बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह

सोमबार, बैशाख १८ २०८०

काठमाडौं(जस)–परराष्ट्र मन्त्रालयले सुडानमा विकसित जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ । मन्त्रालयले सो सम्बन्धमा हालसम्मको अवस्थाबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ । परराष्ट्रका अनुसार सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखिएको छ ।
सुडानमा कर्यरत २० जना नेपाली सुरक्षित रुपमा साउदी अरब पुगेका छन् । सुडानमा गृहयुद्ध चर्किएसँगै त्यहाँ कार्यरतमध्ये २० नेपाली साउदी अरब पुगेको पराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गृहयुद्ध चर्किएसँगै त्यहाँ कार्यरत नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले निरन्तर अधिकतम प्रयास गरिरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार कायरोस्थित नेपाली राजदूतावासले उद्धार कार्य जारी राखेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारी बाहेक हालसम्म ३० जना नेपाली नागरिक नेपाली राजदूतावास कायरोको सम्पर्कमा रहेको मन्त्रालयको भनाइ छ । दूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा पुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । यसअघि नै थप एक जना नेपाली सकुशल जेद्दा पुगेका थिए । जेद्दा पुगेका २० जनालाई नै नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयको भनाइ छ ।
यस्तै सुडानमा कार्यरत थप ११ जना नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र एक जनालाई खार्तुमबाट पोर्ट सुडान पु¥याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको छ ।
अझै पनि सुरक्षा अवस्था असहज रहेको भन्दै मन्त्रालयले सबै नेपाली नागरिकहरुलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न अनुरोध गरेको छ । आपतकालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास (दीपक घिमिरे, द्वितीय सचिव, मोबाइल–ह्वाट्सएप २०१०९७७७२३४८, २०१०२९६०६६६२, इमेल)मा सम्पर्क गर्न पनि परराष्ट्रले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार