कम्बोडिया । स्याङ्जाको अर्जुनचौपारी, खाल्टेमा एक सामान्य परिवारमा जन्मिएका सेफ ज्ञान राना पाँचतारे चेन होटल नागावर्ल्ड इन्टरग्रेटेड रिसोर्टका एक्जुकेटिभ डाइरेक्टर सेफ बन्न सफल भएका छन । उनी तिनै नेपाली भान्से हुन जसले नागावर्ल्ड जस्तो चेन होटलमा एक्जुकेटिभ डाइरेक्टरको जिम्मेवारी पाएका छन । नेपालमा जन्मिएर कम्बोडियालाई कर्मभूमि बनाएका ज्ञान राना लामो समय भारतका विभिन्न होटलमा काम गर्दै भारतकै एक चर्चित पाँचतारे होटलमा समेत सेफ भए । २००८ बाट कम्बोडियालाई कर्मभूमि बनाएका राना एनआरएनए कम्बोडियाका उपाध्यक्षसमेत रहेका छन ।
बेरोजगारी आजको नेपालको एक प्रमुख समस्या हो । श्रमशक्ति सर्वेक्षण, २०७५ ले नेपालको कुल बेरोजगारी दर ११.४ प्रतिशत देखाएको छ । देशमा रोजगारीको अभावमा लाखौँ युवाहरू कि त बेरोजगार रहन बाध्य छन कि त श्रमका लागि विदेशिन । देशमा वर्षेनी पाँच लाख अतिरिक्त जनशक्ति श्रमबजारमा प्रवेश गर्छन । तर, नेपालको आन्तरिक श्रमबजार ज्यादै साँघुरो छ । देशको आन्तरिक श्रम बजारले वार्षिक पचास हजारभन्दा बढी अतिरिक्त जनशक्तिलाई रोजगारी दिन सक्दैन । बाकी युवाहरु बैदेशिक रोजगारमा जान बाध्य भएका छन ।
युवाहरूको श्रम, सीप, सिर्जनात्मकताको उपयोग गरेर नै देश समृद्ध बन्न सक्नेमा दुईमत छैन । नेपालको कुल जनसंख्यामा श्रमयोग्य युवाहरूको हिस्सा उच्च रहेको छ । विज्ञहरू युवाहरूको यो संख्यालाई जनसांख्यिक लाभको रूपमा परिभाषित गर्ने र यसको सदुपयोग गर्नुपर्ने बताउँछन । यस्तो जनसांख्यिक लाभांश समुन्नत र समृद्ध नेपालको आधार बन्ने उच्च सम्भावना हुँदाहुँदै पनि युवा जनशक्तिको सिर्जनात्मक उपयोग देशले गर्न सकेको छैन । नेपालबाट कम्बोडियामा रोजगारीसँगै कम्बोडियाको राजधानी फोनेम पेनमा गोर्खा प्यालेस रेस्टुरेन्ट सञ्चालन गरेर बसेका ज्ञान रानाजस्ता दक्ष जनशक्तिलाई नेपालमै व्यावसायिक वातावरण र रोजगारी राज्यले दिन सके समृद्ध नेपालको आधार बन्ने कुरामा दुईमत छैन ।
युवा र ऊर्जाशील समयमा मानिसले आफूले चाहेको धेरै कार्य गर्न सक्छ । आर्थिक, सामाजिक र निजी जीवनका अनेकौँ क्षेत्रमा प्रगति, उन्नति गर्नका लागि व्यक्ति स्वयंकै चाहना, इच्छा, जोस, जाँगर र मनोविज्ञानको ठूलो भूमिका रहन्छ । नेपाली समाज पुरातन र परम्परागत सोचबाट भर्खरै आधुनिक विकास र समृद्धिको युगमा प्रवेश गर्दैछ । सामाजिक मूल्य, परम्परा, सोच र संस्कृतिले समाजका सबैलाई कुनै न कुनै हिसाबले प्रभावित गरेकै हुने रानाको भनाइ छ । रानाले संचालन गरेको गोर्खा प्यालेस रेस्टुरेन्ट फोनेम पेनमा केही नेपालीलाई रोजगारीसमेत दिएका छन । सामाजिक कार्यमा समेत उत्तिकै लागि परिरहेका राना विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन । उनले रोजगारको सिलसिलामा कम्बोडिया गई अप्ठ्यारामा परेका कयौं नेपालीहरुको उद्धारसमेत गरेका छन । एनआरएनए कम्बोडियाका उपाध्यक्ष रानाले आफ्नो कमाइको केही प्रतिशत सामाजिक कार्यमा प्रयोग गर्ने गर्दछन ।