चौध बर्षिय बालक बिकल्प दाहालको उपचारका लागि आर्थिक अभाव रहेकाले सहयोगका लागि परिवारले अपिल गरेको छ । बिकल्पका बुबा प्रमोद दाहालका अनुसार हाल सिभिल अस्पताल मिनभवन काठमाण्डौंमा बोन म्यारोको उपचार गराईरहेका विकल्पको ब्यानम्यारो प्रत्यारोपण गर्नु पर्ने भएको छ । भदौ महिनादेखि निरन्तर उपचार गर्दा करिव २० लाख रुपयाँ सकिइसकेको बताउँदै बुबा प्रमोदले भने ‘भदौदेखिको अधिकांस उपचार ऋण गरेर गरिरहेका छौं । अस्पतालले कम्तीमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न अझै ३० लाख लाग्छ भनेको छ । यति ठूलो रकम हामीले जुटाउने अवस्था नै छैन ।’
बिकल्प २०७९ भदौ महिनामा डेँगु संक्रमित भएका थिए । परिवारका अनुसार संक्रमण पश्चात अवस्था गम्भिर भएपछि उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । के.एम.सि.अस्पतामा आईसियु र भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा विकप्ललाई करिव ३० पाउण्डभन्दा बढी रगत दिनु परेको थियो ।
डेँगुको ज्वरो निको भई सके पश्चातको एक महिनासम्म पनि निरन्तर उपचार गर्दा पनि रगतमा हुनुपर्ने प्लेटलेटको मात्रा नबढेपछि केएमसी अस्पतालका डक्टरहरुको सल्लाह अनुसार परिवारले काठमाडौं स्थित मिनभवनमा रहेको सिभिल अस्पतालमा कार्यरत रगत रोग विशेषज्ञ प्राध्यापक डाक्टर विशेष पौडेलमार्फत उपचार सुरु गरेको थियो । अहिले पनि रगत रोग विशेषज्ञ डाक्टर विशेष पौडेलको टोलीले उपचार गरिरहेको छ ।
परिवारले उपचार गर्न आर्थिक कारणले नकस्ने भएपछि विकल्पको जीवन रक्षाका लागि गोफन्डमी ( लिंकः— www.gofundme.com/f/donate-to-save-bikalpas-life-14-years-old?) मार्फत आर्थिक सहयोग संकलन सुरु गरिएको छ । त्यसैगरी विकल्पकी आमा विष्णु पौडेलको Bishnu Kumari Paudel, Everest Bank (Singhadurbar Branch, A/C number: 00120526201888) बैंक खाता मार्फत पनि आर्थिक सहयोग संकलन गर्न थालिएको परिवारले जनाएको छ ।
आर्थिक अभावकै कारण छोराको उपचार गर्न कठिन भइरहेको बताउँदै परिवारले छोरोका जीवन रक्षाको लागि सहयोग गरिदिन सम्पूर्ण सबैमा अपिल गरेको छ ।