काठमाडौं । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । दिवस मनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्षको मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो ।
नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एशोसिएसन नेपाल (क्यान)को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सूचना प्रविधिको प्रयोग गरेर देशको विकास र मुलुकको समृद्धि गर्न सकिने उद्देश्यले यो दिवस मनाउन थालिएको बताउनुभयो । उहाँले सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यस वर्षको दिवसको नारा तय गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
छैटौं सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले जारी गरेको शुभकामना सन्देश
सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मनाउन थालिएको छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् । सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमको रुपमा स्थापित हुन पुगेको छ । यसको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको छ । सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुको साथै लागत कटौतिमा मद्दत पुगेको छ । नागरिकले आर्थिक कारोवारसहित अत्यावश्यकीय सेवा, अनलाइनमार्फत् घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको छ । यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको छ ।
सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक भइसकेको छ । केही समयअघि सरकारी सर्भरहरुमा समस्या देखिनुका साथै साइबर सुरक्षामा चुनौती देखिएपछि सरकारले उच्चस्तरीय कार्यदल नै गठन गरेर अध्ययन प्रक्रिया अघि बढाएको थियो । सो कार्यदलले दिएको प्रतिवेदनलाई समेत आत्मसात गर्दै साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाइसकेको छ । त्यसका साथै साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।
सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्दछ । तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ जारी गरी कार्यान्वयनमा ल्याइएको छ । दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर विस्तार गरिएको छ । सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पुर्याउने गरी कार्यक्रम सञ्चालन भइरहेको छ । यसलाई दिगो र भरपर्दो बनाउन सके इन्टरनेट प्रयोगबाट आम जनताले अपेक्षित लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।
अन्त्यमा, सुरक्षित सूचना प्रविधिको प्रयोगबाट नै सुशासन र समृद्धि ल्याउने कार्यमा ठोस योगदान गर्न सबैमा अपिल गर्दछु ।
१९ बैशाख, २०८०
रेखा शर्मा
मन्त्री
