काठमाडौं(जस)–उपराष्ट्रपति पदमा उम्मेदवार दिएका चारै उम्मेदवारको उम्मेदवारी कायम रहेको छ । उम्मेदवारी फिर्ताको समयसीमाभित्र जसपाका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता नगरेपछि उपराष्ट्रपति चुनावमा चार जनाबीच प्रतिस्पर्धा हुने भएको हो । जसपाबाट प्रतिनिधिसभा सांसद रामसहायप्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवको उम्मेदवारी कायम रहेको छ ।
जसपाले प्रमिला कुमारीको उम्मेदवारी फिर्ता लिएर रामसहायको मात्रै कायम राख्ने तयारी गरेको थियो । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले पार्टीका शीर्ष नेताहरू र सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा सहभागी राजनीतिक दलका नेताहरूका अनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको र उपराष्ट्रपति महिला हुनैपर्ने मागसहित सर्वोच्चमा मुद्दा पर्ने कुरा उठेपछि दुवैको उम्मेदवारी कायम राख्ने निर्णय भएको बुझिएको छ ।
अदालतमा रिट परेमा न्यायाधीशले कस्तो निर्णय गर्न सक्छन् भन्ने यकिन नभएकाले नै उपराष्ट्रपतिमा पार्टीबाट दुवै उम्मेदवारको नाम कायम राखिएको बताइएको छ । यसअघि आयोगले रामसहायप्रसादको उम्मेदवारी कायम गरेपछि प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने पहल गरिएको थियो ।
तर, मुद्दा परेमा र त्यसपछि अदालतले दिने आदेशपछिको अवस्थालाई विश्लेषण गर्दै अहिले जसपाका दुवै उम्मेदवारलाई कायम राखिएको जसपाका नेताहरुले बताएका छन् । अब मतदानको दिनसम्म यसबारेमा निर्णय लिइने भएको छ । उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारीसँगै एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन् । उपराष्ट्रपतिको चुनाव चैत ३ गतेका लागि तोकिएको छ ।