ। वैज्ञानिकहरुले पदार्थकै कारण ब्रह्माण्ड र मानव जातिको उत्पत्ति भएको मान्दछन्, जुन कुरा धर्मगुरु, पादरी, पूरोहित र आदर्शवादका हिमायतीहरु मान्दैनन्।
(ग) वोधगम्यता : बोधगम्यता शब्दले कुनै पनि विषयलाई मानसिक रूपमा बुझ्ने, त्यसलाई परिकल्पना गर्ने, त्यसको पूर्ण अर्थमा विश्लेषण र मूल्याङ्कन गर्ने र त्यसमा आधारित प्रश्नहरूको सही समाधान खोज्ने क्षमतालाई जनाउँछ। यो क्षमताको कारण नै मार्क्सले युगान्तकारी दर्शनको जन्म दिन सकेका हुन्।
मार्क्सका महत्वपुर्ण ब्यबहारिक तथा सैद्धान्तिक प्रभावबारे निम्नानुशार टिप्पणी गर्न सकिन्छ :
१. मित्र र सहयात्री छनौट:
कसैको जिवनमा उसले गरेका निर्णयहरुको प्रभावले नै उसको आगामी कार्यलाई सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्छ। मार्क्सको जिवनमा पनि उनले गरेका केहि निर्णयहरुको छनौट गर्ने कलाले उनलाई जीवनभर सकारात्मक प्रभाव पार्न सक्यो। आफ्नो निजि जीवनमा सघाउन उनले जेनीलाई जीवनसंगीको रुपमा छनौट गरे। त्यस्तै साथीको रुपमा फ्रेडिक एंगेल्सलाई छनौट गरे।
उनकी पत्नी जेनी मार्क्स (१८१४ -१८८१ ) बिना मार्क्सको दार्शनिक उपलब्धि कदापि सम्भव थिएन। जोहान्ना बर्था जुली जेनी भोन,वेस्टफेलेनमा जन्मिएकि थिइन, उनि पत्रकार मात्र नभएर मार्क्सको पहिलो आलोचनात्मक पाठक पनि थिइन । मार्क्सले उनीसँग र दार्शनिक फ्रेडरिक एंगेल्ससँग हरेक बिषयमा गहन बहस गरेर “कम्युनिस्ट घोषणापत्र” लेखे । वर्षौंसम्म बाँचेको घोषणा पत्रको हस्तलिखित संस्करणमा, पहिलो हरफ जेनीद्वारा लेखिएको छ।
एक पत्रकारको रूपमा, जेनीले जर्मनीमा सन् १८४८ मार्च क्रान्ति र प्रसिद्ध फ्रान्कफर्ट जेइटुङ्ग अखबारका लागि विलियम शेक्सपियरको समीक्षा लेखिन , प्रकाशकहरूसँग गहन बहस गरिन। उनको बहुभाषिक ज्ञान र सीप मार्क्सलाई निर्वासनको बेला काममा आयो। दार्शनिक फ्रेडरिक एंगेल्सले जेनी र उनको पति मार्क्सलाई दुई “उच्च प्रतिभाशाली स्वभाव”का महामानव भनेका छन्।जेनीको मृत्यु पछि जेनीको बारेमा एंगेल्सले, “उनको साहसी र बुद्धिमानी सल्लाह” सदैव मिस हुनेछ,”भनेर लेखेका छन् ।
२. वर्ग संघर्ष :
जव औपनिवेशिक दासता र श्रमजीवी मुक्तिको संघर्षको कुरा हुन्छ,मार्क्सले दमनकारी सक्ति बिरुद्ध ससस्त्र संघर्ष मार्फत सासन कब्जाको दर्शन दिए। उनको त्यो नीति उत्पीडित वर्ग र जातिबाट मुक्त हुन अहिलेसम्म संसारमा प्रयोग गरिन्छ। पछिल्लो काल खण्डमा,उनकै दर्शनको प्रभावबाट सेप्टेम्बर १७,२०११ मा, “वाल स्ट्रिट कब्जा गर्नुहोस्” भन्ने नारा लगाएका प्रदर्शनकारीहरूले न्यूयोर्कको वित्तीय जिल्लाको जुकोटी पार्क कब्जा गरे। उनीहरूले पुंजिबादी आर्थिक प्रणालीको विरोध गरे।
