सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि नयाँ वर्ष २०८० सालदेखि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने घोषणा गरेको छ । अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ । सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–०७९’ जारी गरिसकेको छ । श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा कार्यरत २२ लाख श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गरिएको जनाएको छ । वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्न पाइन्छ । यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने छन् । वैदेशिक रोजगार समय अवधि सकिएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ । वैदेशिक रोजगारीमा जाने श्रमिकको हकमा भने श्रम स्वीकृति दिने बेलै कोषले खाता नम्बर उपलब्ध गराउनेछ । वैदेशिक रोजगारीमा गएका कामदारलाई सम्बन्धित रोजगारदाताले सेवा सुविधा दिएपनि यो नेपाल सरकारले गरेको छुट्टै व्यवस्था हो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगार बोर्डले दिने कल्याणकारी राहत र सामाजिक सुरक्षा कोषले दिने सुविधा फरक फरक हो । पछिल्लो जनगणना अनुसार करिब २२ लाख नेपालीहरू वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् । विदेशबाट प्रत्येक वर्ष झन्डै एक हजार जनाको शव आउने गरेको छ । त्यस्तै अंगभंग र गम्भीर प्रकृतिका बिरामी पनि आउने गरेका छन् । बोर्डले उनीहरूका परिवारलाई राहत रकम दिएपनि मासिक गुजराबापतको रकम भने दिने गरेको छैन । सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि मृतकका परिवारले आजिवान पेन्सन पाउने सुविधा छ ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा र कोषमा सिधै आवेदन दिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू सामाजिक सुरक्षामा जोडिन सक्छन्। श्रम स्वीकृति लिने क्रममा वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन आवेदन दिएर सामाजिक सुरक्षामा जोडिन सकिनेछ । विदेशमा हुनेहरूलाई पनि मन्त्रालयले पुनः श्रम स्वीकृति सम्बन्धित मुलुकबाटै गर्न सक्ने व्यवस्था गरेको कारणले पुनः स्वीकृति लिँदा पनि सामाजिक सुरक्षामा आबद्ध हुने व्यवस्था छ । कोषका अनुसार विदेशमा बस्ने नेपालीले रेमिट्यान्सको माध्यमबाट कोषमा पैसा जम्मा गर्न सक्छन्। अब विदेशमा रहेका कुनै पनि नेपाली श्रमिक सामाजिक सुरक्षाको दायराबाट बाहिर बस्नुपर्दैन । घरमा काम गर्ने घरेलुदेखि प्रतिष्ठानमा कार्यरतले आफूलाई अधिकार सम्पन्न श्रमिकका रूपमा अनुभूति गर्न पाउने छन् । कनेक्ट आइपीएस सहित ई–सेवा, खल्ती जस्ता वालेट अथवा फोन पे वा रेमिटको माध्यमबाट पनि कोषमा नियमित पैसा जम्मा गर्न सकिन्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्तीमा नौ महिनाको योगदान जम्मा गरेपछि मात्रै कोषबाट पाइने बीमा लगायतका सुविधा पाउँछन्। कोषमा अग्रिम रूपमा पनि रकम जम्मा गर्न सकिने र त्यसरी कम्तिमा सात महिनासम्मको रकम जम्मा गर्दा १० प्रतिशतसम्म छुटको पनि व्यवस्था रहेको छ । कोषमा न्यूनतम रकम जम्मा गरिरहँदा पनि दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना उपलब्ध हुनेछ । दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना भनेर चार किसिमका योजनाहरू रहेका छन् । त्यो एक वर्षमा दुर्घटनामा पर्नुभयो र अस्पतालमा उपचार गर्नुप¥यो भने एक लाखसम्मको औषधी उपचारको सुविधा रहनेछ । अशक्त भएमा कोषमा योगदान गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकम मासिक रूपमा अशक्तता वृत्ति भनेर कोषले उपलब्ध हुनेछ । वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भए श्रीमान् वा श्रीमतीले आजीवन र बालबालिकाले २१ वर्ष नपुग्दासम्म ९ हजारको ४० प्रतिशत हुन आउने ३,७५४ रुपैयाँ मासिक पाउँछन् ।
कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षामा आबद्ध हुन न्यूनतम २००२ रुपैयाँ जम्मा गरे पुग्छ। तर कोषमा हरेक महिना रकम जम्मा गर्नुपर्छ। नेपाल सरकारले औद्योगिक कामदारका लागि तोकेको न्यूनतम रु १५,००० को बेसिक पारिश्रमिक रु ९,३८५ लाई आधार मानेर त्यसको २१.३३ प्रतिशत हुन आउने रु २,००२ लाई कोषमा आबद्ध हुने न्यूनतम रकम तोकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कोषमा जम्मा गर्न सक्ने अधिकतम योगदान बेसिक पारिश्रमिक ९,३८५ को तीन गुणा हुन आउने २८,१५५ सम्म तोकिएको छ । जम्मा हुने न्यूनतम रु २,००२ मध्ये रु ७०२ प्रिमियम र १,३०० रुपैयाँ न्यूनतम मौज्दात अन्तर्गत रहने र नेपाल फर्किइसकेपछि त्यो निकाल्न पनि मिल्ने बताइएको छ । गैरआवासीय नेपाली संघले एक दशक बढी समयले यसलाई आफ्नो प्रमुख मुद्धा बनाउँदै आएको थियो । नेपालमा सामाजिक सुरक्षा कोष स्थापना हुनुअघि नै एनआरएनले विदेशमा रहेका नेपालीलाई एउटा कोष बनाएर सामाजिक सुरक्षा प्रदान गर्नुपर्छ भनेर एउटा अभियान चलाएको थियो । विदेशमा रहेका लाखौँ नेपाली औपचारिक रूपमा जोडिने बाटो खुलेको छ । एनआरएनए ओमनमा सन् २०१३ मा हजारे अभियानको प्रस्तावनामा बृहत छलफल भयो। नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई २०१४ अगस्टमा पूर्णपाठसहितको वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष प्रस्तावना हस्तान्तरण भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई वैदेशिक रोजगार सामाजिक सुरक्षाकोषको पूर्ण योजनासहितको प्रस्तावना सेप्टेम्बरमा यूएईमा हस्तान्तरण गरिएको थियो । २०१५ अप्रिलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पूर्णपाठसहितको वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष प्रस्तावना हस्तान्तरण भएको थियो ।
२०१५–२०१७ को विश्व सम्मेलनमा बृहत बहस भई संघले यसलाई कार्यान्वयनमा लैजानका लागि आफ्नो घोषणापत्रमा सामेल गरिएको थियो । २०१६ अप्रिलमा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई पूर्णपाठसहितको वैदेशिक रोजगार सामाजिक सुरक्षाकोष प्रस्तावना हस्तान्तरण भयो । २०१६ जुनमा सुरक्षाकोषमा सहकार्य गर्न संघ र सरकारबीच सम्झौता भयो । २०१६ जुनमा नेपाल सरकार र सरोकारवालासँग छलफल तथा बहस गर्दै यसलाई कर्मचारी संचय कोषसँग अगाडि बढाउन सम्झौता भएको थियो । रेमिट्यान्स वैधानिकरुपमा आउन सकिरहेको छैन । विभिन्न कारणले हुण्डीको कारोबार फस्टाइरहेको देखिन्छ । यसले रेमिट्यान्स वैधानिक रुपमा आउन प्रोत्साहन गर्नेछ । रेमिट्यान्स सिधा च्यानलबाट आउँदा देश र नागरिकको आयस्रोतमा फाइदा पुग्छ । हुण्डीबाट पठाउँदा देशको अर्थतन्त्र ध्वस्त हुन्छ । आर्थिक पूँजी अपमूल्यन हुन्छ । रेमिट्यान्स वैधानिक तरिकाबाट पठाउँदा राज्यले संरक्षण गर्छ। स्रोतमा केही मुनाफा पनि दिन्छ । रेमिट्यान्स कम्पनीले पैसा ल्याउँदा केही पैसा जसले पठाउँछ, उसको सामाजिक सुरक्षामा योगदान गर्नुपर्छ । यसो भयो भने करोडौं रकम जम्मा हुन्छ। यसले आकर्षित गर्छ। के पाउँछु भन्ने थाहा भएपछि सबै आबद्ध हुन्छन् । संविधानले समाजवादउन्मुख अर्थतन्त्रको पसरकल्पना गरेको छ । समाजवादको पहिलो खुड्किलो सामाजिक सुरक्षा नै हो । सबै नागरिकलाई सामाजिक सुरक्षा हुनुपर्छ । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेटेर समाजवादको उदाहरण दिएको छ । अन्ततः सामाजिक सुरक्षा एकद्वार प्रणालीमा जान्छ । यही हो समाजवाद ।
जनसवाल राष्ट्रिय दैनिकको २०८० बैशाख १ गते शुक्रबारको इपेपर
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2023 All right reserved | Site By : SobizTrend