सिन्धुली । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति काँग्रेसकै उम्मेदवारले जित्ने दाबी गरेका छन् । नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर ’ख’ को प्रदेश १ ले आयोजना गरेको सहिदको सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै काँग्रेसले राष्ट्रपति लिएरै छाड्ने बताए । उनले भने, ‘राष्ट्रपति पाउने होइन लिने हो, लिएर जितेर देखाउने हो । राष्ट्रपति कांग्रेसको उम्मेदवार हुन्छ र कांग्रेसको उम्मेदवारलाई जिताउँछौ भन्ने विश्वास दिलाउन चाहन्छु, उनले थपे, ‘राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवार हुन्छ र नेपाली कांग्रेसले जित्छ ।’
नेपाली काँग्रेसमा विचार र सिद्धान्तलाई पन्छाएर जाने समस्या आएको भन्दै उनले नेपाली कांग्रेसमा विचार र सिद्धान्त बिस्तारै कमजोर हुँदै गएको बताएका छन् । नेपाली काँग्रेसभित्र अवसरवरादीहरुको झुण्डले घेर्ने समस्या आएको नेता कोइरालाको भनाइ छ । उनले नेपाली कांग्रेससहित अन्य राजनीतिक दलमा विचार बिनाको राजनीति चलिरहेको बताए । आगामी निर्वाचनका मतदाता हालका १४÷१५ वर्षका बालबालिका नै हुने भएकाले उनीहरूलाई समेत कांग्रेसको विचार र भिजन बुझाउनुपर्ने उनको भनाई छ ।
लोकतन्त्र सुशासन पारदर्शी जबाफदेहिता र उत्तरदायित्वको बारेमा त्यो वर्गलाई बुझाउनु पर्ने भन्दै उनले बिचार बिनाको राजनीति चल्न थालेको बताएका छन् । सिद्धान्त र विचार बिना राजनीति चल्न नसक्ने उनको भनाई छ । कांग्रेसका नेता–कार्यकर्ता काँग्रेससँगै नजिक नभएर कोही एमाले कोही माओवादी र कोही मधेशवादी दलसँग नजिक भएर गुटगत राजनीति गर्नुभन्दा नेपाली काँग्रेसकै साथीहरूसँग नजिक भए कसैले हल्लाउन नसक्ने डा. कोइरालाको भनाई छ । युवा वर्गमा राजनीति प्रति वितृष्णा बढ्न थालेकाले काँग्रेसले युवाहरूलाई समेट्नुपर्ने अवस्था आएको उनको भनाई छ । सोही कार्यक्रममा नेपाली काँग्रेसका नेता स्वाणिम वाग्लेले नेपालमा कुनियतसहितको कुशासन हुन थालेको संकेत गरे । उनले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुने अवस्थामा तत्काल नभए पनि राजनीतिक प्रणालीमा सुधार हुनुपर्ने औँल्याए । लोकतन्त्रको खाका ठिकै भए पनि अहिलेको लोकतन्त्रभित्र देखिएका तमाम विसङ्गति र विकृति पखाल्नुपर्ने बताए ।