शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

बिहिबार, माघ २६ २०७९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख देवराज जोशीले शाहलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले आजको प्रदेशसभा बैठकमा पेश गरेको विश्वासको मत प्राप्त गर्ने प्रस्ताव बहुमतले अस्वीकृत भएपछि पदमुक्त भएका थिए ।

अब शाहले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको व्यक्तिले पनि विश्वासको मत नपाए १६८ (५) अनुसार संसदको कुनै पनि सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन् । तर, यसरी नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन हुनेगरी मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १-१ सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार