काठमाडौं(जस)–नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको प्रयत्न जारी राख्ने निष्कर्ष निकालेको छ । बिहीबारको स्थायी कमिटी बैठकपछि सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले छलफलबाट सहमति जुटाउनु पर्ने बताए । ‘कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुन सक्दैन । एमालेसँग पनि छलफल भएको हो । छलफल गरेर नै अघि बढ्छौं । हाम्रो प्रयत्न जारी रहन्छ’, उनले भने ।
नेता पौडेलले कांग्रेस–एमालेसहित राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन सके प्रभावकारी हुने पनि बताए । उनले संविधानले परिकल्पना गरे बमोजिम राष्ट्रपति छान्न सके सम्भावित भोलि हुने दुर्घटना नियन्त्रण गर्न तथा अहिलेको संसदलाई पाँच वर्षसम्म लैजान सहज हुने बताए ।
‘जसरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा सबैले समर्थन गर्नुभयो, त्यसैगरी राष्ट्रपतिमा पनि सबैको सहमति जुटाएर अघि बढ्नु पर्छ भन्ने हाम्रो जोड छ । संविधानको व्यवस्था बमोजिम त्यस प्रकारको व्यक्तित्व हामीले छान्यौं भने त्यसले सम्भावित भोलि हुने दुर्घटना नियन्त्रण गर्नका निम्ति, संविधानको संरक्षण गर्नका निम्ति सहमति कायम गर्नका निम्ति र अहिलेको संसद्लाई पाँच वर्षसम्म सकुशल लैजानको निम्ति सजिलो हुन्छ भनेर हामीले राष्ट्रिय सहमतिमा राष्ट्रिय सहमति गरौं भन्नेमा जोड दिएका छौं’, पौडेलले भने ।
बैठकमा नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा संक्षिप्त लिखित प्रतिवेदन प्रस्तुत गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
सोही अवसरमा अध्यक्ष दाहालले सरकार बन्नुभन्दा पहिला सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा भएको गठबन्धन निर्माण, सरकारको गतिविधिलगायतका विषयमा ब्रिफिङ गरेका थिए । त्यसैगरी बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यलाभको कामना गर्दै पोखरामा भएको यती एयरलाइन्सको हवाई दुर्घटनामा परी मृत्यु हुनेका परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । बिहीबारदेखि सुरु भएको सो बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ । शुक्रबारको बैठकमा राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा पनि छलफल हुनसक्ने उपाध्यक्ष महराले जानकारी दिए ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । उनीहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्यको निर्वाचन र सरकारको काम कारबाहीका विषयमा नै छलफल केन्द्रित रहेको तमिल्सिनाको भनाइ छ ।