काठमाडौँ(जस)–नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि (यही फागुन १३ गते) सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेले मंगलबार बसेको सचिवालय बैठकमा सरकारबाट अलग हुने निर्णय गरेको छ ।
पुस १० गते सरकार गठन गर्दा भएको सहमति पालना नभएको जनाउँदै सरकारबाट बाहिरने निर्णय गरेको बैठकपछि आयोजित पत्रकारसम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री समेत रहेएका पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनले सरकारमा रहेर काम गर्ने सोच रहेपनि प्रधानमन्त्रीबाट एमाले र पार्टीबाट सहभागी मन्त्रीबारे गरिएको पछिल्ला अभिव्यक्ति र व्यवहारले सरकारमा बस्न नसकिएको आरोप लगाए ।
सरकार गठन सत्ता पदको बाँडफाँट मात्र नभइ राष्ट्रिय अभिभारासमेत रहेकोले राष्ट्रमा रहेको सामाजिक, राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा गर्नका लागि वर्तमान सरकारमा सहभागी भएको उनको भनाइ रहेको थियो । सरकारलाई सफल बनाउन सरकारको नीतिगत प्रथामिकता र न्यूनतम कार्यक्रम सत्तारुढ दलकै सहमतिमा सार्वजनिक गरेका उल्ल्ोख गर्दै उनले भने, “सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई ग्रहण गरेर अगाडि बढाएको थियो । हामी चाहान्थ्यौ त्यो नीतिगत प्राथमिकता प्रभावकारी रुपमा कार्यान्वयन होस् र सरकार गठनका निम्ति खासगरी पुस १० दुई दलबीचमा भएको सहमतिअनुसार नै अघि बढ्छ भन्ने लागेको थियो, तर घटनाक्रम त्यस अनुसार अगाडि बढेन ।” गत पुस १० गते प्रधानमन्त्री दाहालको नेतृत्वमा गठन भएको सरकारमा एमाले सहभागी थियो ।
एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरुले मंगलबार राजिनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उक्त दलका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
राजिनामा बुझाउनेमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती थिए । यसअघि उक्त पार्टीको सचिवालयको मंगलबार बसेको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारबाट बाहिरिने निर्णय गर्दै प्रधामन्त्री पुष्पकमल ‘दाहाल प्रचण्ड’ लाई राजीनामा बुझाइसकेको छ ।
रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो । त्यस्तै राष्ट्रपतिमा सहयोग गर्ने विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन । रास्वपा यस अघि उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएपनि सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
प्रधानमन्त्रीले फेरी विश्वासको मत लिनुपर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको छ । सरकार गठन भएको दुई महिनामा गत पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएपछि प्रधानमन्त्री प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको हो । संविधान धारा १०० को उपधारा २ मा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा वा उक्त दल विभाजन भएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरिएको छ । सो धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था गरिएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए । प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत परेको थियो । प्रचण्डलाई संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए भने तीन स्वतन्त्र सांसदहरुले पनि विश्वासको मत दिएका थिए ।
यस अघि शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको थियो भने आज सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ । त्यस्तै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसअघि नै सरकारबाट बाहिरिएको थियो । यसअघि एमालेले शनिबार पुस १० को सहमति कायम रहेकाले फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने बताएको थियो । आइतबार प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमा अन्तिम समयमा रोकेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्रसहित आठ दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि नै अहिलेको सत्ता गठबन्धन संकटमा परेको थियो । अब एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि कांग्रेस, जसपा र एकीकृत समाजवादीको सरकारमा इन्ट्री हुने निश्चित भएको छ । त्यस्तै तत्कालीन सात दलीय सत्ता गठबन्धनमा रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी भने नयाँ बनेको आठ दलीय गठबन्धनमा सहभागी भइसकेका छन् ।