विदेशमा रहेका नेपालीलाई देशप्रतिको माया अथाह रहेको जनाउदै रानाले सबैको सहकार्यमा देश विकाश संभव भएको बताउछन ।
कम्बोडियाको पाँचतारे होटल नागावर्ल्डमा एक्जुकेटिभ सेफ रहेका ज्ञान रानाले आफ्नो हातको कला देखाएर खानामार्फत विश्वको ध्यान तान्दै नेपाल र नेपालीलाई बिश्वसामु चिनाऊन सफल भएका छन । नेपाली रानाले कम्बोडियामा आफ्नो पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्नमात्रै सफल भएका छैनन नेपालको नाम नै बिश्व सामु चिनाइरहेका छन । उनको पाककला देखेर कम्बोडियालगाएत बिश्वका विभिन्न देशका नागरिकहरु दङ्ग पर्ने गरेका छन ।
सेफ रानाको हातले बनाएका र निर्देशन अनुसार टिमले बनाएको खानाको कलाले होटेलमा आउने बिश्वका पर्यटकहरुले खुलेर प्रंशशा गर्ने गरेका छन । उनको कला त्यो पनि नेपालीको छोरोले कहा सिक्यो भन्ने त्यहा उपस्थित सबैलाइ जिज्ञासा रहने गरेको राना बताउछन ।
रानाले बनाएका दर्जनौ फ्लेबरका खानालाई विभिन्न स्वाद दिएर होटलको रेष्टुरेण्टका बोफेहरुमा राखिने गरेको छ । दर्जनौ होटलको एक्जुकेटिभ सेफ हुदै कम्बोडियाको होटलको एक्जुकेटिभ सेफ सम्हाल्न कम्बोडिया पुगेका राना सबैका प्रिय पात्र बनेका छन । नेपाली सेफ रानाले कम्बोडियामा प्रत्येक दिन आफ्नो पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भईरहेका छन ।
जनसवाल राष्ट्रिय दैनिकको २०७९ फागुन ९ गते मंगलबारको इपेपर
https://epaper.janasawal.com/2023/02/21/6405/
जुनसुकै क्षेत्रमा पनि लगनशिलता र मेहनत गर्दा सफल बन्न सकिन्छ भन्ने उदाहरणका पात्रका रुपमा लीईएका राना हाल पनि हजारौ डलर तलव सुविधा लिएर कम्बोडियाको पाँचतारे होटल नागावर्ल्डमा एक्जुकेटिभ सेफमा कार्यरत छन । आफ्नो मेहनत र केही गर्छु भन्ने ईच्छाशक्तीको कारण नै यो सफलता हासिल गर्न संभव भएको जनाउदै जनसवालसँग रानाले गर्दा जे पनि संभव हुने बताए । लाखौ बैदेशिक रोजगारमा रहेका युवाहरु र जाने तरखरमा रहेका युवाहरुको प्रेरणाका स्रोत राना बैदेशिक रोजगारीमा जादा केही सिप सिकेर जान र जाने देशका बारेमा स्पस्ट बुझेर जानुपर्ने बताउछन । हस्पिटालिटि क्षेत्रका योग्य र लगनशिल राना इमान्दारिता पुर्वक जुन काम गरे पनि सफलता प्राप्त गर्नसक्ने जनाउदै नेपाली युवाहरुले हरेश खान नहुने बताउछन ।











