धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । गत माघ २६ गते मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दल सुदूरपश्चिमका नेता शाहले आज सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत पाएका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक थियो । आज बसेको प्रदेशसभा बैठकमा शाहले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको हो ।
यसअघिका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि कांग्रेसका शाह मुख्यमन्त्री बनेका थिए ।
गत पुस २७ मा मुख्यमन्त्री बनेका नेकपा एमालेका राजेन्द्रसिंह रावलले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिन नसकेकाले उनको सरकार ढलेको थियो ।
उनले विश्वासको मत प्राप्त गर्न नसकेसँगै नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने मौका पाएको थियो ।
संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएअनुरूप शाहले आज विश्वासको मत लिएका हुन् ।
५३ सदस्यीय सुदुरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १-१ रहेका छन् ।