विशेषाधिकार प्राप्त थोरै ब्याक्ति धनी हुँदै गइरहेको र बहुमत जनता गरिब हुँदै गैरहेको अबस्थामा राजनीति शास्त्रमा केन्द्रिय पुँजी कब्जा गर्नुको अर्को विकल्प देखाइएको छैन। त्यस्तै हालसालै,संसारभर आन्दोलनकारीले बैंकिङ तथा वित्तीय क्षेत्रलाई थप राजनीतिक नियमन गर्नुपर्ने माग गरेका छन् । विभिन्न उतारचढावकाबीच “कब्जा” आन्दोलन क्रमश विश्वभर फैलिदै गैरहेको छ ।
संकट र तिब्र संघर्षको बेला संसारभरका प्रदर्शनकारीहरूले कार्ल मार्क्सको तस्बिर र उनका कोटेशनहरु प्रयोग गर्दछन। मार्क्सको आकर्षक नारा “मैले तिमीलाई भनेको थिएँ म सही थिएँ”लाई आन्दोलनकारीले आधुनिक आइकनमा परिणत गर्दै लगिरहेका छन् । सन् २०११को कब्जा आन्दोलनमा पनि त्यहि भयो। अफ्रिकाको राष्ट्रिय स्वाधिनताका सबै आन्दोलनहरुमा पनि त्यहि भएको थियो। भियतनाम लगायत पूर्वी एसिया,अफ्रिका र ल्याटिन अमेरिकामा समेत त्यहि हुँदै आइरहेको छ।
३. दासताबाट मुक्ति :
मार्क्सले आफ्नो विचारद्वारा आठ घण्टा काम,आठ घण्टा आरामको नारालाई वास्तविकता बनाउन सके। अर्थात आठ घण्टा काम आठ घण्टा आरामको नारा मार्क्सबादको देन थियो,जसले १९ सौ र बीसौं सताब्दिमा बिसाल मजदुर आन्दोलनको आंधी बेहरी ल्यायो र संसारभरका पुँजीपतिहरुले मजदुरहरुलाई बँधुवा दासको सट्टा मान्छेको रुपमा स्विकार्न बाध्य भए।
सन् १८६६ मा, कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले आठ घण्टाको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक संघको आधिकारिक माग बनाउन सफल भए। “आठ घण्टा काम, आठ घण्टा निद्रा, र आठ घण्टा फुर्सद र मनोरञ्जन’ नाराको शुरुवात बेलायतका मजदुर नेता वेल्शम्यान रोबर्ट ओवेनले सन् १८१०मा शुरु गरेका थिए,जसलाई मार्क्सबादले दार्शनिक व्याख्या सहित पूर्णता दियो। त्यहि दिन हो जसलाई विश्वका मजदुरहरुले मई दिवसको रुपमा सम्झना गर्दछन।
जर्मनीमा पहिलो पटक सन् १९१८ मा आठ घण्टाको काम कानूनी रुपमा लागू गरिएको थियो। त्यसबेलादेखि यो धेरै देशमा कानुनी रुपमा लागु भयो, तथापि, नयाँ कानून : छ-घण्टाको कामको रुपमा अहिले धेरै युरोपेली देशहरूमा परीक्षण भइरहेको छ।
४ . मार्क्सको अनुसन्धान मा आधारित दर्शन :
जीव,पदार्थ र सक्तिको द्वन्दात्मक अन्तर सम्बन्ध र अन्तर्विरोधलाई मार्क्सले आफ्नो दर्शनको अनुसन्धान गर्ने आधार बनाए। उनले ऐतिहाँसिक भौतिक्कबादलाई विश्लेषण र समीक्षाको आधार बनाए। पुँजीवादी व्यवस्थालाई एउटा प्राकृतिक व्यवस्था र पुँजीवादका आर्थिक नियमहरूलाई शाश्वत तथा अपरिवर्तनीय ठान्ने एडम स्मिथ, डेविड रिकार्डोलगायत अन्य शास्त्रीय अर्थशास्त्रीहरूको मान्यता बिरुद्ध माक्र्सले पुँजीवादी उत्पादनका नियमहरू अस्थायी स्वरुपका छन् र पहिलेका उत्पादन प्रणालीहरूझैँ पुँजीवादी उत्पादन प्रणाली पनि खत्तम हुनेछन् भन्ने कुरा संसारसामु राखे।
