काठमाडौं(जस)–नेपाल प्रहरीले झण्डै आठ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी छन् । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेको अवस्थामा उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई किलो ८८७ ग्राम कोकिन बरामद गरेको ब्यूरोले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको उक्त परिमाणको कोकिन बरामद गरी पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार त्यसको अवैध बजार मूल्य अहिले रु १७ करोडभन्दा बढी छ ।
दुई जनाले फरकफरक झोलामा फरकफरक समयमा हवाइमार्ग हुँदै कोकिन निकासी गर्न लागेको पनि ब्यूरोले जानकारी गराएको छ । उनीहरूले लगेजमा फल्सबटम बनाएर अवैध लागुऔषध कोकिन भारत लैजान लागेका थिए । विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले इन्डिगो विमानबाट भारत जान लागेका बेला भाल्लालोमीको लगेज शङ्का लागि जाँच गर्ने क्रममा कोकिन फेला परेपछि विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरिएको हो ।
उनको लगेजभित्र चार वटा लेडिज ब्याग फेला परेको र ती ब्यागमा फल्सबटम बनाई भारतको नयाँ दिल्लीतर्फ तीन किलो कोकिन निकासी गर्न लागिएको फेला परेको थियो । उनको बयानका आधारमा ठमेलस्थित एक होटलमा अनुसन्धान गर्दा पाँच किलो कोकिनसहित ललिमपुईलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनले पनि भारत निकासीका लागि तयारी अवस्थामा सुटकेसभित्र फल्सबटम बनाई कोकिन राखेका पाइएको छ ।
सार्वजनिक विवरणअनुसार दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । यस्तै १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको गरिएको हो । ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार उनीहरु दुवै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको छ ।