दोहा,गैर आवासीय नेपाली संघ एनआरएनए कतारको आयोजनामा इस्लामिक धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता,एनआरएनए आइसीसीका उपाध्यक्ष आरके शर्मा,युवा उपाध्यक्ष राज रेग्मी,सचिव प्रविन गुरुङको विशेष आतिथ्यता र कतारमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुका साथमा फिलिपिन्स, पाकिस्तान र भारतीय समुदायका प्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा रास्ट्रीय सभा सदस्य मो. खालिद मोहम्मदको विशेष आतिथ्यता रहेको थियो । उक्त इफ्तार कार्यक्रमका वक्ताहरूले ईफ्तारको उपलक्ष्यमा शुभकामना मन्तव्य राखेका थिए ।उनिहरुले मन्तव्यका क्रममा यस्ता कार्यक्रमले समाज बलियो बन्दै जाने र नेपाली नेपाली बिच थप भातृत्व बढ्दै जाने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुत ढकालले शुभकामना मन्तव्य ब्यक्त गर्दै दोहामा हाल हुंदै गरेका नेपाली समुदायका कार्यक्रमहरू कम गर्दै खर्च घटाउने आफ्नो ऊद्देश्य रहेकोले सबैलाई साथ दिन आग्रह गरे । उनले देश रेमिट्यान्सले धानिएको जनाउदै नेपाली समुदायसँग छलफल गरेर कतारमा हुने कार्यक्रम कटौती गर्दै जाने बताए । ढकालले कतारमा खर्च घटाउन सकियो भने राष्ट्रका लागि हित हुने र रेमिटेन्स बढने दावी गर्दै कार्यक्रमहरु गर्दा स्वीकृति लिएर वैधानिकरूपमा मात्रै आयोजना गर्न निर्देशन दिए ।
कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष आरके शर्माले रमादानको शुभकामना ब्यक्त गर्दै हाम्रो विभिन्न जातजाति धर्म संस्कृति मान्ने मानिसहरू मिलेर बसेको र एक अर्काको धर्म संस्कारको सम्मान गर्ने विश्वको एक मात्र उदाहरणीय देश रहेको बताए ।
उक्त कार्यक्रममा एनआरएनए आइसीसी युवा उपाध्यक्ष राज रेग्मीले रमादानको अवसरमा समस्त मुस्लिम धर्मावलम्वीलाई शुभकामना ब्यक्त गर्दै हाम्रो देशको पहिचान नै बहुभाषी र बहुसँस्कृति रहेको बताए । सोही ईफ्तार कार्यक्रममा एनआरएनए आइसीसी सचिव प्रविन गुरुङले रमादानको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित कतारका विभिन्न संघ/सँस्थाका प्रतिनिधीहरुले रमादानको उपलक्ष्यमा शूभकामना ब्यक्त गरेका थिए ।
उक्त बृहत ईफ्तार कार्यक्रमको समापन गर्दै अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी तथा विभिन्न जात जाति, धर्म संस्कृति भएको देश रहेको जनाउँदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई रमजान तथा नयाँ वर्षको शुभकामना दिदै धन्यवाद ब्यक्त गरे ।
संघका प्रथम उपाध्यक्ष जैवि चाम्लिङ राईले शुभकामना मन्तव्य राखेको कार्यक्रममा कुरानका बारेमा तेलावत मौलाना इफतकारले प्रष्ट पारेका थिए भने कार्यक्रमको महासचिव पदम गिरीले सहजीकरण गरेका थिए ।