“पुँजी निजी होइन सार्वजनिक सम्पत्ति हो र हुनुपर्दछ ।”माक्र्सले यसो भन्नुको पछाडिको आधारशिला नै अतिरिक्त मूल्यको सिद्धान्त हो भन्दा फरक नपर्ला । सामाजिक उत्पादनका वैयक्तिक तत्वहरू उत्पादन, वितरण, विनिमय र उपभोगका आ–आफ्ना भूमिका र तिनीहरूबीचको द्वन्द्वात्मक सम्बन्धबारे मिहिन विवेचना माक्र्सबाट नै भयो ।
अतिरिक्त मूल्य भनेको मजदुरले उत्पादन गरेको मूल्य र उसको श्रमशक्तिको मूल्यबीचको अन्तर हो । यही अन्तरलाई पुँजीपतिहरू आफ्नो नाफाको रुपमा व्याख्या गर्छन् । अतिरिक्त मूल्यको सिद्धान्तले समाजमा पुँजीपति वर्गले मजदुर वर्गको शोषण कसरी र कतिसम्म गर्दारहेछन् भन्ने स्पष्ट पार्छ ।
यसलाई अर्को शब्दमा भन्नु पर्दा,माल अर्थात् वस्तुको परिचालन पुँजीको प्रस्थान विन्दु मानिन्छ । मालको परिचालनको अन्तिम फल नै पुँजी हो साथै पुँजी, भूमि, श्रम, सङ्घसंस्थाको सही व्यवस्थापनबाट वस्तुको उत्पादन गरिन्छ । यसरी वस्तुको उत्पादन र विनिमयले पुँजी निर्माण हुन्छ । हरेक माल वा वस्तुको दुई रुप हुन्छ। पहिलो उपयोग मूल्य (use value), माल – मुद्रा – माल (C-M-C) यसमा मुद्राको मालमा रुपान्तरण, मालको पुनः मालमा रुपान्तरण हुन्छ । यो किन्नका लागि बेच्ने प्रक्रिया हो । यसले उपभोगलाई महत्व दिन्छ ।छोटकरीमा उनको सम्पूर्ण आर्थिक तथा बिकासको मोडेल यसैमा अन्तर्निहित छ।
तर पुंजिबादमा यो नियम ठिक उल्टो हुन्छ। विनिमय मूल्य (Exchange Value) मुद्रा–माल–मुद्रा (M-C-M) यसमा मालको मुद्रामा रुपान्तरण र मुद्राको पुनः मालमा रुपान्तरण हुन्छ । यो बेच्नका लागि किन्ने प्रक्रिया हो । यस तरिकाको मुद्रा पुँजीको रुपमा विकसित हुन्छ, पहिलेभन्दा बढी पुँजी । त्यसले पुँजीलाई महत्व बढी दिन्छ तर उपभोगलाई कम।
अत विश्वभरका धेरै अर्थशास्त्रीहरूले कार्ल मार्क्सको यहि आर्थिक नीतिलाई नबुझी आफ्नो देशको आर्थिक नीति निर्माण गर्न नै सक्दैनन् । उदाहरणका लागि, २०१३ मा, फ्रान्सेली अर्थशास्त्री थोमस पिकेट्टीले कार्ल मार्क्सको “दास क्यापिटल” (१८६७ ) को पुनर्व्याख्या र सन्दर्भलाई मानक मानेर आफ्नो पुस्तक “क्यापिटल इन द ट्वेन्टी फर्स्ट सेन्चुरी” प्रकाशित गरे। युरोप र अन्य देशमा समेत यो अर्थशास्त्रको पुस्तकलाई मनन गरेर आर्थिक तथा सामाजिक नीतिको निर्माण गरिन्छ। त्यसैले युरोपका हरेक देशका आधुनिक आर्थिक नीतिहरुमा दास क्यापिटलको बिशेष प्रभाव र महत्व रहेको छ।
“क्यापिटल इन द ट्वेन्टी फर्स्ट सेन्चुरी” मा पिकेट्टीले मार्क्सको विश्लेषणलाई स्वीकारेका छन् र २० औं शताब्दीको मध्यदेखि औद्योगिक राष्ट्रहरूमा पुजी केहि ब्याक्तिहरुमा केन्द्रीकरण हुँदै जाँदा विद्रोहको जन्म हुने निष्कर्ष निकालेका छन् । असमानतामा बृद्धि हुनु पुँजीवादको अंश भएकोले यसले लोकतन्त्रलाई खतरामा पारेको उनको निष्कर्ष छ । यो विश्व प्रसिद्ध अर्थशास्त्रको पुस्तकले पुँजीवादको भविष्यको बारेमा विश्वभर बहस सुरु गर्यो।”दास क्यापिटल”को पहिलो मौलिक संस्करण, जुन माक्र्सको हातबाट लेखिएको थियो,त्यो लगायत उहाँका हस्तलिखित नोटहरू डच र जर्मन सरकारहरूको संयुक्त प्रस्ताव पछि, सन् २०१३ बाट युनेस्कोको विश्व दस्तावेज सम्पदाको प्रमुख हिस्सा भएका छन् ।
५. मार्क्सका बिचारको विश्वभरका आन्दोलनहरूमा प्रभाव :
मार्क्सले धेरै देशहरूमा राजनीतिक बहसलाई प्रभाव पारे। २० औं शताब्दीमा, उनका ग्रन्थहरूबाट प्रेरित कम्युनिस्ट सोच संसारका धेरै भागहरूमा फैलियो, क्रान्तिहरू ट्रिगर गर्यो र रूस, चीन,भियतनाम र क्युबा जस्ता देशहरूमा माक्र्सवादी विचारमा आधारित राजनीतिक प्रणालीहरू स्थापना गर्यो। नीतिगत रुपमा युरोपका अधिकांश देशमा मार्क्सको आर्थिक नीतिको ठुलो प्रभाव छ।
६.राज्य बिहिन अबस्थामा मार्क्स:
यद्यपि, “सर्वहारा क्रान्ति” का यी महान द्रष्टाले आफ्नो सम्पूर्ण जीवन राज्यविहीन व्यक्तिको रूपमा निर्वासनमा बिताए। मार्क्सको विवाह पछि, उनी र उनकी श्रीमती जेनी पेरिस गए। त्यहाँ, उनले एक धनी कारखाना मालिकका छोरा फ्रेडरिक एंगेल्ससँग सहकार्य गर्न थाले।
जब प्रसियन सरकारले उनको निष्कासनको माग गरे, जेनी र कार्ल मार्क्स ब्रसेल्स गए, फ्रेडरिक एंगेल्सले उनीहरूलाई पछ्याए। त्यहाँ, उनीहरूले कम्युनिस्ट घोषणापत्र लेख्ने काम गर्न थाले। यो घोषणा पत्रले संसारका मजदुरहरुलाई “विश्वका मजदुरहरू, एक होउ !” भन्दै विश्व प्रसिद्ध आह्वान गरेको थियो। मार्क्स परिवारलाई बेल्जियमबाट पनि निष्कासित गरियो र अन्ततः सन् १८४९ मा लन्डनमा शरण पाए जहाँ जेनी र कार्ल मार्क्स आफ्नो मृत्यु प्रयन्त बसे। जेनीको डिसेम्बर २, १८८१ मा र कार्ल मार्क्सको १४ मार्च, १८८३ मा मृत्यु भयो। उनको मृत्युको लगभग २०० वर्ष पछि पनि उनको नाम र बिचारको प्रभाव संसारभर उस्तै छ। नेल्सन मण्डेलाको शब्दमा,’मार्क्सका दार्शनिक मान्यताहरु देश मासिने बेला,देश औपनिवेशिक दासताबाट मुक्त हुने संघर्षमा र बर्गीय शोषणको पराकाष्टामा मैन बत्तिको प्रकास हुन्। ”
कार्ल मार्क्सलाई संसारभरका अधिकतम अर्थशास्त्री तथा राजनैतिक विश्लेषकहरुले एक दार्शनिकको रुपमा चिन्छन । तर मन्डेला लगायत केहि राजनीतिज्ञहरुले पुजिवादको बैकल्पिक ब्याबस्थाका प्रणेता तथा आन्दोलनकारी पनि मान्दछन। उनीको मान्यता अनुशार – ‘मार्क्सले जे लेखेका छन् र गरेका छन् त्यो एक दर्शन जस्तै छ । तर जब तपाईं उनको जीवन तथा कामहरुलाई गहन रुपमा हेर्नुहुन्छ तब,तपाईंले उनलाई एक आन्दोलनकारीका रुपमा पाउनुहुन्छ । उनले अन्तर्राष्ट्रिय श्रमिक संगठनको स्थापना गरेका थिए । उनी गरीब मानिसहरुसँगै धेरै हडतालमा आँफै संलग्न पनि भएका थिए ।’
क्वुवाको क्रान्तिलाई समर्थन गर्दै मन्डेलाले फिडेल क्यास्ट्रोलाई यसरि शुभकामना दिएका थिए,”क्युवाली क्रान्ति अमर रहोस्। कमरेड फिडेल क्यास्ट्रो अमर रहुन… क्युबाली अन्तर्राष्ट्रियवादीहरूले अफ्रिकी स्वतन्त्रता र न्यायका लागि धेरै काम गरेका छन्। हामी क्युवाली जनताको स्वतन्त्रता र सार्वभौमसत्ता कायम राख्नका लागि गरेको बलिदानको प्रशंसा गर्छौं। क्युवाली क्रान्तिको प्रगतिलाई ध्वस्त पार्ने साम्राज्यवादी अभियानको हामीले कडा शब्दमा प्रतिबाद गर्दछौँ। हामी पनि आफ्नो भाग्यलाई आफ्नै नियन्त्रणमा राख्न चाहन्छौं… साम्राज्यबादीसँग कुनै आत्मसमर्पण हुन सक्दैन। यो स्वतन्त्रता वा मृत्युको प्रश्न हो। क्युवाली क्रान्ति सबै स्वतन्त्रताका लागि प्रेरणाको स्रोत भएको छ। माया गर्ने मान्छेहरुको देश क्युवालाई सलाम।” – मण्डेला जुलाई २६, १९९१ मा क्युबाली र्यालीमा भाषणको क्रममा।
विश्वमा महिलाहरुले पहिलोपटक मतदानको अधिकार कुनै संसदबाट पाएका होइनन् । यसका लागि समाजबादी महिलाहरुले संगठित भएर संसारभर प्रदर्शन गरेका थिए। औपनिवेशिक पुंजिबादका बिरुद्ध बिशाल संघर्षको ज्वारभाटा सृजना गरेका थिए। त्यस्तै मजदुरहरुले पनि उनकै दर्शनको प्रभावबाट बिश्वब्यापी रुपमा बर्गीय आन्दोलन चलाए। उनीहरुका माग सम्बोधन नगर्दा औपनिवेशिक पुजीबादी ब्यबस्था नै चर्मराउन थाल्यो। उनकै दर्शनको प्रभाव स्वरुप,बिश्वभरि औपनिवेशिक दासताका बिरुद्ध लामो राष्ट्रिय मुक्ति आन्दोलन चल्यो। धेरै देशहरुले साम्राज्यबादी दासताबाट स्वतन्त्रता प्राप्त गरे।
यिनै आन्दोलनका कारण मजदुरहरुलाई ८ घण्टा काममा लगाउने,मजदुर युनियनलाई बैधानिकता दिने,महिलाहरुलाई मतदान गर्ने लगायत स्वतन्त्रता दिने र हप्तामा शनिबार तथा आइतबार विदाको व्यवस्था दिने ब्याबस्था गर्न तात्कालिक औद्यागिक पुंजिबाद बाध्य भयो। यी सबै परिबर्तनका कुरामा पनि कार्ल मार्क्सलाई नै श्रेय जान्छ।
सारमा,आधुनिक विश्व ब्यबस्थामा मानवताको जुन बहस छ,त्यसले मानवता वर्ग सापेक्ष हुने कुरालाई स्वीकार्दै गएको छ। न्यायिक समानता बिनाको मानबता,बर्गीय समानता बिनाको मानबता, लैंगिक,बर्ण र जातिय समानता बिनाको न्याय र औपनिवेशिक दासता भित्रको मानबता हाँस्यास्पद प्रहशन मात्र हो।
स्वतन्त्रताको बहसमा पनि मानवताका मानकहरु पुरा नगरी दिइने अधिरचना सापेक्ष ब्याक्तिगत स्वतन्त्रताको अर्थ नहुने निष्कर्ष निकालिएको छ। गास,बास,कपास,शिक्षा र स्वास्थ्य नागरिकको मौलिक अधिकारमा राखी दिइने स्वतन्त्रताले मात्र सामाजिक न्यायलाई मानवताको परिभाषा भित्र समेट्न सक्ने कुरामा संयुक्त राष्ट्र संघले पनि सहमति जनाई सकेको छ। मानिसको सामाजिक र कानुनी दायित्व भित्र हुर्केको स्वतन्त्रतालाई मानवताको उच्च बिन्दुमा पुर्याउन उत्पादन र उपभोगमा सम्पूर्ण जनताको समान पहुँच स्थापित हुनु आबश्यक रहेको कुरामा न्यायिक मानवताका पक्षधरहरुको एक मत देखिन्छ। मार्क्सको त्यहि अबधारणबाट नै पूर्ववत वैश्विक अबधारणामा आधुनिक कायापलट हुन सकेको हो।
७. मार्क्सबादी दर्शनको बुझाइ र प्रयोगबारे आइष्टाइन देखि मण्डेलासम्म :
समाजबादी सत्ता र प्रयोगको चरित्र हिंसात्मक र ससस्त्र हुनुमा पुजिवाद र त्यसको संरक्षणमा बाँचेको सामन्तबादको ससस्त्र दमन,हस्तक्षेप र अरु देशका मौलिक राजनैतिक प्रयोगमाथि गरिने साम्राज्यबादी तथा घरेलु हिँसात्मक दमन जिम्मेवार रहेको छर्लंग छ। ‘यदी साम्राज्यबाद र पुजिबादको बैदेशिक हस्तक्षेप समाप्त हुने हो भने समाजबाद संसारमा प्रयोग भएका सबै प्रणाली मद्धे उत्कृष्ट मानवताबादी स्वतन्त्र र समानतापूर्ण ब्याबस्था हुने छ,’ भनेर विश्व प्रसिद्ध बैज्ञानिक अल्बर्ट आइस्टाइनले आफ्नो लेख ‘समाजबाद किन ?’ मा प्रष्ट्याएका छन्। “किन समाजवाद?” अल्बर्ट आइन्स्टाइनले सन् १९४९ मईमा लेखेको विश्व प्रसिद्ध राजनैतिक लेख हो जुन तात्कालिक समाजवादी जर्नल मन्थली रिभ्युको पहिलो अंकमा प्रकाशित भएको थियो । उनका अनुशार,’समाजबादले पुँजीवाद, यसभित्र हुने शिकारी आर्थिक प्रतिस्पर्धा र बढ्दो सम्पत्ति असमानताका समस्याहरूलाई पूर्ण रुपमा सम्बोधन गर्दछ।’
दक्षिण एशियाका महान विचारक गान्धी, कुमारप्पा, आरके नारायणन र बीपी हरुले मेशिनलाई होइन मान्छेलाई माया गर्न प्रेरित गरेका छन् । तर हामीलाई साम्राज्यबाद नियन्त्रित पुंजिबादले उपभोगको साटो नाफाको उल्टो बाटो हिँडाइ रहेको छ । पुँजीबादमा मान्छे ‘मान्छे’नबनेर या श्रमिक बनेको छ या मालिक। जव धनिहरु विभिन्न किसिमले गरिव लुट्छन त्यसलाई पुजीबादी ब्याबस्थामा बिजनेश भनिन्छ,तर भोकाहरु मिलेर धनिको लुटको बिरुद्ध संघर्ष गर्दछन,त्यसलाई पुंजिबादले हिंशा भन्दै दमन गर्न थाल्दछ।
मार्क्सको समाजबादी आर्थिक नीतिसंग बिपी पनि सहमत थिए। बीपीले आँफुलाई असि प्रतिशत मार्क्सबादी भनेको अर्थ मार्क्सको आर्थिक विशलेषण र समाजबादसंग सहमत भएर मात्र हैन, मौलिक प्रयोग र बिकासको मोडेललाई पनि उनले त्यसमा समेटेका छन्। जातिय विभेद,मानवताका उच्च मूल्य र औपनिवेशिक दासताबाट मुक्तिको लागि मार्क्सको अबधारणालाई पनि उनले समर्थन गरेका छन्।
दार्शनिक कार्ल मार्क्सका अनुसार अर्थतन्त्र मूल आधार (बेस) हो भने राजनीति र संस्कृति उपरी संरचना (सुपर स्ट्रक्चर)। ब्याबस्थाको मोडेलमा यी दुबैको अनन्य सम्बन्ध हुन्छ। त्यसै कारण राजनैतिक ब्याबस्था पनि कानुनमा आधारित र मूल्यमा आधारित गरेर दुई भागमा बाँडिएको छ। कानुन र मूल्य बिचको अन्तरलाई आफ्नो देशको मौलिकतामा समाधान गरिनु पर्ने धारणा मार्क्सले ब्याक्त गरेका थिए। अम्बेडकरले गान्धीको हिन्दु धर्ममा गरिएको बर्ण ब्याबस्थाको प्रश्नमा गान्धीको मतको विरोध गरेका थिए। उनले वर्ण व्यवस्था र जातप्रथाले समाज र श्रमलाई मात्र होइन, श्रमिक वर्गलाई पनि विभाजन गर्ने वास्तविकता अघि सारेका थिए।
आर के नारायणनले समग्र क्रान्तिद्वारा समाजबादी ब्याबस्थाको सम्भावनाबारे आफ्नै मौलिक विश्लेषण दिए। के आर के नारायणन,अम्बेडकरलाई बेवास्ता गर्दै नेपालको दलित आन्दोलनको कल्पना गर्न सकिन्छ ? यो प्रश्नमा अम्बेडकरको बिचारका केहि कुरालाई जातिय समस्या हल गर्ने आधार बनाउन सकिन्छ भने आरके नारायणनको सिद्धान्तलाई समाजबादी रुपान्तरणको आधार बनाउन सकिन्छ। जातिय विभेदको कडीलाई तोड्न अम्बेडकरको सामाजिक क्रान्तिलाई पनि मार्क्सबादी तरिकाले सम्बोधन गर्न जरुरी छ। उनको यो बैचारिक मौलिकता पनि दक्षिण एसियाको मौलिक चरित्रको मार्क्सबादी दर्शनको बिकास र प्रयोगमा सहयोगी हुन सक्छ। जसले जातिय जेलोमा जेलिएको दक्षिण एसियाको वर्ग संघर्ष र सम्बन्धित अन्तरविरोधलाई नयाँ ढंगले हल गर्न सकोस।
राजनैतिक ब्याबस्थाका मौलिक मोडेलमा कुनै राजनीतिज्ञले उपरी संरचनालाई जोड दिएका छन् त कसैले आधारलाई। यी दुबैको मौलिक गुण सहितको संयोजनमा हुने अन्तर्विरोधले ल्याउने समस्यामा ध्यान नदिँदा कतिपय प्रयोग असफल भएका छन। प्रयोग असफल हुनु भनेको प्रयोगको अन्त्य कदापि हुन सक्दैन । विज्ञानमा प्रयोगको असफलतामा अर्को सम्भावनाको बिज रहेको हुन्छ। त्यसैले पुजीबादी बुद्धिजिबीहरुले भनेको मार्क्सबादको अन्त्य केवल फोश्रो प्रलाप मात्र हो।
मार्क्सबाद निरन्तर बिकास हुने र देशको मौलिकताको सापेक्षतामा लागु गर्न सकिने सामाजिक तथा दार्शनिक बिज्ञान भएकोले वातावरण मैत्री प्रविधिको बिकासलाई पनि हेक्का राख्दै अघि बढ्छ। प्रयोगका विभिन्न चरणहरु पार गर्दै मार्क्सबाद निरन्तर उन्नत हुने भएकोले यसका सबै आयामहरुलाई एउटा नापोमा सिमित पार्न सकिन्न।
एक दर्शन सास्त्रिले मार्क्सको दर्शनबारे यसरि लेखेका छन्,’यदि तपाईंले मार्क्सको बिचार पढ्नुभएको छैन भने,घरबारे भएर पनि तपाईंले अहिलेसम्म आफ्नी प्रेमिकालाई चुम्बन गर्न जान्नु भएको छैन।मार्क्सबादी दर्शनको विश्लेषण बिनाको निर्णयमा तपाई स्वतन्त्र रुपले हावी हुन सक्नु हुने छैन। तपाईं अनजान राजनैतिक प्रेमिकाको प्रेममा पर्नु भयो भने त्यो प्रेम सम्बन्ध कहिल्यै टिकाउ र दिगो हुने छैन। तपाइले संसारभर भएका राज्यका चरित्र र इतिहाँसबारे बुझ्न तथा धारणा बनाउन जान्नु हुने छैन। नबुझी बोलेको बोलीको अर्थले युगान्तकारी प्रभाव पार्न सक्ने छैन।’
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2023 All right reserved | Site By : SobizTrend